नगरपालिकाले गठन गर्यो छानबिन समिति
महोत्तरी । बर्दिबास अस्पतालले अस्पतालको सेवा प्रवाहलाई कमजोर बनाउँदै बाहिरका औषधि पसल र क्लिनिकहरूसँग मिलेमतो गरी कमाउ धन्दामा लागेको आरोप लागेका कर्मचारीहरूमाथि छानबिन गर्नुको सट्टा समाचारको खण्डन गर्दै उनीहरूको बचाउमा उत्रिएको छ । १२ पुसमा अस्पताल प्रशासनले विज्ञप्ति जारी गर्दै प्रकाशित समाचार तथ्यहीन रहेको भन्दै खण्डन गरेको हो ।
अस्पतालमा सेवा लिन गएका सेवाग्राहीहरूले अस्पतालको सेवा प्रवाह एकदमै कमजोर रहेको र सामान्य औषधि र जाँचका लागिसमेत बाहिरका फार्मेसी र क्लिनिकमा जान बाध्य पारेको गुनासो गरेपछि ११ पुसमा सौर्य दैनिकले समाचार प्रकाशन गरेको थियो । सेवाग्राहीको गुनासोपछि स्थलगत रिपोर्टिङमा जाँदासमेत अस्पतालमा सेवा र औषधि नपाएको भन्दै बाहिरका क्लिनिकमा आउने बिरामीको संख्या उल्लेख्य पाइएको थियो ।
कर्मचारीकै कारण अस्पतालको सेवासुविधा कमजोर बनिरहेको आरोप लागिरहेको अवस्थामा त्यसबारे अनुसन्धान र छानबिन प्रक्रिया अघि बढाउनुको सट्टा अस्पताल प्रशासन र व्यवस्थापन समिति नै उनीहरूको बचाउमा उत्रिनुले थप शंका गर्ने ठाउँ दिएको स्थानीय बताउँछन् । ‘अस्पताल प्रशासन र व्यवस्थापन समितिको विज्ञप्तिले बेथितिहरूलाई मलजल र प्रोत्साहन गरेको देखियो,’ स्थानीय भोजप्रसाद फुयालले भने, ‘कमसेकम आरोप लागिसकेपछि आरोपितहरूमाथि छानबिन गर्छौं भन्ने हिम्मत राख्नुपथ्र्यो ।’
धेरैजसो कर्मचारीले अस्पतालकै गेटबाहिर फार्मेसी, प्याथोलोजी ल्याब, डाइग्नोसिस सेन्टर राखेर व्यवसाय सञ्चालन गर्ने गरेको र आन्तरिक रूपमा अभाव सिर्जना गर्ने गरेको व्यापक जनगुनासो बढेपछि गरिएको स्थलगत रिपोर्टिङका क्रममा भेटिएका सेवाग्राहीको गुनासो र अस्पतालकै कतिपय कर्मचारीको भनाइका आधारमा समाचार सम्प्रेषण गरिएको थियो ।
६–७ महिनाअघि समाचारमा भनिएजस्तो बेथिति भए पनि अहिले त्यस्तो अवस्था नरहेको जिकिर गर्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुदीप ठाकुरले समाचार तथ्यमा आधारित नभएको आरोप लगाए । तर, उनले सेवा प्रवाहमा सुधार गरेको दाबी गरिरहँदा अस्पतालकै तल्लो तहका कर्मचारीहरूले यहाँ हुने बेथितिका थप प्रमाण उपलब्ध गराएका छन् ।
नाम नखुलाउने सर्तमा ती कर्मचारीहरूले (सिएस) सर्जरी गरेर डेलिभरी गराउने) प्रयोजनका लागि संघीय सरकारले उपलब्ध गराउने अनुदानसमेत अस्पतालले नै झ्वाम बनाउने गरेको आरोप लगाएका छन् । सिएसका लागि आवश्यक सामान खरिदका लागि बर्सेनि संघीय र प्रदेश सरकारले बजेट विनियोजन गर्ने गर्छन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा समेत यो विषय उल्लेख छ । ‘एउटा सिएसका लागि २३ सय रुपैयाँसम्मको सामान बाहिरबाट ल्याउन लगाएको पाइयो,’ स्थानीय सविता भण्डारीले भनिन्, ‘ठुलो मनपरी चलिरहेको छ अस्पतालमा ।’
व्यवस्थापन समिति र प्रशासनले कर्मचारीहरू अस्पतालको हाताभित्र स्वास्थ व्यवसायमा संग्लन छैनन् भनेर गरेको दाबीसमेत झुट भएको स्थानीयको आरोप छ । ‘हामी नै प्रमाण देखाइदिन्छौँ– कर्मचारीहरूको फार्मेसी, ल्याब र डाइग्नोसिस सेन्टर,’ बर्दिवास–१४ का रामऔतार महतोले भने, ‘यो खण्डनले व्यवस्थापन समिति र प्रशासनको समेत मिलोमतोको आशंका जन्मियो ।’
होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्जा कार्कीले समेत अस्पतालले गरेको खण्डनको विषयलाई लिएर आपत्ति जनाएका छन् । ‘समाचार खण्डन गरेर बेथिति छोपिँदैन, त्यो त व्यवहारमा देखिनुपर्छ,’ अध्यक्ष कार्कीले भने, ‘व्यवस्थापन समिति र प्रशासन नै निकम्मा बनेको पाएको छु ।’
यता, बर्दिबास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्रीले समाचारको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । ‘यस्ता विषयमा जनताले यसअघि पनि गुनासो गरेका थिए,’ उनले भने, ‘सत्यतथ्य छानबिन गर्न हामी अघि बढिसकेका छौँ ।’ नगरपालिकाले दीपेश काफ्लेको संयोजकत्वमा अनुगमन र छानबिन समिति गठन गरेको छ । समाचारमा आएका विषयहरू र अन्य बेथितिबारे पनि स्थलगत अध्ययन गरी नगरलाई प्रतिवेदन पेस गर्ने संयोजक काफ्लेले जानकारी दिए ।
नतिजा आउने गरी निष्पक्ष छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउने प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले बताए । ‘मैले पनि गलत नै भएको पाएको छु, बेथिति हटाएर सुधार गर्नुपर्ने चुनौती छ,’ उनले भने, ‘यसको नतिजा तपाईंहरूले १ महिनाभित्रै पाउनुहुनेछ ।’
यतिमात्रै होइन, यसअघि पनि नगरपालिकाकै जनप्रतिनिधिले समेत अस्पतालका कर्मचारीहरूले बेथिति निम्त्याएको आरोप लगाएका थिए । गत २३ साउनमा भएका नगरसभामा वडा नम्बर ९ का वडाध्यक्ष घुरन महतोले अस्पतालका कर्मचारी जिम्मेवारीप्रति प्रतिबद्व नभएको बताएपछि उनीहरूले फ्रेमको सिसा फुटाएर आगजनी गरेका थिए ।
सम्पादकीय नोट : यसअघि प्रकाशित समाचारमा सियाराम महतोको बाहिरको फार्मेसीमा कनेक्सन देखिएको हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।
प्रतिक्रिया