कालिकोट । खाँडाचक्र नगरपालिकाको बहुउद्येश्यीय प्रशासनिक भवनको जग्गा एकिन तथा नापजाँच कार्य सम्पन्न भएको छ । २०७४ सालबाट खाँडाचक्र नगरपालिका भाडामा बस्दै आएको थियो । विभिन्न शाखाहरुसहित केही वडा कार्यालयहरु पनि भाडामा बस्दै आएका छन् ।
२०७४ सालदेखि २०८१ असोजसम्म नगरपालिका भाडामा बस्दै आएको थियो । नगरपालिकाको आफ्नै भवन बनाउनका लागि १९ करोड ६२ लाखमा आर एण्ड सिएस निर्माण सेवाले काम पाएको छ । काम सुरु गर्नुपूर्व जग्गा एकिन तथा नापजाँच कार्य बिहीबार गरिएको हो ।
खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अबिराज शाहीले नगरपालिका भाडामा बस्दा विभिन्न शाखा, उपशाखा, वडा कार्यालय, प्रहरी चौकी, पशु सेवा केन्द्र, आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य केन्द्र भाडामा बस्दै आएको बताए ।
यसभित्र पनि नगरपालिकाको विभिन्न शाखा, उपशाखाको भाडा वार्षिक २५ लाख र अन्य भाडा २५ लाख गरी वार्षिक ५० लाखभन्दा बढी भाडा तिर्नुपर्ने अवस्था रहेको शाहीले बताए । प्रशासकीय अधिकृत शाहीका अनुसार भाडामा खर्च हुने वार्षिक ५० लाख रकम अब विकास निर्माणसहित अन्य शिर्षकमा खर्च हुनेछ ।
हाल नगरपालिकाको निर्णयअनुसार एकीकृत भवनमा नगरपालिका सरेको छ । नगरपालिकाको आफ्नो भवन निर्माणका लागि ठेक्का प्रक्रिया पूरा भई काम सुरु हुन लागेको हो । आर एण्ड सिएस निर्माण सेवाका प्रतिनिधि अलिबहादुर शाहीले बहुउद्येश्यीय प्रशासनिक भवन निर्माणका लागि ३६ महिनाको अवधी रहेको बताए ।
‘यो अवधीभित्र काम सम्पन्न गर्ने लक्ष्य राखेर अगाडी बढिरहेका छौँ’, उनले भने । अबको एक हप्ताभित्र काम संचालन गर्ने आर एण्ड सिएस निर्माण सेवाका प्रतिनिधि शाहीले बताए ।
जग्गा एकिन तथा नापजाँचमा खाँडाचक्र नगरपालिकाका अमिन दिपेश काफ्ले, नगरपालिकाका सव इन्जिनियर कम्मर बम, वडा नं. ८ का वडाध्यक्ष नन्दबहादुर मल्ल लगायतको उपस्थिती रहेको थियो । ३७ मिटर चौडाई र १६ मिटर लम्बाइमा बहुउद्येश्यीय प्रशासनिक भवन निर्माण हुन लागेको छ ।
कालिकाेट
प्रतिक्रिया