दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक पक्राउ

एजेन्सी । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक यउल पक्राउ परेका छन् । उनलाई भ्रष्टाचारविरोधी अनुसन्धानकर्ताहरूले पक्राउ गरिएको जनाएका छन् ।

यउललाई देशद्रोह र अख्तियार दुरुपयोग गर्दै ‘मार्शल ल’ लागु गर्ने प्रयाससम्बन्धी अभियोगबारे बयानका लागि त्यहाँबाट लगिएको बताइएको छ ।

यससँगै उनी पदमा रहँदै पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति बनेका छन् । सोलस्थित सरकारी निवासमा पुग्नका लागि अनुसन्धानकर्ता र प्रहरीले राष्ट्रपतीय सुरक्षा सेवाले खडा गरेका अवरोधहरू छिचोल्नु परेको थियो ।

उनीहरूले त्यस निवास परिसरबाहिर उपस्थित भएका यउलका हजारौँ समर्थकहरूको समेत सामना गरेका थिए । जस क्रममा मुख्य ढोकाबाहिर भएको झडपमा एक जना घाइते भए ।

यउलले के भने ?

स्थानीय समय अनुसार बिहान १० बजेर ३३ मिनेट जाँदा उनलाई पक्राउ गरिएको अधिकारीहरूले जनाएका छन् । निलम्बित राष्ट्रपति यउलका तर्फबाट जारी एक विज्ञप्तिमा उनले रक्तपात छल्नका लागि आफू पक्राउ हुन तयार भएको जनाए पनि त्यसको अर्थ आफू अनुसन्धानका लागि सहमत भएको भन्ने नरहेको जनाइएको छ ।

एक संक्षिप्त भिडिओमार्फत उनले उक्त अनुसन्धानलाई गैरकानुनी बताउँदै देशमा कानुनीराज टुटेको बताएका छन् । उनले आफूबारे अनुसन्धान गर्ने र पक्राउ पुर्जी जारी गर्ने अदालतसँग त्यस्तो अधिकार नरहेको बताए ।

पक्राउ प्रयास जारी रहँदा सरकारी निवासबाहिर उनको पक्ष र विपक्षमा नाराबाजी भएको त्यहाँस्थित बीबीसी संवाददाताले जनाएका छन् । समर्थकहरूले उनको नाम लिएर चिच्याइरहँदा विरोधीहरूले भने पक्राउ गर भन्दै नाराबाजी गरेका थिए ।

अब उनी त्यहाँको भ्रष्टाचार अनुसन्धानसम्बन्धी कार्यालयमा उपस्थित गराइनेछन् जसले यसअघि उपस्थितिका लागि गरेको निर्देशनलाई उनले बेवास्ता गरेका थिए । अनुसन्धानकर्ताहरूले यस महिनाको सुरुमासमेत उनलाई पक्राउ गर्न खोजे पनि असफल भएका थिए ।

उनको महाभियोगसम्बन्धी सुनुवाइ मंगलबार सुरु भए पनि उनी उपस्थित नभएका कारण चार मिनेटमै सकिएको थियो। उक्त सुनुवाइले उनी पदमुक्त हुने–नहुने टुंगो लगाउनेछ ।

विवादित विगत

गत डिसेम्बर ३ मा ‘मार्शल ल’ लागू गर्न खोजेपछि उनीविरुद्ध व्यापक प्रदर्शन पनि भएको थियो । कट्टर परम्परावादी नेता यून सन् २०२२ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए । तर एप्रिलमा भएको संसदीय निर्वाचनमा विपक्षी पार्टीले फराकिलो जित हासिल गरेपछि उनका हातखुट्टा बाँधिए जस्तै भएको थियो ।

त्यसयता उनको सरकारले चाहेका कानुनहरू पारित गर्न सकिरहेको छैन भने उदारवादी विपक्षीहरूले पारित गरेका विधेयकहरूमा भिटो लगाउने अवस्थामा सीमित भएको छ । कैयौँ भ्रष्टाचार प्रकरणमा नाम जोडिएका कारण उनको लोकप्रियता पनि खस्किएको छ । उनकी पत्नीलाई एउटा महँगो ब्र्यान्डको झोला उपहार लिएको र धितोपत्र बजारमा चलखेल गरेको आरोप लागेको थियो ।

यउल र उनीपछिका कार्यवाहक राष्ट्रपति दुवैलाई संसद्‌द्वारा महाभियोग लगाइएपछि दक्षिण कोरियामा राजनीतिक संकट गहिरिएको छ । राष्ट्रपति र कार्यवाहक राष्ट्रपतिमाथि महाभियोग लागेपछि हाल अर्थमन्त्री चोई साङ–मोकलाई कार्यवाहक राष्ट्रपति बनाइएको छ ।– बीबीसी

प्रतिक्रिया