देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थापनाको केही वर्षमै प्रदेशको बारेमा नकारात्मक टिकाटिप्पणी गर्ने बेला भइनसकेको बताउँदै भावनामा बगेर होइन, यथार्थमा रहेर प्रदेश सरकारको मुल्यांकन गर्न आग्रह गरेका छन् ।
मुख्यमन्त्रीसँग कान्तिपुर बहस कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार स्थापना भइसकेपछि भौतिक विकास र मानविय विकासको कामले गति लिएको, नागरिकहरुले अपनत्व गर्दै गएका कारण प्रदेश सरकार जनताकै पक्षमा रहेको पुष्टि गरेको बताए ।
‘प्रदेशको बारेमा नारात्मक टिकाटिप्पणी गर्ने बेला अझै भइसकेको छैन, भावनामा बगेर होइन, यथार्थमा रहेर प्रदेश सरकारको मूल्यांकन गर्न जरुरी छ’, उनले भने, ‘प्रदेश सरकार स्थापना हुनुभन्दा अघि र प्रदेश सरकार स्थापना भएको अवधिमा भएका विकासलाई तुलना गरेर मात्रै मूल्यांकन गर्दा न्याय हुन्छ भन्ने लाग्छ ।’
प्रदेश स्थापनापछिका ७ वर्षको अवधिमा गाउँ बस्तीको मुहार फेरिएको, बाटो पक्की भएको, खानेपानीको धारा घर घरमा पुगेको, आधारभुत स्वास्थ्य उपचारमा नागरिकको पहुँच पुगेको, गाउँ तहमा शिक्षालयहरु खुलेको, प्राविधिक विषयको अध्ययन गर्न समुदायमै अवसर प्राप्त भएका जस्ता उपलब्धिलाई पनि हेर्न जरुरी रहेको भनाई उनको छ ।
गाउँमा विकास पुर्याउने काम प्रदेश सरकारले गरिरहेको र जनजीवनमा सकारात्मक परिवर्तन देखा परेको मुख्यमन्त्री आचार्यको भनाई छ । प्रदेश सरकारले प्रदेश गौरवका आयोजनालाई तीव्रता दिएको र चाँडै सम्पन्न गर्नेगरी रणनीति बनाएको उनले बताए ।
पाल्पको रामपुरदेखि रोल्पाको जिनावांग सडक, लुम्बिनी प्रादेशिक अस्पताल निर्माण, लुम्बिनी प्रदेश प्रशासनिक केन्द्र भवन निर्माण, लुम्बिनी प्राविधिक विश्वविद्यालय नेपालगञ्जको कामलाई सरकारले गति प्रदान गरेको भनाई उनको छ ।
कान्तिपुरसँग मुख्यमन्त्री कार्यक्रममा नागरिकले उठाएका सवालहरुको जवाफ दिँदै मुख्यमन्त्री आचार्यले नागरिकका समस्या सुन्न, पिर मर्का बुझ्न प्रदेश सरकार जतिबेला पनि तयार रहेको बताए । ‘जनताको पिर मर्का बुझ्नकै लागि सरकार बनेको हो, नीति, नियम, कानून बनाएर समस्यालाई समाधान गर्ने गरी कामहरू भइरहेका छन’, उनले भने, ‘केही कामहरु अझै गर्न बाँकी छन्, त्यसमा सरकारले ध्यान दिएको छ ।’
प्रतिक्रिया