भ्रष्टाचारविरुद्ध वीरगञ्जामा आम जनता पार्टीको खबरदारी सभा

वीरगञ्ज । वीरगञ्जामा आम जनता पार्टी (आजपा) ले भ्रष्टाचारविरुद्ध खबरदारी सभा गरेको छ । मुलुकमा बढ्दै गइरहेको भ्रष्टाचारवीरुद्ध वीरगञ्जमा सो पार्टीले खबरदारी सभा गरेको हो ।

शनिबार वीरगञ्जमा शक्ति प्रदर्शन गर्दै आजपाले वीरगञ्जलाई देशकै आर्थिक राजधानी घोषणा गर्न र भ्रष्टाचारविरुद्ध बृहत सभा गरेको जनाएको छ ।

उक्त खबरदारी सभालाई सम्बोधन गर्दै आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगञ्जलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग गरे । वीरगञ्जको ईतिहास, गौरव र सम्मान शासक वर्गले मेट्न खोजेको आरोप लगाउँदै उनले यथाशिघ्र वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गर्न माग गरेका छन् ।

शासक वर्गले वीरगञ्जको ईतिहास, गौरव, सम्मान मेट्न खोजिरहेको भन्दै उनीहरुका लागि दुहुनो गाई जस्तै भएको बताउँदै अध्यक्ष साहल् यहाँबाट राजस्व मात्रै लिने, मधेस प्रदेशको विकासमा योगदान नगर्ने आरोप लगाए । उनले भने, ‘वीरगञ्जलाई जसरी पनि आर्थिक राजधानी घोषणा गराउँछौँ, वीरगञ्जले जति मुलुकलाई राजस्व बुझाउँछ सो अनुपातमा वीरगञ्जमा विकास भएको छैन, वीरगञ्जको चौतर्फी विकासका लागि आजपाले जस्तोसुकै कदम चाल्न बाध्य हुन्छ ।’

काठमाडौं देशको प्रशासनिक राजधानी हुने, पोखरा पर्यटकीय राजधानी हुने तर वीरगञ्ज आर्थिक राजधानी किन नहुने भन्दै साहले प्रति प्रश्न गरे । उनले भने, ‘सबैभन्दा बढी राजस्व बुझाउँने वीरगञ्ज बाढी उद्योग व्यवसाय हुने यही बारा र पर्सा हो, यहाँको उद्योगी–व्यापारीले तिरेको राजस्वबाट मुलुक चल्ने तर वीरगञ्ज आर्थिक राजधानी किन नहुने ? यथाशिघ्र वीरगञ्जलाई आर्थिक राजधानी घोषणा नगरिए आजपा चुप लागेर बस्दैन, प्रभु साह चुप लागेर बस्दैन ।’

हालै मधेस प्रदेशमा भ्रष्टाचारविरुद्ध मधेस यात्रा अभियान सम्पन्न गरेको आजपाले सरकारकै संरक्षण एवं मिलोमतोमै भ्रष्टाचार बढ्दै गइरहेको जनाएको छ । वीरगञ्जको घण्टाघरमा आयोजित बृहतसभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले सरकारकै संरक्षण र मिलेमतोमा राज्यको हरेक क्षेत्रमा भ्रष्टाचार बढेको गम्भीर आरोप लगाए ।

अध्यक्ष साहले भने, ‘सरकार आफैँ भ्रष्टाचारीलाई संरक्षण गरेको छ, भ्रष्टाचारी जोगाउने, बचाउँने, संरक्षण गर्ने यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन ।’

‘भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले भ्रष्टाचारी जोगाउने काम गरेको छ’, आजपा अध्यक्ष साहले भने, ‘वीभिन्न भ्रष्टाचारका काण्डमा ओलीकै नाम जोडिन्छ, तर त्यो काण्डको बारेमा कहिल्यै छानबीन हुँदैन, विभिन्न ठुला काण्डको फाईल सरकारले लुकाएर राखेको छ, भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरु भ्रष्टाचारमै संलग्न छन्, यिनीहरुबाट देश समृद्ध हुँदैन ।’

देशको राजस्व लुटेर खाने, राज्यको ढुकुटी लुट्नेहरुले हरेक नेपालीमाथि विदेशी ऋण बढाउँदै गइरहेको र विदेशीबाट ऋण लिने तर त्यसको सही सदुपयोग नगरी नेपालीलाई ऋणी बनाउने काम यो सरकारले गरिरहेको आरोप साहको छ ।

आजपाका पर्सा जिल्ला अध्यक्ष विश्वराज पटेलको अध्यक्षतामा सम्पन्न सभामा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष समिना हुसेन, अशोक लामा, नेताहरु राजन यादव, सियाराम कुशवाहा, उमेश कुशवाहा, रन्जु साह, बबिता साहलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया