रुकुम पश्चिम । रुकुम जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोडेको अर्थात् रुकुममा गाडी पुगेको २१ वर्ष भयो । राष्ट्रिय सडक सञ्जालमा सल्यान–रुकुम–मुसिकोट सडक खण्डका रुपमा जोडिएपछी २०६० सालमा जिल्ला सदरमुकाम मुसिकोट खलंगामा गाडी पुग्यो । त्यसपछी यातायातको सहज र पहुँच बढ्यो । घोडा खच्चड मार्फत मालसमान ढुवानी र दिनभर पैदल हिड्नुपर्ने बाध्यता हट्यो ।
तर गाडी गुडेको झण्डै २ दशकसम्म पनी ट्राफिक व्यवस्थापन भने हुन सकेको छैन् । जिल्लामा ट्राफिक व्यवस्थापन जन्जागोल छ । जिल्लाभर जथाभावी पार्किङले बजार क्षेत्रको सुन्दरता मात्रै हराएको छैन् । दुर्घटनाको जोखिम पनि बढाएको छ ।
रुकुम पश्चिममा ६ वटा पालिका छन् । यि सबै पालिकामा पार्किङ अस्तब्यस्त छ । कतै जग्गा अभाव र कतै जग्गा भए पनि उचित व्यवस्थापन नहुँदा जिल्लाभरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो । ट्राफिक व्यवस्थापन चुस्त नहुँदा यहाँ आउने पर्यटकलाई समेत प्रत्यक्ष असर पुगिरहेको छ, भने स्थानीय सास्ती खेप्न बाध्य छन् ।
चौरजहारी नगरपालिकादेखि साँखसम्मको ५९ किलोमिटर दुरीको मध्यपहाडी लोकमार्ग सडक खण्डमा चौरजहारी बाजर, सिम्ली, सितल पोखरी र साँग दर्जन हाराहारी साना–ठूला बजार छन् । ती बजार क्षेत्रमा सवारीसाधन पार्किङ राजमार्गमै भइरहेको छ । कतिपय बजारमा लोकमार्गको दायाँबायाँ नै सवारीसाधन पार्किङ गर्ने गरिएकाले हिँडडुल गर्न र सवारीसाधन चलाउनसमेत मुस्किल परेको छ । त्यस्तै त्रीवेणी गाउँपालिकाको झुल्नेटादेखि मुसिकोटसम्म सिम्रुत, सोलावङ, सितलपोखरी, खलंगा र सल्ले सडकखण्डमा रहेका बजार क्षेत्रपनी त्यतिकै अस्तब्यस्त बन्दै गएका छन् । कतै करोडौँमा बसपार्क निर्माण भएर पनि सञ्चालनमा आउन सकेका छैनन् । भने कतै बसपार्क नै छैन् ।
सदरमुकाम मुसिकोटबाट करिब ७० किलोमिटरमा पर्छ, आठबिसकोट नगरपालिका । यो पर्यटकीय हिसावले सुन्दर र सम्भावना बोकेको ठाउँ भए पनी पार्किङ व्यवस्थापन नहुँदा कुरुप बन्दै गएको छ । सिमबजार र राडीबजारको ट्राफिक व्यवस्थापन अझ गन्जागोल छ ।
आठबिसकोटको नर्सरी स्थित बसपार्क उद्घाटन गरेर पार्किङस्थल बनाइएको छ । तर, यातायात व्यवसायीले अटेर गरेर बजार क्षेत्रमै जथाभावी पार्किङ गरिरहेका छन् । ठाटीखोलामा करोडौँ लागतमा अत्याधुनिक सुविधा सहितको बसपार्क बनेको छ । तर यातायात व्यवसायीले मनोमानी गर्दै नगरपालिकाको मुखैमा पार्किङ गर्दै आएका छन् । बाँफिकोट गाउँपालिकाको पनि अवस्था त्यही छ । प्रमुख बजार छिनखेत बजारको अवस्था अस्तब्यस्त नै छ ।
सडक हो कि ? पार्किङ क्षेत्र छुट्याउँनै मुस्किल पर्छ । सडक मिचेर पार्किङ गर्दा ठाउँ साँघुरो हुनुका साथै बजार क्षेत्रमा किनमेलका लागि आएका मानिसलाई समेत दुर्घटनाको जोखिम छ । चौरजहारी नगरपालिकामा भने लामो समयपछी बसपार्क सञ्चालनमा आएको छ । करिब ७ रोपनी क्षेत्रफलमा निर्माण भएको बसपार्क निर्माणका लागि २ करोड बढी लागत लागेको बताइएको छ । बसपार्क भित्र महिला, पुरुष र अपांगमैत्री सार्वजनिक शौचालय, यात्रुका लागि व्यवस्थित प्रतिक्षालय तथा टिकट काउन्टरका लागि भवन निर्माणको काम भइरहेको छ । नयाँ सहर आयोजना कार्यालय चौरजहारी कार्यालयले जनाएको छ ।
जिल्ला सदरमुकाममा समेत पार्किङको व्यवस्था नहुँदा बागबजार, खलंगाबजार, सल्ले र मठ स्थित पार्किङ अस्तब्यस्त बन्ने गरेको छ । गाउँबाट सदरमुकामसम्म आउने जिप मालवाहक गाडी तथा ठूला बसहरु समेत सडक छेउमै पार्किङ गरिन्छ । जिल्लाबाट चल्ने साना तथा ठुलासवारी साधनलाई व्यवस्थित तरिकाले पार्किङ गर्न नसक्दा ग्रामीण क्षेत्रमा समेत ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ ।
रुकुम पश्चिम
प्रतिक्रिया