काठमाडौँ । गाजामा युद्धविराम र इजरायली बन्धकहरू रिहाइका लागि इजरायल र हमासबीच सम्झौता भएको छ । यद्यपि, १९ जनवरीदेखि लागू हुने गरी बुधबार युद्धविराम सम्झौता गरिएकाले इजरायलले हमला भने जारी राखेको छ । हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको हमलामा परी विगत २४ घन्टाको बीचमा ८१ जनाको ज्यान गएको छ । युद्धविराम सम्झौता आइतबारदेखि मात्र लागू हुनेछ । आइतबारभन्दा अघि नै इजरायलको क्याबिनेटले यो निर्णयलाई अनुमोदन गर्ने बताइएको छ ।
हमास र इजरायलबीच भएको युद्धविराम सम्झौताअनुसार सुरुआतमा ३ इजरायली महिला बन्दी रिहा हुने छन् । हमासका अधिकारी बसिम नसिमले दिएको जानकारीअनुसार १९ जनवरीदेखि युद्धविरामको प्रक्रिया सुरु हुनेछ । ४२ दिनमा सबै काम सकिने तय भएको छ । पहिलो चरणमा गाजामा रहेका ३३ बन्दीलाई हमासले छाड्ने अनुमान गरिएको छ ।
पहिलो दिन ३ तथा त्यसको १ सातापछि अन्य ४ जनालाई छाड्ने तय भएको छ । सुरुमा छाडिनेमा महिला प्राथमिकतामा परेका छन् । सहमतिअनुसार ६ सातामा हमासले सबै बन्दी छाड्नेछ भने इजरायलले पनि आफूले बन्दी बनाएकाहरूलाई छाड्नेछ ।
दोस्रो चरणमा सम्पूर्ण इजरायली गाजाबाट हट्ने, सबै बन्दी रिहा गर्ने तथा इजरायलले पनि जेलमा रहेका प्यालेस्टिनीहरूलाई छाडिसक्ने सहमति छ । तेस्रो चरणमा मारिनेहरूको शव पनि हस्तान्तरण हुनेछ । यसरी शव हस्तान्तरण भएपछि प्यालेस्टाइनको पुनर्संरचनामा अर्को ४ या ५ वर्ष लाग्ने अनुमान गरिएको छ ।
कतार, इजिप्ट र अमेरिकाको मध्यस्थतामा यो युद्धविराम भएको हो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले युद्धले भएको क्षतिमा राहत दिने लक्ष्य भएको बताउँदै प्यालेस्टिनीलाई आवश्यक सहयोग गर्ने बताए ।
७ अक्टोबर, २०२३ मा हमासले गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो भने २५१ जनालाई बन्दी बनाइएको थियो । यसको प्रत्याक्रमणमा इजरायलले गरेको आक्रमणमा ४६ हजारभन्दा बढीको ज्यान गइसकेको छ । अहिले ९४ जना बन्दी अझै रिहा हुन बाँकी छन् । ३४ जना भने मारिएको अनुमान गरिएको छ ।
इजरायलले हमासमाथि हवाई आक्रमण सुरु गरेपछि हिजबुल्लाहले पनि इजरायलमा आक्रमण गरेको थियो । इजरायलको आक्रमणबाट यसबीचमा हमास र हिजबुल्लाहका धेरै नेता मारिएका थिए । हिजबुल्लाहसँग भने यसअघि नै इजरायलको युद्धविराम भइसकेको छ ।
युद्धविरामपछि गाजामा सर्वत्र खुसियाली छाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति जो बाइडेन र राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन् । ट्रम्पलाई विशेष धन्यवाद दिँदै नेतान्याहूले उनीसँग एकदमै चाँडो वासिङ्टनमा भेट हुने बताएका छन् ।
युद्धविराम लागू भएको १ दिन पछि सोमबार नै अमेरिकामा नवनिर्वाचित राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पदभार सम्हाल्नेछन् । बाइडेन र ट्रम्प दुवैका दूतले सो युद्धविरामको जस लिने प्रयास जारी राखेका छन् ।
अन्तर्राष्ट्रिय क्षेत्रबाट सकारात्मक प्रतिक्रिया
गाजा–इजरायलबीच युद्धविराम सहमति भएपछि अन्तर्राष्ट्रिय क्षेत्रमा यसले खुसी दिएको छ । विभिन्न नेताले प्रतिक्रिया दिन थालिसकेका छन् । यसरी प्रतिक्रिया दिनेमा जर्मनीका चान्सलर ओलार स्कोल्फ, स्पेनका प्रधानमन्त्री पेड्रो साँचेज, राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेस, राष्ट्रसंघीय मानवअधिकार कमिस्नर भोल्कर टर्क र युरोपियन कमिसनका प्रमुख उरुला भान डेर लियोनले युद्धविरामको स्वागत गरेका छन् ।
कतारका अमिर तमिम बिन हमाद अल थानीले यो युद्धविरामपछि प्यालेस्टिनीको जीवनस्तर उक्सिने अपेक्षा गरिएको जनाएका छन् । थानीले यस युद्धविरामका लागि सहयोग गरेकामा अमेरिकाप्रति धन्यवाद ज्ञापन गरेका छन् । यस्तै, इजिप्टका राष्ट्रपति अब्देल फताह एल सिसीले पनि युद्धविरामपछि प्यालेस्टाइनमा कुनै अवरोधबिना सहयोग जारी राख्ने बताएका छन् । बेलायती प्रधानमन्त्री केइर स्टेइमरले १५ महिना लामो रक्तपातपूर्ण अवस्थाको अन्त्य भएकामा खुसी व्यक्त गरेका छन् ।
राष्ट्रसंघीय मानवीय सहायता नियोगका प्रमुख टम फ्लेटचरले यो महत्वपूर्ण कदम भएको बताएका छन् । इरानको रेभुलेसनरी गार्डले विगत १५ महिनाको घटनालाई हमासको जितका रूपमा व्याख्या गरेको छ ।
प्रतिक्रिया