नेप्सेमा ३ महिनायताकै न्यून कारोबार

काठमाडौँ । वर्तमान सरकार गठनको हल्ला चलेसँगै बढ्न थालेको सेयर बजार (नेप्से) पछिल्लो समय सेलाउँदै गएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो ३ महिनायताकै न्यून कारोबार भएको छ । बुधबार नेप्से परिसूचक ५ दशमलव १० अंकले बढेर २ हजार ५८१ दशमलव ६० को बिन्दुमा पुग्दा कारोबार रकम भने साढे ३ अर्ब हाराहारीमा खुम्चिएको छ ।

गत २४ साउनमा २९ अर्ब ९५ करोड ८५ लख १९ हजार रुपैयाँको सेयर कारोबार भएको थियो । नेपाली सेयर बजार यो नै हालसम्मको उच्च सेयर कारोबार रकम हो ।


बुधबार ३०९ कम्पनीको ९४ लाख ३४ हजार ९ कित्ता सेयर ४३ हजार ७२९ पटक खरिदबिक्री हुँदा ३ अर्ब ५९ करोड ७४ लाख ४५ हजार ३३४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यो कारोबार रकम गत असोज अन्तिम सातायताकै न्यून हो ।

मंगलबारको कारोबारमा उच्च गिरावट देखिएको वित्त समूहमा बुधबार उच्च वृद्धि देखिएको छ । वित्त समूह ३ दशमलव ८७, विकास बैंक १ दशमलव ६८ र जलविद्युत् समूह १ दशमलव २४ प्रतिशतले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन शून्य दशमलव ९५, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५, निर्जीवन बिमा शून्य दशमलव २२ र व्यापार समूह शून्य दशमलव ६३ प्रतिशतले बढको छ ।

अरू समूहको उपसूचकमा भने गिरावट देखिएको छ । बैंकिङ शून्य दशमलव ७२, जीवन बिमा शून्य दशमलव शून्य छ, लघुवित्त शून्य दशमलव १६, म्युचुअल फन्ड शून्य दशमलव १७ र अन्य समूह शून्य दशमलव ४१ प्रतिशतले घटेको हो । त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।


कारोबार रकमका आधारमा बुधबार सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २१ करोड ८२ लाख १७ हजार ३४९ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा सनराइज ब्लुचिप फन्डको १७ लाख ३४ हजार ५८९ कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया