जनकपुरधाम । विश्वभरिका हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र जानकी मन्दिर पनि भ्रष्टाचारबाट अछूतो रहन सकेन भन्दा पत्याउन गाह्रो पर्छ । तर, यहाँको वास्तविकताले त्यतैतर्फ संकेत गरेको छ ।
जनकपुरधामस्थित जानकी मन्दिरको सौन्दर्यीकरणका नाममा गरिएको काममा ठुलो भ्रष्टाचार भएको आशंका गरिएको छ । ‘मुख्यमन्त्री स्वच्छता अभियान’ अन्तर्गत मन्दिर प्रांगणमा लगाइएको टायल्स र मार्बल ३ वर्ष नबित्दै फुटेर ध्वस्त भएपछि भ्रष्टाचारको आशंका गरिएको हो । मन्दिर सौन्दर्यीकरणका लागि ७ करोड २० लाख रुपैयाँ बजेट व्यवस्थापन गरिएको थियो ।
२०७५ मा सुरु गरिएको ‘मुख्यमन्त्री स्वच्छता अभियान’ अन्तर्गतको सो काम २०७८ को अन्त्यतिर सकिएको थियो । मधेसका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले मन्दिर प्रांगणमा मन्दिरको छाया देखिने गरी मार्बल बिछ्याउन डिपिआर तयार गराएका थिए । टेन्डर प्रक्रियाबाट मुख्यमन्त्री कार्यालय र प्रेरा आरजे रञ्जन जेभी निर्माण कम्पनीबीच २०७५ मंसिर १७ गते मार्बल र ग्रेनाइट बिछ्याउने र भूमिगत ढल तथा गेट निर्माण गर्ने सम्झौता भएको थियो ।
मापदण्डविपरीत मार्बल लगाएको भन्दै स्थानीय युवाहरूले त्यतिबेलै विरोध जनाएका थिए । विरोधपछि केही दिन काम रोकिए पनि फेरि अघि बढाएपछि केही युवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयमा उजुरी दिएका थिए ।
मार्बल ओछ्याउने काम भइरहेकै बेला अर्थ मन्त्रालयबाट स्वीकृत भई पर्यटन मन्त्रालयमार्फत् बृहत्तर जनकपुर विकास परिषद् लाई झन्डै १२ करोड रुपैयाँ बजेट मन्दिरको विद्युतीकरणका लागि उपलब्ध गराइएको थियो । परिषद् र भक्तपुरको कम्पनी क्षमादेवी कन्स्ट्रक्सन सोलुसन प्रालिबीच २०७६ वैशाख २ गते यसका लागि सम्झौता भएको थियो । तर, विद्युतीकरणमा पनि भ्रष्टाचार भएको भन्दै स्थानीय युवाहरूले अख्तियारमा उजुरी दिएका थिए ।
जानकी मन्दिर प्रांगणको टायल्स ध्वस्त भएपछि स्थानीय युवा अखिल मढीलगायतले यस परियोजनामा अनियमितता भएको भन्दै विरोध जनाएका छन् । उनले यस कार्यले मन्दिरको ऐतिहासिक र धार्मिक पवित्रता संकटमा पारिएको बताएका छन् । जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने सपना साकार बनाउन यस्तो प्रवृत्तिको तुरुन्त अन्त्य गर्नु जरुरी रहेको उनले बताए । मढीले मन्दिर परिसरमा ट्रक प्रवेश, भिआइपीहरूका अनैतिक सवारी प्रवेश र धार्मिक स्थानको पवित्रतालाई नमान्ने क्रियाकलाप यसको मुख्य कारक बनेको आरोप लगाए ।
उनले भने, ‘जनकपुरधामबासी र सम्बन्धित तीनै तहका सरकार, प्रशासन प्रमुखलगायत त्यहाँका महन्तहरूले गम्भीरतापूर्वक सोच्न, ठोस कदम चाल्न र जानकी मन्दिरलाई व्यवस्थित, सफा एवं पवित्र बनाउन तदारुकता देखाउनुपर्छ । जानकी मन्दिर हाम्रो संस्कार, धार्मिक आस्था र पहिचान हो । यसलाई सुरक्षित र व्यवस्थित राख्न सबैको भूमिका र योगदान अनिवार्य छ ।’
सौन्दर्यीकरणको कामको सुरुआतमा मन्दिर परिसरमा रंगीचंगी मार्बल बिछ्याउने र ग्रेनाइटको प्रयोग गर्ने योजना बनाइएको थियो । पुरातत्व विभाग र गुठी संस्थानले यसलाई मन्दिरको पुरातात्विक महत्वसँग मेल खाने गरी निर्माण गर्न निर्देशन दिएका थिए । विभागले सेतो मार्बलको प्रयोग र मन्दिरको वास्तुकलासँग मेल खाने शैलीमा निर्माण गर्न आग्रह गरेको थियो ।
तर, निर्माण कम्पनीले रंगीचंगी मार्बलको प्रयोग गरेको थियो । महालेखा परीक्षकको कार्यालयले पनि यस्तो अनियमिततालाई ‘गुणस्तरहीन र मापदण्डविपरीत’ भएको ठहर गरिसकेको छ । मार्बल बिछ्याउने काममा भएको अनियमितता मात्र होइन, मन्दिर परिसरमा रंगीन बत्ती जडान र विद्युतीकरणको काममा पनि भ्रष्टाचारको गन्ध आएको छ । १२ करोड रुपैयाँको बजेटबाट सुरु गरिएको विद्युतीकरण परियोजनामा सोलार स्ट्रिट लाइट, स्पिकर, स्टेबलाइजर जस्ता सामग्री जडान गरिएको थियो ।
मन्दिरमा २४३ वटा चिम, सेक्युरिटी मेटल डिटेक्टर ४३ वटा, सोलार स्ट्रिट–लाइट १६ वटा, स्ट्रिट–लाइट ४८ वटा, स्पिकर ७४ वटा, ३० केभिएको स्टेबलाइजर र युपिएसलगायत सामग्री जडान गरिएको दाबी गरिएको छ । यसका बारेमा पनि अनियमितता र कमसल काम गरिएको आरोप स्थानीयको छ । १२ करोडको काम भएको भनिए पनि स्थानीय युवाहरूले २ करोडको काम मात्र भएको दाबी गरेका छन् ।
अखिल मढीले यस्तो प्रवृत्तिका कारण मन्दिरको ऐतिहासिक र धार्मिक महत्वलाई गम्भीर जोखिममा परेको बताएका छन् । उनले भने, ‘भ्रष्टाचार गरी लगाइएका फुटेका टायल्स, सफाइको अभाव र गैरजिम्मेवार व्यवहारले मन्दिरको पवित्रतालाई नष्ट गर्दै छ ।’ उनी यसलाई जनकपुरधामको असचेतनाको प्रतीक मान्छन् । मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने सपना साकार बनाउन तुरुन्त सुधार आवश्यक रहेको उनको सुझाव छ ।
जनकपुर
प्रतिक्रिया