देउवाले कांग्रेसका मन्त्रीहरूबाट लिए कार्यप्रगतिकाे जानकारी

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग कार्यप्रगतिबारे जानकारी लिएका छन् ।

संसदीय दल कार्यसमितिको बैठकमा कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बोलाएर उनले मन्त्रालयहरूको कार्यसम्पादनबारे जानकारी लिएका हुन् ।

देउवाको निजी निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा सहभागी भएर बाहिरिने क्रममा खेलकुदमन्त्री तेजुलाल चौधरीले कार्यसम्पादनबारे ‘ब्रिफिङ’ गरेको जानकारी दिए ।

‘सभापतिज्यूले कांग्रेसले सम्हालेका मन्त्रालयबारे विस्तृत जानकारी लिनुभएको छ । मन्त्रीहरूले के–के काम गरे भनेर सभापतिलाई जानकारी दिनुभएको छ,’ उनले भने, ‘के–के काम गर्ने, कसरी प्रभावकारी काम गर्ने, कसरी अगाडि बढ्ने विषयमा छलफल भएको छ । मन्त्रीहरुले कामको ब्रिफिङ गर्नुभएको छ ।’

मन्त्री चौधरीले बैठकमा सरकारले ल्याएका अध्यादेशबारे समान्य छलफल भएको पनि बताएका छन् ।

‘अध्यादेशबारे महामन्त्रीले बैठकमा जानकारी गराउनुभयो,’ उनले भने, ‘यस विषयमा पहिले पनि छलफल भएको हो । त्यसबारेमा त्यति चर्चा र परिचर्चा गर्ने कुरा भएन ।’

प्रतिक्रिया