सुर्खेत । सुनचाँदी व्यवसायी संघ सुर्खेतको १०औँ साधारण सभा तथा छैटौँ अधिवेशनमा विवाद देखिएको छ । तत्कालिन अध्यक्ष ज्ञानेन्द्र बहादुर विश्वकर्माले आफ्नो नजिकको मान्छे नातामा सम्धी पर्नेलाई अध्यक्ष बनाउनका लागि नीति, विधी र प्रकृया मिचेर एकलौटी ढंगमा निर्वाचन समितिलाई नै प्रभावमा पारेर निर्णय गरेको आरोप लागेको छ ।
यही पुस १८ गते भव्य तामझामका साथ डि नमस्ने नेपाल होटेलमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको थियो । कार्यक्रममा नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि वरिष्ठ उपाध्यक्ष लालबहादुर सुनार, प्रथम उपाध्यक्ष ओमबहादुर विक र महासचिव मोहन सुनारको दाबी रहेको थियो ।
अध्यक्षमा ३ जनाको दाबी परेपछि सहमतिको प्रयास भएको थियो । सो सहमति अनुसार वरिष्ठ उपाध्यक्ष लालबहादुर सुनार पुनः नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमै बस्न राजी भएपछि प्रथम उपाध्यक्ष र महासचिवको दाबीमा निर्वाचन हुन सक्ने सम्भावना देखिएको थियो ।
दुवै जनाले आफ्नो दाबीबाट पछि नहटेपछि अध्यक्ष ज्ञानेन्द्र बहादुर विश्वकर्माले दुवै जनाले दाबी छाडेर पुनः अध्यक्षमा आफैँलाई समर्थन गरिदिन अनुरोध गरेका थिए । सोही अनुसार दुवै जनाले अध्यक्षलाई पुनः दोहोर्याउनका लागि सहमति कागजमा हस्ताक्षर गरेका थिए । तर आफू अध्यक्ष नभई प्रथम उपाध्यक्षलाई नै अध्यक्षमा उनले समर्थन गरेपछि महासचिव मोहन सुनारले आक्रोस व्यक्त गरेका छन् ।
उनले भने, ‘बहुमत व्यवसायी सदस्याहरु निर्वाचनबाटै नयाँ कार्यसमिति चयन गर्न चाहन्थेँ, तर सबै सदस्यहरुलाई गुमराहमा राखी सहमतिका नाममा जालझेल र षड्यन्त्र गरी नयाँ समिति निर्माण गरिएको छ, यसको म घोर विरोध गर्छु ।’ उनले अध्यक्ष ज्ञानेन्द्र बहादुर विश्वकर्माले आफू अध्यक्ष हुनका लागि सहमति पत्रमा हस्ताक्षर गराएको र पछि आफ्नो मान्छेलाई अध्यक्ष बनाउन उक्त हस्ताक्षरको दुरुपयोग गरेको आरोप लगाएका छन् ।
कालिकाेट
प्रतिक्रिया