सरकारको विरुद्धमा एकजुट हुँदै विपक्षी

प्रचण्डको नेतृत्वमा प्रतिपक्षी दलहरू र समाजवादी मोर्चा सक्रिय

विपक्षी दलहरुको संयुक्त बैठक काठमाडौँ, २ माघः प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूको बुधबार सिंहदरबारमा बसेको संयुक्त बैठक । तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौँ । बुधबार बिहान प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दल कार्यालयमा विपक्षी दलहरूको बैठक बस्यो । बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, आमजनता पार्टीलगायत दलका शीर्ष नेताहरू सहभागी थिए ।

उक्त बैठक विशेष गरी सरकारको समीक्षासँगै सरकारले पछिल्लो समय चालेका कदमको कसरी प्रतिवाद गर्ने भन्नेमा केन्द्रित थियो । सरकारले हिउँदे अधिवेशन बोलाउन ढिलाइ गरिरहेकाले तत्काल सदन बोलाउन दबाब दिने निर्णय गरेको बैठकले आवश्यक परे विशेष अधिवेशनसमेत माग गर्न सक्ने निक्र्योल निकालेको छ ।

त्यस्तै, सरकारले ल्याएको अध्यादेशको विरुद्ध पनि विपक्षीहरू एकजुट भएका छन् । संसद् अधिवेशन बोलाउन छाडेर अध्यादेश ल्याएको भन्दै उनीहरूले आपत्ति जनाउँदै सरकारको उक्त कदमलाई गैरसंवैधानिक ठहर गरेका छन् । स्रोतका अनुसार बुधबार भएको बैठकका बारेमा आज (बिहीबार) पत्रकार सम्मेलन गरी विपक्षीहरूले जानकारी गराउनेछन् ।

विपक्षी दलको बैठ लगत्तै समाजवादी मोर्चाको पनि बैठक बस्यो । मोर्चामा रहेका माओवादी केन्द्र्र, नेकपा एस, नेकपा र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरू नेकपा एसको केन्द्रीय कार्यालयमा भेला भए । उक्त बैठकको मुख्य एजेन्डा पनि त्यही थियो । समाजवादी मोर्चाले त सरकारलाई घेर्ने गरी माघ १६ मा काठमाडौँमा बृहत् कार्यक्रम नै आयोजना गर्ने निणर्य गरेको छ ।

एकै दिन तारन्तार यसरी विपक्षीहरू सक्रिय हुँदा राजनीतिले नयाँ मोड लिन लागेको हो कि भन्ने आशंका पनि उब्जिएको छ । तर, संसद्को एक चौथाइ सदस्यहरू प्रतिपक्षमा हुँदाहुँदै पनि २ महिनादेखि विशेष अधिवेशनको आलाप मात्र लगाउने, तर अधिवेशन बोलाउन नखोज्नुले सरकारका कदममा उनीहरूको पनि स्वार्थ जोडिएको आशंका पनि बलियो हुँदै गएको छ । अहिले उनीहरूले चालेका कदमलाई ‘बार्गेनिङ’का रूपमा समेत हेरिएको छ ।

प्रतिक्रिया