पहिलादेखि नै अशक्त भएका बालगायक सचिन मिडियामार्फत कलाकारका रूपमा चिनिएका थिए । उनी मिडियामार्फत नै भाइरल भएका थिए । हाल उनको निधनलाई लिएर धेरै कलाकारहरूले दुःख व्यक्त गरिरहेका छन् । चर्चित गायक शिव परियारले सचिनको निधनबाट कला क्षेत्रमा गहिरो असर परेको भन्दै दुःख व्यक्त गरेका छन् । उनी सचिनको निधनलाई उनीमा रोग भए पनि घर परिवारबाट बेलैमा बौद्धिकताको कमी भएको बताउँछन् । गायक परियारले भन्छन्, ‘मिडियाले खोजेर माथि नल्याएको भए सचिन कुन अवस्था र कुन कुनामा हुने थिए, मिडियाकै कारण गायक बनेका बालक सबैको लोकप्रिय बने तर सुरुआतबाटै घरपरिवारबाटै स्याहार पाएनन्, उनका बुवा तेजेन्द्रको व्यवहार त सबैलाई थाहा छ, जन्म दिसकेपछि आफ्ना सन्तानको जिम्मा कसरी लिने हो त्यति पनि होस नपुर्याउँदा सचिनले चाँडै ज्यान गुमाउनुपर्यो ।’
काठमाडौँ । जोकोहीलाई पनि मर्ने रहर हुँदैन । कुनै क्षेत्रमा लागेर होस् आफ्नो जीवन बिताउने सबैको सोच हुन्छ । तर कतिपय घटनाक्रम र समयको चक्रअनुसार कसैले भने जीउने संघर्ष गर्दा गर्दै बाँच्ने आशामै ज्यान गुमाउन बाध्य हुन्छ । मानिसलाई कुनै पनि रोग लाग्नु र उपचारपछि निको हुनु फरक विषय हो । तर बिरामी हुँदै गर्दा एकाएक कलाकारितामा लाग्दै चर्चा पाएका बालगायक सचिन परियारलाई यस्तै भइदियो । पहिल्यैदेखि बिरामी सचिन गीत गाएर चर्चा बटुल्दै गर्दा झनै थला परेर बाँच्ने संघर्ष गर्दा गर्दै उपचारकै क्रममा उनको दुःखद् निधन भएको छ ।
बालगायक सचिनको उपचारको क्रममा बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको अस्पतालले जनाएको छ ।
बालगायक सचिन केही दिनदेखि आइसियूमा उपचार भइरहेको थियो । अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण थलिएका उनको कम्मरमुनिको भाग राम्रोसँग चल्दैन थियो ।
यसअघि शल्यक्रिया गरेर तंग्रिएका सचिन आफ्नै बलमा उभिन नसक्ने अवस्थामा थिए । यसअघि टिभी कार्यक्रम ‘इन्द्रेणी’मा पुगेका उनी राम्रोसँग बोल्न सक्ने अवस्थामा थिएनन् ।
अस्पतालका अनुसार सचिनको मस्तिष्कमा पानी जम्ने समस्या थियो । साथै उनलाई डाइबिटिज इन्सिपिडसको पनि समस्या भएको अस्पतालले जनाएको छ । करिब ६ महिनाअघि उक्त अस्पतालमा भर्ना भएर उपचार गराउँदा मस्तिष्कमा जमेको पानीलाई कम गर्न शल्यक्रिया गरेर पाइप राखिएको थियो । तर पछिल्लो समय उनी उपचारकै लागि भर्ना भएको शिक्षण अस्पताल बताउँछ ।
सचिनले केही चर्चित गीत गाउनुका साथै केही म्युजिक भिडियोमा समेत अभिनय गरेका थिए । गायिका कमला घिमिरे, करुणा राई र गोविन्द पौडेलको स्वर रहेको ‘वरको छायाले’ बोलको गीतमा सचिनले नायक राजेश हमालसँग अभिनयसमेत गरेका थिए ।
