साच्चिकै भन्नुपर्दा ३ बिसे उमेरमा चलेको पंक्तिकार स्वयंलाई २ वर्षअघिसम्म जीवनको बुकलेट हुन्छ भन्ने थाहा थिएन । जीवन अमूल्य छ भन्ने थाहा त प्रायः सबैलाई छ, तर यस्तो अमूल्य जीवन उपयोगी र सार्थक बनाउने ज्ञान र कला सबैलाई थाहा नहुनसक्छ । जीवनको बुकलेट कहाँ हुन्छ र के द्वारा कसरी पढन सकिन्छ ? भन्ने विषयमा यो लेख केन्द्रित छ ।
हरेक चिज वस्तु वा साधनमा भिन्न खालको विशेष शक्ति र गुण हुन्छ । तिनको उपयोगिता र आयु पनि फरक छ । त्यसैले सबै सामानको पूर्ण जानकरी दिन बुकलेट राख्ने गरिन्छ । एउटा सवारी साधन किन्न हामी धेरै वटा सोरुम चाहार्छौं । सवारीसाधनको इन्जिन, त्यसलाई चाहिने इन्धन, त्यसले दिने माइलेज, टिकाउपन र उपयोगको मार्गदर्शन बुझ्न बुकलेट अध्ययन गर्छौं । किनेर चलाएकाको अनुभव सुन्छौँ । पैसाले किन्न सकिने सामग्रीप्रति यतिका सावधान रहने हामी आफ्नो एक बारको अमूल्य जीवनको बुकलेट पढेका छौँ कि छैनौँ ?
साच्चिकै भन्नुपर्दा ३ बिसे उमेरमा चलेको पंक्तिकार स्वयंलाई २ वर्षअघिसम्म जीवनको बुकलेट हुन्छ भन्ने थाहा थिएन । जीवन अमूल्य छ भन्ने थाहा त प्रायः सबैलाई छ, तर यस्तो अमूल्य जीवन उपयोगी र सार्थक बनाउने ज्ञान र कला सबैलाई थाहा नहुन सक्छ । जीवनको बुकलेट कहाँ हुन्छ र के द्वारा कसरी पढन सकिन्छ ? भन्ने विषयमा यो लेख केन्द्रित छ ।
मानव शरीरको मेरुदण्डको तल्लो भागदेखि माथिल्लो भागमा जोडिएका ७ चक्र मानव जीवनको बुकलेट हो । मेरुदण्डको तल्लो भागमा रहेको चक्रलाई मूलाधार, नाभीभन्दा २ अमल मुनिको स्वाधिष्टान, नाभी क्षेत्रको मणिपुर, हृदय क्षेत्रको अनाहद, घाँटी क्षेत्रको विशुद्धि, निधारको टीका लगाउने भागमा आज्ञा र शिरको माथिल्लो तहमा रहेको चक्रलाई सहश्रार नामले चिनिन्छ ।
मूलाधारले शारीरिक स्वस्थता र कर्ममा सफलता दिलाउँछ । स्वाधिष्टानले खुसी राख्दछ । मणिपुरले जोश जाँगर र साहस भर्दछ । अनाहदले सम्बन्ध नै सम्पत्ति हो भन्ने मनन गराई भावनात्मक सन्तुलन मिलाउँछ । विशुद्धिले अध्ययन अनुसन्धानमा मग्न राखी अनुभव र अनुभूतिजन्य ज्ञान आर्जन गराउँछ । आज्ञाले लक्ष्य लिन र लक्ष्यसँग एकाकार गराउँदै प्राप्त नहुँदासम्म निरन्तरता दिन प्रतिवद्ध बनाउँछ । सहश्रार चक्रले म को हुँ र के गर्नुपर्छ भन्ने बोध गराउँदै अन्य चक्रहरूलाई संयोजन गर्दछ ।
जीवन चलाउने एक मात्र ऊर्जाको नाम हो कुण्डलिनी ऊर्जा । नाभी क्षेत्रबाट उत्पन्न हुने कुण्डलिनी ऊर्जा जीवनको बुकलेटरुपी तिनै ७ चक्रमा बहन्छ । तिनै ७ चक्रहरूमार्फत शरीरको सबै अंगमा ऊर्जा प्रवाह हुन्छ । आफ्नै शरीरको अंगहरूको ऊर्जाको विशेषता अध्ययन गरे आफँैलाई अचम्मित पार्ने अपार ज्ञान र शक्ति भेटिन्छ । आफ्नो ऊर्जा चिनेर तदनुसार काम गरे जुनसुकै क्षेत्रमा उत्कृष्टता हासिल हुन्छ । सफलता बाध्य भएर आउँछ जीवनमा । सफलता भनेकै सुख शान्ति समृद्धि हो ।
भौतिक यन्त्रको बुकलेट बाहिरी २ आँखाले देख्छ मस्तिष्कले पढ्छ । जीवनको बुकलेट न बाहिरी आँखाले देख्न सक्छ न मस्तिष्कले पढ्न । जीवनको बुकलेट देख्न भित्री आँखा चाहिन्छ । बाहिरी २ आँखा बीचको टीका लगाउने निधारको तल्लो भाग हो भित्री आँखा । बाहिरी २ आँखा बन्द गरी ध्यान गरेपछि मात्र भित्री आँखा खुल्छ । भित्री आँखालाई तेस्रो नेत्र वा ज्ञानचक्षु भनिन्छ ।
