नयाँ दिल्ली । भारतको आर्थिक उदारीकरणका लागि महत्वपूर्ण भूमिका खेलेका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय अन्त्येष्टि अघि उनको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्न उनका शुभचिन्तक शनिबार भारतको राजधानी दिल्लीमा भेला भएका छन् ।
सन् २००४ देखि २०१४ सम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेका सिंहको बिहीबार ९२ वर्षको उमेरमा निधन भएपछि ७ दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ । फूलको मालाले ढाकिएको उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि नयाँ दिल्लीस्थित कांग्रेस पार्टीको मुख्यालयमा लगिएको छ ।
उनको पार्थिव शरीरलाई पूर्ण राजकीय सम्मानका साथ आजै अन्त्येष्टि गरिनेछ । उनको अन्त्येष्टिमा प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेताहरूको सहभागिता हुने बताइएको छ । प्रधानमन्त्री मोदीले सिंहलाई भारतका विशिष्ट नेतामध्ये एक व्यक्ति भएको उल्लेख गरेका छन् ।
विपक्षी कांग्रेसका नेता राहुल गान्धीले आफूले एक गुरु र मार्गदर्शक गुमाएको बताउँदै सिंहले अपार बुद्धि र निष्ठाका साथ भारतको नेतृत्व गरेको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले सिंहलाई सच्चा राजनेताको संज्ञा दिँदै भनेका छन्, ‘उहाँले आगामी पुस्ताका लागि भारत र समग्र विश्वलाई बलियो बनाउने ऐतिहासिक प्रगतिको खाका तयार पार्नुभएको छ ।’
कर्मचारीबाट राजनीतिमा आएका पूर्वप्रधानमन्त्री सिंहको पहिलो कार्यकालमा आर्थिक उछालका लागि उनलाई उच्च सम्मान गर्ने गरिएको छ । सिंहको दोस्रो कार्यकालमा भने केही भ्रष्टाचारका ठूला काण्ड, सुस्त आर्थिक वृद्धि र उच्च मुद्रास्फीतिको शृङ्खलापछि सन् २०१४ मा कांग्रेसबाट प्रतिस्पर्धी भारतीय जनता पार्टीले सत्ता लिन सफल भएको थियो ।
सन् १९३२ मा हाल पाकिस्तानमा रहेको गह गाउँमा जन्मिएका सिंहले तत्कालीन बेलायतशासित भारतमा गरिबी उन्मूलनको उपाय खोज्न अर्थशास्त्रको अध्ययन गरेको बताउने गर्थे । उनले क्याम्ब्रिज विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए भने अक्सफोर्डबाट विद्यावारिधी पूरा गरेका थिए । सिंहले वरिष्ठ निजामती सेवामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
भारतीय केन्द्रीय बैंकको गभर्नरको रूपमा काम गरेका उनले संयुक्त राष्ट्रसंघलगायत विश्वव्यापी निकायहरूमा विभिन्न कामको नेतृत्वसमेत लिएका थिए । सन् १९९१ मा तत्कालीन कांग्रेस प्रधानमन्त्री पीभी नरसिंह रावले उनलाई अर्थमन्त्रीको रूपमा सेवा गर्ने र भारतलाई आधुनिक इतिहासको सबैभन्दा खराब वित्तीय संकटबाट मुक्त गर्ने जिम्मा दिएका थिए ।
उनी अर्थमन्त्रीका रूपमा दिएको सफलताले उनलाई दुई कार्यकालसम्म प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो । आफ्नो पहिलो कार्यकालमा सिंहले ९ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्ति गर्दै भारतीय अर्थतन्त्रलाई कुशल नेतृत्व प्रदान गरेका थिए ।
उनले संयुक्त राज्य अमेरिकासँग ऐतिहासिक आणविक सम्झौतामा हस्ताक्षर गरेका थिए, जसले भारतलाई भारतको बढ्दो ऊर्जा आवश्यकता पूरा गर्न मद्दत गर्नेछ । भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले सिंहलाई श्रद्धाञ्जलि दिँदै भनेकी छन्, ‘सिंहलाई राष्ट्रका लागि उहाँको सेवा, निष्कलंक राजनीतिक जीवन र परम विनम्रताको लागि सधैँ सम्झना गरिनेछ ।’
प्रतिक्रिया