त्यस्तै सचिनको स्वर र अभिनय रहेको ‘ओँठ खोलेर’ बोलको गीतको म्युजिक भिडियो चर्चामा छ । त्यस्तै उनले गायिका अस्मिता अधिकारीसँग ‘के छ हजुर’ बोलको गीतसमेत गाएका थिए ।
केही वर्षदेखि उनको स्वास्थ्यका बारेमा सामाजिक सञ्जालमा चर्चासमेत भएको थियो । उनका बुबा तेजेन्द्र परियारले छोरालाई राम्रोसँग हेरचाह नगरेर विगतमा उल्टै सचिनले गीत गाएर कमाएको र उनकै उपचारका लागि विभिन्न माध्यमबाट जुटेको आर्थिक रकमले मदिरा सेवन गरेकोसमेत सामाजिक सञ्जालमा आलोचनाहरू भइरहेका थिए । यतिबेला निधन भएपछि सचिनलाई आमसर्वसाधाराणदेखि चर्चित कलाकारहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिइरहेका छन् ।
पहिलादेखि नै अशक्त भएका बालगायक सचिन मिडियामार्फत कलाकारका रूपमा चिनिएका थिए । उनी मिडियामार्फत नै भाइरल भएका थिए । हाल उनको निधनलाई लिएर धेरै कलाकारहरूले दुःख व्यक्त गरिरहेका छन् ।
चर्चित गायक शिव परियारले सचिनको निधनबाट कला क्षेत्रमा गहिरो असर परेको भन्दै दुःख व्यक्त गरेका छन् । उनी सचिनको निधनलाई उनीमा रोग भए पनि घर परिवारबाट बेलैमा बौद्धिकताको कमी भएको बताउँछन् । गायक परियारले भन्छन्, ‘मिडियाले खोजेर माथि नल्याएको भए सचिन कुन अवस्था र कुन कुनामा हुने थिए, मिडियाकै कारण गायक बनेका बालक सबैको लोकप्रिय बने तर सुरुआतबाटै घरपरिवारबाटै स्याहार पाएनन्, उनका बुवा तेजेन्द्रको व्यवहार त सबैलाई थाहा छ, जन्म दिसकेपछि आफ्ना सन्तानको जिम्मा कसरी लिने हो त्यति पनि होस नपुर्याउँदा सचिनले चाँडैै ज्यान गुमाउनुपर्यो ।’
गायक परियारले सचिनले जस्तै अविभावकको बौद्धिकताको कमीले कसैले पनि चाँडै ज्यान गुमाउन नपरोस् भन्दै दुःख व्यक्त गरेका छन् । सचिन जीवित हुँदा उपचारका लागि आर्थिक सहयोग गरेको पनि उनले सुनाए । ‘सचिन बाबुको उपचारका लागि आर्थिक सहयोग पनि गरेँ तर ज्यान बचेन’, गायक परियारले भने । समाजमा परिचय गराउन जोकोहीलाई पनि मिडियोको नजर बलियो हुने गायक परियारको बुझाइ छ ।
त्यसैगरी चर्चित गायक रामचन्द्र काफ्लेले सचिन उपचाररत हुँदा नै श्रीमती जुनु रिजाल र आफू त्रिवी शिक्षण अस्पतालमै गएर भेटेको र आर्थिक सहयोग गरेको बताए । त्यस समयमै उपचारमा संलग्न चिकित्सकसँग सचिनको स्वास्थ्य अवस्थाको जानकारी लिएको र सचिनको अवस्था जटिल भएकाले बचाउन समस्या भइरहेको जानकारी पाएको गायक काफ्लेले बताए । ‘हामी अस्पतालमै पुगेर अवस्थाको बारेमा जानकारी लिइयो र सहयोग पनि गरियो तर सचिन बचेनन्’, गायक काफ्लेले भने, ‘यो दुःखद् छ ।’
