सिओल । दक्षिण कोरियाको दक्षिण पश्चिमी प्रान्त मुआनमा जेजु एअरको यात्रुवाहक विमान दुर्घटना हुँदा १७९ जनाको मृत्यु भएको छ । सिओलबाट २८८ किलोमिटर दक्षिण पश्चिममा रहेको दक्षिण जिओला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा जहाज धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किर दुर्घटनाग्रस्त भएको हो ।
विमानमा सवार १७५ यात्रु र चालक दलका ६ सदस्य गरी १८१ जनामध्ये १७९ जनाको मृत्यु भएको छ । चालक दलका २ सदस्यलाई जीवितै उद्धार गरिएको छ । विमानमा १७३ दक्षिण कोरियाली र २ थाई नागरिक यात्रु थिए । जसमा १० वर्षमुनिका ५ जना बालबालिका पनि थिए ।
मुआन दुर्घटना दक्षिण कोरियामा अहिलेसम्मकै तेस्रो सबैभन्दा घातक हवाई दुर्घटना हो । सन् १९८३ मा सोभियत लडाकू विमानले रूसी आकाशमा उडेको कोरियन एअरको विमान खसाल्दा विमानमा सवार सबै २६९ जनाको मृत्यु भएको थियो भने सन् १९९७ मा गुआममा कोरियन एअरको विमान दुर्घटना हुँदा २२५ जनाको मृत्यु भएको थियो ।
दक्षिण कोरियाको यातायात मन्त्रालयले आइतबार आफ्नो अनुसन्धान एकाइले दुर्घटनाग्रस्त यात्रुवाहक विमानबाट दुवै ‘ब्ल्याक बक्स’ सुरक्षित निकालेको जनाएको छ । मन्त्रालयका एक अधिकारीले स्थानीय टेलिभिजनसँग दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन उडानसम्बन्धी तथ्यांक (डाटा) र भ्वाइस रेकर्डर दुवै भेटिएको बताएका छन् ।
अग्नि नियन्त्रक अधिकारीहरूले चराको आक्रमणका कारण विमान दुर्घटना भएको हुनसक्ने अनुमान गरेका छन् । स्थानीय टेलिभिजनले प्रसारण गरेको एउटा फुटेजमा बोइङ ७३७–८०० विमानबाट कालो धुवाँको मुस्लो निस्केको देखिएको छ । अर्को फुटेजमा विमानको दायाँ पखेटामा रहेको इन्जिनमा अवतरण गर्नुअघि आगोको ज्वालासहितको धुवाँ निस्किरहेको देखिएको छ ।
६ मिनेटअघि दिइएको थियो चेतावनी
आइतबार विमान दुर्घटना हुनुभन्दा ६ मिनेटअघि विमानस्थलको कन्ट्रोल टावरले चरा ठोक्किन सक्ने चेतावनी दिएको थियो । हवाई सुरक्षाको रेखदेख गर्ने भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको प्रेस ब्रिफिङअनुसार कन्ट्रोल टावरले बिहान ८ः५७ बजे चेतावनी जारी गरेको हो ।
विमान चालकले चेतावनीपछि संकटकालीन अवस्थाको घोषणा बिहान ८ः५९ मा गरेको मन्त्रालयले जनाएको छ ।
त्यसपछि चालकले बिहान ९ बजे अवतरणको प्रयास गरे पनि ३ मिनेटपछि बिहान ९ बजेर ३ मिनेटमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त भएको थियो । ‘धावनमार्ग नम्बर १ मा अवतरण गर्ने क्रममा कन्ट्रोल टावरले चरा ठोक्किन सक्ने अवस्थाको (बर्ड स्ट्राइक) को चेतावनी जारी गरेको थियो र त्यसको केही समयपछि चालकले आपतकालीन अवस्था (मे डे) को घोषणा गरेका थिए,’ मन्त्रालयले भनेको छ ।
अधिकारीहरूका अनुसार कन्ट्रोल टावरले धावनमार्गमा विपरीत दिशामा अवतरणका लागि अनुमति दिएको थियो, त्यसपछि पाइलटले रनवेमा ठोक्किएर भित्तामा नठोक्किँदासम्म अवतरणलाई सुरक्षित गर्ने प्रयास गरेका थिए । मन्त्रालयले मुआन विमानस्थलको धावनमार्ग तुलनात्मक रूपमा छोटो भएका कारण दुर्घटना भएको भन्ने धारणालाई अस्वीकार गरेको छ । धावनमार्ग २ हजार ८०० मिटर लामो भए पनि निर्माण कार्य जारी रहेकाले अहिले वास्तविक लम्बाइ करिब २ हजार ५०० मिटर मात्रै छ ।
प्रतिक्रिया