यन्त्रको बुकलेट पढने मस्तिष्कले जीवनको बुकलेट पढ्न सक्दैन ध्यानले मात्र सक्छ । शरीरको हरेक अंगका ऊर्जा र क्षमता अलग अलग छन् । एक अंगले गर्ने काम अर्को अंगले गर्न सक्दैन । मस्तिष्कको क्षमता बाहिर देखिने भौतिक वस्तु पढ्नमा सीमित छ । जीवनको बुकलेट भित्री, सूक्ष्म र देख्न नसकिने अनुभव र अनुभूतिमा आउने कुरा हो । ध्यानबाट मात्र त्यो अनुभव र अनुभूति पाउन सकिन्छ । त्यो ध्यानको विधि ऋषिहरूले आफ्नै शरीरमा लामो अध्ययन गरेर पत्ता लगाएका हुन् ।
जीवनको बुकलेटरुपी अलग–अलग ७ चक्रको अध्ययन गर्ने ध्यानका विधि पनि फरक फरक छन् । कुनै एक विधिले सातैचक्र र सबै अंगमा ऊर्जा जगाउन सकिदैन । आफूसँगै भएको अपार ऊर्जा र क्षमता थाहा नपाएर भौतिक उन्नतिको शिखर चुमेको वर्तमान युगमा ग्रह दशा बिग्रेर वा अरूले टुनामुना गरिदिएर प्रगति नभएको अन्धविश्वासमा ज्योतिषी र कर्मकाण्डी पण्डितको शरणमा पुग्नेको भिड देखिन्छ । ज्योतिषीले कालसर्प योग परेको छ पूजापाठ र दान गर भन्छ । पण्डितले कर्मकाण्डी पूजा गरिदिई दक्षिणा लिँदै अब दशा शान्त हँुदै जान्छन् भन्ने आश्वासन दिन्छ ।
चालु दिनलाई सफल बनाउने कर्म नगरी सफल दिन आउने प्रतिक्षामा नौथरी कुरा खेलाएर बस्छ मानिस । प्रगतिको दिन आउँदैन, पुनः ज्योतिषी र पण्डितको घनचक्करमा पर्छ । ज्योतिषी र पण्डितले धन्दा चलाइरहेका छन् । सोझासिधा मानिस भ्रममा परी भएको पनि गुम्दा थप मानसिक पीडा बेहोरेका छन् । जीवन विज्ञान विशेषज्ञ गुरुदेवद्वय रमेश नेपाल र एलपी भानु शर्माबाट दीक्षित भई योग ध्यानको साधना र आध्यात्मिक अध्ययनमा लागेको पंक्तिकार युट्युबमा जैन मुनिश्रीको एक प्रवचन सुन्न पुगे ।
कालसर्प योगको चिन्तामा राखिएको जिज्ञासाको जवाफमा भारतीय लेखक आरएन राबको ‘कुरितिंया आई हैं ज्योतिषमा’ भन्ने लेख र ‘यत पिण्डें तत ब्रह्माण्डें’ भन्ने ज्योतिष विज्ञानको सिद्धान्त उद्धृत गर्दै मुरारजी भाई देसाई, ज्ञानीजैयल सिंह, चौधरी चरण सिंह, धिरुभाइ अम्बानी, सच्चिन तेण्डुलकरजस्ता महान हस्तीहरूमा कालसर्प योग भएको उदाहरण दिए ।
उनले भने, बिगार्ने सपार्ने हाम्रो कर्मले हो ग्रह नक्षत्रले होइन । हाम्रो शरीरको तत्वको स्रोत ब्रह्माण्ड, ब्रह्माण्डीय तत्वको स्रोत सौर्य मण्डल हो । सौर्य मण्डल निश्चित गतिमा चलायमान हुन्छन् । त्यो चलायमानले ब्रह्माण्डीय तत्वमा परिवर्तन पार्छ र मानिस जन्मदा ब्रह्माण्डमा जे जुन तत्व प्रधान छ त्यही तत्व शरीरमा हुने हो । ग्रह नक्षत्रको गति सधैँ एकै रहने हुँदा मानिसलाई प्रभाव पार्दैन र लाखौँ वर्ष पछिको पञ्चांग अहिले बनाउन सकिन्छ । त्यसैले पापकर्म नाश होस् भनेर भगवान्को पूजा गर ग्रह नाश हुन्छ भनेर पूजा नगर ।
ज्योतिष सिद्धान्त विज्ञानमा आधारित छ । दुरुपयोग गरेर धन्दा चलाउनेले सिर्जना गरेको भ्रममा नपरी आफ्नो कर्ममा विश्वास गर्न उनले सुझाए । जीवन र जगत ऊर्जाले चलाएको छ भन्नेमा भौतिक र अध्यात्म दुवै विज्ञान सहमत छन् । भौतिक विज्ञानले ऊर्जाको स्रोत पत्ता लगाउन सकेको छैन । अध्यात्म विज्ञानले ऊर्जाको स्रोत चेतना हो भन्ने पत्ता लगायो । त्यो चेतना नै ध्यान हो । ध्यानको कनेक्सन आत्मासँग हुन्छ । कनेक्सन हुन्छ मात्र होइन आत्मासँग नजोडिई ध्यानै लाग्दैन । किनकी चेतनाको स्रोत आत्मा हो । आत्माको स्रोत हो परमात्मा ।