त्यस्तै गायिका जुनु रिजाल काफ्लेले पनि नयाँ प्रतिभाको अकालमै निधन हुनुमा कला क्षेत्र शोकमा परेको बताइन् । सचिनको रोग जे भए पनि अभिवभावकबाट पाउनुपर्ने स्याहार राम्रोसँग नपाएकोमा गुनासो गरिन् । ‘बालकको रोग पहिलाबाटै भए पनि बुबाआमाबाट पाउनुपर्ने स्याहार नपाएको हामी सबैले सामाजिक सञ्जालबाटै प्रष्ट जानकारी पाइरहेका थियौँ’, उनले भनिन्, ‘स्याहार पाएको भए सचिनले यति छिटै संसार त्याग्नुपर्ने पक्कै थिएन ।
जीवित हुँदैदेखि नै सचिनकको पढाइदेखि विभिन्न समयमा आर्थिक सहयोग गर्दै आएका इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलले गहिरो दुःख व्यक्त गरे । कँडेल बिहीबार पशुपति आर्यघाटमा सचिनलाई श्रद्धाञ्जली दिन सहभागी भएका थिए । उनी भन्छन्, ‘सचिन बाँचुन्जेल धेरै सहयोग गरियो तर सहयोग गरेको केही पार लागेन, उनलाई जति प्रयास गरे पनि बचाउन सकिएन ।’ सचिनको निधन भएपछि पनि उनको दाहसंस्कार लगायतका लागि आर्थिक लागि सहयोग गरेको कँडेल बताउँछन् ।
सचिन बुवा तेजेन्द्र र कान्छी आमासँग बस्दै आए पनि राम्रोसँग हेरचाह नपाएर ज्यान गुमाउनु परेको धेरैको बुझाइ छ । विगतदेखि भोग्दै आएको रोग उपचारकै क्रममा सचिनको निधनको घटनाले अभिभावकले सन्तानलाई दिनुपर्ने स्याहारबारे समाजमा सकारात्मक सन्देश पुग्ने राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले बताए । पशुपति आर्यघाटमा सचिनलाई श्रद्धाञ्जली दिन सहभागी भएका अध्यक्ष गौतमले आफू पनि मर्महातका विभिन्न दृश्य देख्न बाध्य भएको बताउँछन् । बुवा तेजेन्द्र परियार, सचिनलाई जन्म दिने आमा र कान्छी आमाको रुवाबासी पनि दर्दनाक देखिएको गौतमले सुनाए ।
‘सचिनले स्याहार नपाएको विषयमा त धेरै बोल्नै पर्दैन, उनी भन्छन्, ‘निधनमा भने दुवै आमा र बुवाको बिलौना थियो ।’ बालगायक सचिनको निधनमा धेरै कलाकारहरूले सामाजिक सञ्जनलमा श्रद्धाञ्जली व्यक्त गरे पनि आर्यघाटमा कलाकारहरूको प्रत्यक्ष उपस्थिति भने न्यून रहेको अध्यक्ष गौतमले बताए ।
आर्यघाटमा आफूसँगै इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापामगर, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका सचिव कमल सरगमलगायतको प्रत्यक्ष सहभागी भएर श्रद्धाञ्जली दिएको अध्यक्ष गौतमले सुनाए । सचिनको बिहीबार निधन भए पनि दागबत्ती दिन उनका हजुरबुबा गाउँबाट आउन ढिला भएकाले शुक्रबार अन्त्यष्टि गरिएको उनले बताए ।
बुबा तेजेन्द्र परियारले मृतक सचिनको आँखा दान गर्ने सोच बनाएको तर अस्पतालको रिपोर्टअनुसार उनको शरीरमा रगत खराब देखिएकाले दान गर्न नसकिएको अध्यक्ष गौतमले बताए ।
प्रतिक्रिया