कालीकोट । जिल्लाको खाँडाचक्र नगरपालिकामा ६ सय आठको क्षयरोग परीक्षण गरिएकामा ६ जनामा संक्रमण पुष्टि भएको छ । नगरपालिकाले तीन दिनसम्म सञ्चालन गरेको क्षयरोग परीक्षण शिविरमा दुई सय ८६ शंकास्पद बिरामी फेला परेका थिए ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयको सहयोग र खाँडाचक्र नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ शाखाको आयोजनामा तीन दिने निःशुल्क क्षयरोग परीक्षण शिविरमा सञ्चालन भएको थियो ।
शंकास्पदमध्ये एक सय ८६ बिरामीको पुनः परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयरोग तथा कुष्टरोग सम्पर्क व्यक्ति पदम केसीले जानकारी दिए । ‘शंकास्पदको खकार पुनः परीक्षण जिल्ला अस्पतालको ‘जेनस्र्पोट’ उपकरणबाट भएको हो’, उनले भने ।
थप एक सय शंकास्पद बिरामीको पुनः परीक्षण बाँकी रहेको बताउँदै उनीहरूको जिल्ला अस्पतालको ‘जेनस्र्पोट’ उपकरणबाट परीक्षण गरिने नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ आधारभूत शाखाका क्षयरोग निवारणका संयोजक पुष्पराज पाण्डेले उल्लेख गरे ।
क्षयरोग संक्रमण फेला परेका बिरामीलाई औषधि सेवन सुरु गरिएको उनले जानकारी दिए । जिल्लामा वार्षिक रूपमा तीन सय बिरामीको परीक्षण हुनुपर्नेमा हाल एक सयको हाराहारीमा मात्र परीक्षण हुने गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
प्रतिक्रिया