यसर्थ ध्यान परमात्मासम्म पुग्ने बाटो तथा अनुभव र अनुभूति गरी ज्ञान आर्जन डिभाइस हो । यहाँनेर आत्मा परमात्मा छ छैन भन्ने पश्न उठ्न सक्ला । यो विवादमा पर्न र गर्न जरुरी नै छैन । किनभने मन हुन्छ भन्नेमा भौतिकवादी समेत सबै सहमत छन् । भगवान् वुद्धले पनि आत्मालाई नकार्नु भएको छैन । चेतना आत्मा हो अविनाशी छैन मृत्युपछि आत्मा नाश हुन्छ भन्ने तर्क हो वुद्धको ।
संक्षिप्तमा भन्नुपर्दा मनको गहिराई वा अरूको आत्माको ख्याल गर्नाले परमात्मा बुझ्न सकिन्छ । भगवान् शिवजीले ध्यानको प्रादुर्भाव गरेर ध्यानकै शक्तिले देवका पनि देव महादेव बन्नु भयो । सुरुका ५–६ वर्षको तप निरर्थक भएपछि सिद्धार्थ गौतमले १ वर्ष ध्यान गर्दा वुद्धत्व प्राप्त गर्नुभयो । ध्यानको महत्व र आवश्यकता बुझेरै संयुक्त राष्ट्रसंघले २१ डिसेम्बरलाई अन्तर्राष्ट्रिय ध्यान दिवस घोषित गर्यो ।
त्यसकारण ध्यान आन्तरिक शान्ति ल्याउनमा मात्र सीमित छैन । ध्यानमा अनन्त शक्ति छ । हरेक समस्याको समाधान छ ध्यानमा । रोग निदानको सर्वऔषधि हो भने सुख शान्ति समृद्धिको दाता । यो जीवनको परम लक्ष्य आनन्द प्राप्तिदेखि जीवन मरणको चक्रबाट छुटकारा दिलाउने मोक्षदाता हो ध्यान । ध्यान यस्तो शक्ति हो जेमा लगायो त्यही फस्टाउँछ । स्वास्थ्यवर्धक बालीमा लगाए बालीको उत्पादन बढाउँछ अनावश्यक झारमा लगाए झार हर्लक्कै बढेर सफा गर्न झन्झटमा पार्छ ।
नेपालमा राजनीतिक दलका शीर्ष नेताले राजनीति सेवा हो भन्नेमा ध्यान नलगाई पद प्रतिष्ठा र धन आर्जनको अवसर हो भन्नेमा लगाइदिँदा दलहरू गुटबन्दीको दलदलमा फस्दै देशको हर क्षेत्रलाई कमजोर बनाइदिए । त्यसैले ध्यान गर्नु र लाग्नुभन्दा पनि ध्यान केमा लगाउने भन्ने विषय महत्वपूर्ण हुन्छ । ध्यानको अपार शक्तिको रहस्य ज्योतिष सिद्धान्तमा भेटिन्छ । जसअनुसार ब्रह्माण्डीय तत्वको फेरबदलले जन्मिने व्यक्तिको शरीरमा रहने तत्व कमी–बेसी भई ऊर्जा पनि कमी–बेसी बनाउँछ । ध्यानले ऊर्जा ट्रान्सफर गरेर सन्तुलन मिलाउँछ । ऊर्जाको सन्तुलन मिलाउँदा उत्पन्न हुने रसायनले ज्ञानको दायरा फराकिलो र गहिरो बनाउँछ ।
ज्ञान जति गहिरो फराकिलो हुँदै जान्छ त्यही अनुपातमा हामीमा सत्यता, स्वाध्याय, निरहंकारिता, क्षमाशीलता, सर्वकल्याण भाव, सेवा भाव, मधुर वाणी, लक्ष्यसँग एकाकार र मुमुक्षुजस्ता नवगुण विकसित हुन्छन् । ती नवगुणको विकासको अनुपातमा हामीभित्र, श्रद्धा, भक्ति, प्रेम, करुणा, दयालु, अरूको सेवामा समर्पित हुने सेवा भाव बढ्छ र आफूमा रहेको अहंकार घट्छ । ध्यान लगाउनु पर्ने विषयको जानकारी सारा नेपाली र विश्व मानव जगतमा पुर्याउने हेतुले जीवन विज्ञान विशेषज्ञ गुरुदेवद्वय रमेश नेपाल र एलपी भानु शर्मा अली बृहत् र पृथक शैलीमा आफ्नै संरक्षकत्वमा खडा गरेको जीवन विज्ञान संस्थाद्वारा ठूला कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ ।
प्रतिक्रिया