सौर्य समाचार काठमाडौँ । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको मृत्यु भएको छ । बिहीबार साँझ दिल्लीको एम्स अस्पतालमा ९२ वर्षीय सिंहको मृत्यु भएको हो ।
बिहीबार अचानक स्वास्थ्य बिग्रिएपछि सिंहलाई दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना गरिएको थियो । पूर्वप्रधानमन्त्री सिंहलाई अस्पताल भर्ना गरिएलगत्तै कर्नाटकको बेलगावीमा जारी कांग्रेस कार्यसमिति बैठक रद्द गरिएको थियो ।
सन् २००४ देखि २०१४ सम्म कंग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (युपिए) अन्तर्गत गठबन्धन सरकारको नेतृत्व गर्दै मनमोहन सिंह लगातार २ कार्यकाल प्रधानमन्त्री बनेका थिए । उनले सन् १९९१ मा पिभी नरसिंहा राव सरकारमा अर्थमन्त्रीका रूपमा भारतको आर्थिक उदारीकरणलाई अघि बढाएका थिए ।
योजना आयोगको उपाध्यक्षका रूपमा पनि काम गरेका उनी सन् १९८२ देखि १९८५ सम्म भारतीय रिजर्भ बैंकमा गभर्नरसमेत थिए । सिंहको जन्म २६ सेप्टेम्बर, १९३२ मा ब्रिटिस भारतको पन्जाब प्रान्तको गह गाउँमा भएको थियो । सो स्थान हाल पाकिस्तानमा पर्छ । सन् १९४७ मा पाकिस्तान छुट्टिएपछि उनको परिवार भारत बसाइँ सरेको थियो ।
कहिले के ?
१९५७–१९६५ : पन्जाब विश्वविद्यालयमा अध्यापक
१९६९–१९७१ : दिल्ली स्कुल अफ इकोनोमिक्समा प्रोफेसर
१९७६ : जवाहरलाल नेहरू विश्वविद्यालयमा मानार्थ प्रोफेसर
१९८२–१९८५ : भारतीय रिजर्भ बैंकको गभर्नर
१९८५–१९८७ : योजना आयोगको उपाध्यक्ष
१९९०–१९९१ : प्रधानमन्त्रीको आर्थिक सल्लाहकार
१९९१ : नरसिंह राव सरकारमा अर्थमन्त्री
१९९१ : असमबाटे राज्यसभा सदस्य
१९९६ : दिल्ली स्कुल अफ इकोनोमिक्समा मानार्थ प्रोफेसर
१९९९ : दक्षिण दिल्लीबाट लोकसभा चुनावमा पराजय
२००१ : तेस्रो पटक राज्यसभा सदस्य र विपक्षी दलको नेता
२००४–२०१४ : भारतको प्रधानमन्त्री
२०१९–२०२४ : छैटौँ पटक राज्यसभा सदस्य
प्रतिक्रिया