काठमाडौँ । जाडो बढेसँगै काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा इन्फ्लुएन्जा (फ्लू) को संक्रमण बढेको छ । यो इन्फ्लुएन्जा भाइरसले लाग्ने संक्रामक रोग हो । यो भाइरसबाट सबै उमेरका व्यक्ति जोखिममा हुन्छन् ।
विज्ञका अनुसार फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएको थुकको छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा यो भाइरस सर्न सक्छ । ती छिटा सास फेर्दा फोक्सोमा पुग्ने भएकाले संक्रमण हुन्छ । यस्तै, भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक छुँदा पनि फ्लू लाग्न सक्छ ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार फ्लू जटिल बन्दै गए निमोनिया हुन सक्छ । ‘फ्लू एक प्रकारको भाइरल संक्रमण हो । यो संक्रमण भएको २ देखि ३ दिनमा लक्षण देखिन सुरु हुन्छ,’ उनले भने, ‘यसको लक्षण उच्च ज्वरो आउनु, जिउ दुख्नु, घाँटी दुख्नु, कसैकसैलाई पखाला लाग्ने पनि हुन सक्छ । यसले जटिलताको अवस्थामा निमोनिया गराउन सक्छ ।’
त्यसैगरी टाउको दुख्नु, खोकी लाग्नुु, जिउ र मांसपेशी दुख्नु, नाक बन्द हुनु वा सिँगान बग्नु, थकान महसुस हुनु आदि फ्लूका थप लक्षण हुन् । यद्यपि फ्लू भएका सबैलाई ज्वरो नआउन पनि सक्छ । चिकित्सकका अनुसार प्रशस्त आराम र झोलिलो पदार्थको सेवन गरेमा फ्लू हप्तादेखि १० दिनसम्ममा आफैँ निको भएर जान्छ ।
फ्लू भएका अधिकांश व्यक्तिलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधिहरू आवश्यक पर्दैन । डा. पुन भन्छन्, ‘संक्रमित हुँदा आराम त गर्नुप¥यो नै । यसले अरूलाई सार्न सक्ने सम्भावना पनि कम हुन्छ । कतिपयलाई ब्याक्टेरियाले थप संक्रमण गरायो भने एन्टिबायोटिकको आवश्यकता पर्न सक्छ । त्यसका लागि चिकित्सकको परामर्श लिनुपर्छ ।’
फ्लूबाट बच्नका लागि बिरामी भएका व्यक्तिसँग भौतिक दुरी कायम गर्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, मास्क लगाउने, सरसफाइमा ध्यान दिने, सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने, प्रशस्त तरल पदार्थ र पौष्टिक खानाको सेवन गर्नेलगायत सुझाव चिकित्सकहरूको छ ।
रोग प्रतिरोधात्मक क्षमता कम भएका, दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिकलाई बढी जटिल बनाउन सक्ने भएकाले सजग र स्वास्थ्यकर्मीको निगरानीमा रहनुपर्ने डा. पुन बताउँछन् । ‘जोखिम समूहका व्यक्तिले चिकित्सकसँग परामर्श लिएर औषधि लिनुपर्ने हुन्छ । फ्लूविरुद्ध खोप पनि उपलब्ध छ । खोप लगाएमा यसले थप जटिल हुने अवस्थाबाट धेरै हदसम्म कम गराउँछ,’ उनले भने ।
प्रतिक्रिया