गोरु जुधाइ प्रदर्शनी नेपाल र भोटबीच भएको युद्धअन्तर्गत १८४९ सालमा बेत्रावतीमा भएको व्यापारिक सन्धिपछि नेपाली पक्षको जित भएको उत्सवसँग जोडेर लिने गरिएको छ । यद्यपि उक्त तथ्यको पनि एकिन इतिहास कहीँ उल्लेख छैन ।
नुवाकोट । माघे संक्रान्ति पर्वको अवसरमा मंगलबार नुवाकोटको तारुका, बेत्रावतीलगायत स्थानमा गोरु जुधाइ प्रदर्शनी आयोजना गरिएको छ । माघे संक्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरु जुधाइ प्रदर्शनीको क्रममा यस वर्ष नुवाकोटको तारुकामा १३ हल, बेत्रावतीमा ११ हलसहित जिल्लाका विभिन्न स्थानमा यस्तो कार्यक्रम आयोजना गरिएको हो ।
तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा आयोजित गोरु जुधाइमा बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ, बाग्मती प्रदेशसभा सदस्य रमेशकुमार महतसहितले अवलोकन गरे । यसअघि दर्ता भएर जुधाउन १४ हल तयारी अवस्थामा राखेको भए पनि एउटा गोरुको स्वास्थ्यमा समस्या देखिएसँगै १३ हल गोरु जुधाइएको हो ।
गोरु जुधाइको अवलोकनपश्चात् मुख्यमन्त्री तामाङले पशु अधिकारको रक्षा गर्दै संस्कृतिको जगेर्ना, पर्यटन प्रवद्र्धन र खेलकुदको एक विधाको रूपमा गोरु जुधाइलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए । त्यसका लागि विषयगत मन्त्रालयसँगको सहकार्यमा आवश्यक कार्य अगाडि बढाइने उनले प्रतिबद्धता जनाए ।
गोरु जुधाइ प्रदर्शनीमा विजेता र उपविजेता भएका गोरुका धनी (किसान)लाई प्रोत्साहनस्वरुप नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । जुधाइमा संलग्न भएका गोरुको प्रस्तुति, जुधाइको कलाकौशल गराएका र विजेता भएका सबै गोरुका धनीलाई भिन्नभिन्न विधामा सम्मान गरिएको माघे संक्रान्ति गोरु जुधाइ महोत्सव समितिका संयोजक मदन श्रेष्ठले जानकारी दिए ।
नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीमा ११ हल गोरु जुधाइयो । गोरु जुधाइ प्रदर्शनी कार्यक्रमका संयोजक सुरज लवटले किसानले पालेका मध्येबाट छनोट गरेर जुधाई प्रदर्शनी गरिएको जानकारी दिए । कार्यक्रममा विदुरका नगरप्रमुख राजन श्रेष्ठले कला, संस्कृति र इतिहाससँग जोडिएको गोरु जुधाइ संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले पछिल्ला वर्षमा नगरपालिकाको आर्थिक सहयोगसहित सहआयोजकको रुपमा भूमिका निर्वाह गर्दै आएकामा आगामी दिनमा वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेर थप सहयोग गरिने बताए ।
माघे संक्रान्ति पर्वको अवसरमा नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुई पिपल, लिखु गाउँपालिका–३ सूर्यमती, पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडा र नुवाकोटसँग सीमा जोडिएका धादिङका विभिन्न स्थानमा समेत गोरु जुधाइ प्रदर्शनी गरेर किसानले माघेसंक्रान्ति पर्व हर्षोल्लासका साथ मनाएका छन् । गोरु जुधाइ प्रदर्शनीको सुरुआत विभिन्न इतिहाससँग जोडेर उल्लेख गरे पनि त्यसको कहीँकतै यकिन तथ्य भने नभएकाले धेरै वर्ष पहिलादेखि नुवाकोटका विभिन्न गाउँठाउँमा यस परम्पराको थालनी भएको पाइन्छ ।
२०० वर्ष पुरानो इतिहास
माघे संक्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरु जुधाइ प्रदर्शनीका लागि यस वर्ष तारुका र बेत्रावतीमा २५ हल गोरु दर्ता भएको आयोजक समितिले जनाएको छ । तारुकाको गोरु जुधाइको सुरुआत बझाङी राजा विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघरमा आउँदा १८८७ सालमा गोरु जुधाएर मनोरञ्जन दिएकाले सोहीको निरन्तरता भनिए पनि इतिहासमा उक्त तथ्य पुष्टि भएको पाइन्न ।
गोरु जुधाइ प्रदर्शनीका लागि छनोट भएका गोरुको समूह विभाजन, गोरु जुधाइको नियम र आचारसंहिता, जुध्ने गोरुका धनीलाई दिइने पुरस्कार, चोटपटक तथा कुनै भवितव्य भएमा उपलब्ध गराइने क्षतिपूर्तिसहितको व्यवस्था गरिएको छ ।
बेत्रावतीमा आयोजित गोरु जुधाइ प्रदर्शनी नेपाल र भोटबीच भएको युद्धअन्तर्गत १८४९ सालमा बेत्रावतीमा भएको व्यापारिक सन्धिपछि नेपाली पक्षको जित भएको उत्सवसँग जोडेर लिने गरिएको छ । यद्यपि उक्त तथ्यको पनि एकीन इतिहास कहीँ उल्लेख छैन ।
तारुकामा २०६३ सालदेखि गोरु जुधाईलाई व्यवस्थित रुपमा मनाउन थालिएको हो भने वेत्रावतीमा २०७३ सालदेखि मनाउन थालिएको हो । गोरु जुधाईलाई प्रतियोगिता भन्दा पशुअधिकारकर्मीले प्रश्न उठाए, बिरोध जनाए, त्यसपछि अहिले यसलाई प्रदर्शनीको रुपमा मनाइने गरिएको छ । गोरु जुधाईका प्रचलनमा विभिन्न ईतिहास उल्लेख भएपनि त्यसको कुनै एकीन तथ्याङ्क भने पाइँदैन । हालसम्म गोरु जुधाईबाट गोरु घाइते भएपनि मरेको, दर्शकलाई गम्भीर घाइते बनाएको घटना छैन ।
प्रतिक्रिया