सियोल । दक्षिण कोरियाको यातायात मन्त्रालयले आइतबार आफ्नो अनुसन्धान एकाइले दुर्घटनाग्रस्त यात्रुवाहक विमानबाट दुवै ब्ल्याक बक्स सुरक्षित निकालेको जनाएको छ ।
ब्ल्याक बक्स विमान उडानको समयमा भएका गतिविधिहरूको रेकर्ड गर्ने उपकरण हो । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले स्थानीय टेलिभिजनलाई दिएको जानकारीमा दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन उडानसम्बन्धी तथ्यांक (डाटा) र भ्वाइस रेकर्डर दुवै भेटिएको बताएका छन् ।
विमानमा १७३ दक्षिण कोरियाली र दुई थाइल्याण्डका नागरिकसहित १७५ जना यात्रु रहेका थिए भने ६ जना चालक दलका सदस्य थिए । दुर्घटनाग्रस्त विमान राजधानी सियोलबाट करिब २९० किलोमिटर दक्षिण–पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा स्थानीय समय अनुसार आइतबार बिहान ९ः०७ बजे दुर्घटनाग्रस्त भएको थियो ।
थाइल्याण्डको बैंककबाट उडेको जेजु एयरको विमान ७ सी २२१६ रनवेबाट चिप्लिँदा धावनमार्गको बाहिरी भित्तामा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।
विमानमा सवार १८१ जनामध्ये ३३ र २५ वर्षका दुई जना चालक दलका सदस्यबाहेक सबैको मृत्यु भएको अनुमान गरिएको छ । हराइरहेका यात्रुको खोजी कार्य जारी छ । अग्नि नियन्त्रक अधिकारीहरूले चराको आक्रमणका कारण विमान दुर्घटना भएको हुनसक्ने अनुमान गरेका छन्।
पहिलो अवतरण प्रयासपछि, विमान अवतरण गियरको अनुमानित खराबीको कारण विमानले पुनः आकाशमा फर्किएकोे र दोस्रो अवतरण प्रयास ‘बेली–ल्यान्डिङ’को साथ गरिएको थियो । स्थानीय टेलीभिजनले प्रशारण गरेको एउटा फुटेजमा बोइङ ७३७–८०० विमानबाट कालो धुवाँको मुस्लो निस्केको देखिएको छ ।
अर्को फुटेजमा विमानको दायाँ पखेटामा रहेको इन्जिनमा अवतरण गर्नुअघि आगोको ज्वालासहितको धुवाँ निस्किरहेको देखिएको छ । यातायात मन्त्रालयले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन समय लाग्न सक्ने बताएको छ ।– रासस
प्रतिक्रिया