मौलिक र मर्मस्पर्शी गीतमा भुलेका मौसम गुरुङ

काठमाडौँ । लामो समयदेखि लोकदोहोरी गायक एवं सर्जक मौसम गुरुङ कला क्षेत्रमा क्रियाशील छन् । उनी प्रायः मर्मस्पर्शी गीत पस्कँदै दर्शक–स्रोताको मन जित्दै आइरहेका छन् । विगतमा क्यासेटको जमाना हुँदादेखि नै गायनमा लागेका गुरुङ हालसम्म विभिन्न विधाका गीत गरेर १५० देखि २०० सम्म गीतमा आफूले आवाज दिएको बताउँछन् ।

गोरखाको गण्डकी गाउँपालिका स्थायी घर भएका गुरुङले मौलिक कौडा, झ्याउरे, सालैजो लगायतका गीत पस्कँदै आएको सुनाए । सांगीतिक यात्राको सुरुआतीमा वियोगान्त गीत गाउने गायक एवं सर्जक मौसम त्यसबेला यस्ता धारको गीत गाउनेमा पाँच उत्कृष्ट भित्र पर्थे ।

उनको ‘खोली छेकेर,’ ‘एउटा राम्रो बाटो देखाइदेउ,’ ‘ठूलो मान्छे,’ ‘हजार जुनी जुनी,’ ‘सुन्दर लाग्छ मलाई यो धर्ती,’ ‘फूलले इश्र्या गर्ला’लगायतका गीत मौलिक र मर्मस्पर्शी भएको बताउँदै गायक गुरुङ यी गीतहरुले सिआरबिटी र पिआरबिटीमा समेत निकै राम्रो स्थान जमाएको बताउँछन् ।

गायक गुरुङका मौलिक र मर्मस्पर्शी गीतभित्र पर्ने उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । आफैँमा कलाकार र सञ्चारकर्मीसमेत रहेका राजु बोहराले मौसम गुरुङ एक प्रतिभावान गायक मात्र नभई सर्जक पनि भएको बताए । पछिल्लो समयमा गायक गुरुङले मौलिक तथा रोमान्चक सैलिका गीतहरु पनि बढीजसो बजारमा सार्वजनिक गर्ने गरेका छन् ।

अहिले उनलाई सालैजो, कौडा, मौलिक झ्याउरे गीतहरुबाट धेरै दर्शक–स्रोताहरुले चिन्ने गरेका छन् । सोल्टिनी नानी नामक सालैजो गीतबाट मौलिक गीतमा प्रवेश गरेका उनको कौडा गीत ‘मोहोनी’, ‘ओई काली’, ‘डाँडैघरे सानु,’ ‘माईली,’ ‘कान्छी,’ ‘रोधी झरेर,’ ‘चन्चले मन’ र ‘ए सानु’ बजारमा धेरै रुचाइएको थियो ।

त्यसैगरी झ्याउरे ‘मुग्लिन पुल तरी,’ ‘दमौलीमा झर है कान्छु,’ ‘देउरालीलाई फूलपाती धजा छ’, ‘कि मायाले मेरै हो भन’, ‘बोली मिठो नासर्बे ठिटी’, ’फुल्यो बेलिजाई’जस्ता गीत आजभोली पनि उत्तिकै चर्चामा छन् । आफूले ५ वटा गुरुङ चलचित्रमा समेत संगीत भरिसकेको जानकारी दिँदै गायक गुरुङले डेड दर्जनभन्दा बढी राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेको बताए ।

गायक गुरुङ लोक कला क्षेत्रमध्यका एक मिजासिला तथा इमान्दारी र लगनशील कलाकारको रुपमा हेरिने गरेको सञ्चारकर्मी राजु बोहरा बताउँछन् । ‘उनी (मौसम गुरुङ) कसैको बारेमा नराम्रो नभन्ने चिप्लो नघस्ने, आफ्नो कामप्रति विश्वास राख्ने कलाकारका रुपमा चिनिन्छन्,’ बोहराले भने, ‘बोल्नुभन्दा पनि काम गरेर देखाउन मन पराउने गायक हुन् ।’

पछिल्लो समय केही विकृतिजन्य गीतहरू बजारमा आइरहँदा र विवादित बन्दै गर्दा कलाकारितामा आफूसमेत जोडिएकाले लज्जित हुनुपरेको गुरुङले गुनासो गरे । लामो समयदेखि विभिन्न मौलिक र मर्मस्पर्शी गीतहरू पस्कँदै आएका गुरुङले यही भीडमा आफ्नो गीत पनि कहीँकतै अन्जानवस मिचिने होकी भन्ने त्रास परेको सुनाए ।

गायक गुरुङले भने, ‘लामो समयदेखि यही क्षेत्रमा आवद्ध भएर गायन र गीत सृजनामा समर्पित छु, अहिलेसम्म न कुनै विकृतिजन्य गीत ल्याएको छु न विवादित नै भएको छु, तर पछिल्लो समय लोकप्रियताको भीडमा म आफैँ पनि मिचिने होकी भन्ने डर लागिरहेको छ ।’ झण्डै १४ वर्षदेखि यस क्षेत्रलाई नै पेशा बनाएर जीविकोपार्जन गरिरहेका गायक गुरुङले कला क्षेत्रको मौलिक विकासमा जोड दिए ।

यसअघि वैदेशिक सांगीतिक कार्यक्रममा पुगिराख्ने उनले यस वर्षको तमु ल्होसारबाट फेरि वैदेशिक यात्रालाई निरन्तरता दिएको जानकारी दिए । ‘यसअघि पनि गइराखेको थिएँ विदेशका कार्यक्रममा तर पछिल्लो समय केही कारणले स्वदेशमै व्यस्त थिएँ’, गायक गुरुङले भने, ‘यस वर्षको तमु ल्होसारबाट फेरि त्यस यात्रालाई निरन्तरता दिएको छु ।’ यस वर्षको ‘तमु प्ये ल्हु संघ’ हङकङकद्वारा आयोजित ल्होसार कार्यक्रमदेखि वैदेशिक सांगीतिक कार्यक्रममा जाने गायक गुरुङले बताए ।

प्रतिक्रिया