पहिलो बाँस सम्मेलन खोटाङमा

काठमाडौँ । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा नेपालकै पहिलो ऐतिहासिक बाँस सम्मेलन हुने भएको छ । ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने नाराका साथ आगामी फागुन १५, १६ र १७ गते प्रथम राष्ट्रिय बाँस सम्मेलन हुन लागेको हो ।
मानिसको दैनिक जीवनमा प्रयोग भइरहेको बाँसको उपयोगिताको औचित्य र यसबाट प्राप्त हुने लाभका बारेमा प्रचार गर्न र बाँसको व्यवसायिक उत्पादनमा जोड दिन सम्मेलन गर्न लागिएको जनाइएको छ । काठमाडौँस्थित वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहलको तालिम हलमा आइतबार पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी दिइएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ मुख्य आयोजक रहेको सम्मेलनमा बाँससम्बन्धी विविध सम्भावना, अवसर र चुनौतीहरूको खोजी गर्ने, बाँसको खेतीलाई सुधार र बिस्तार गर्दै अन्य खेती हुन नसक्ने जग्गामा समेत बाँसको खेती बिस्तार गर्ने सम्मेलनको उद्देश्य रहेको छ । बाँसको अध्ययन तथा अनुसन्धानलाई थप बढवा दिन, आर्थिक उपार्जनका लागि वैकल्पिक श्रोतको रूपमा विकास गर्न र बाँसबाट प्रत्यक्ष तथा अप्रत्यक्ष फाइदा लिनका लागि नगरपालिकाले सहजीकरण गरिरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल खोटाङका नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।

पत्रकार सम्मेलनम बाँसबाट प्राप्त हुने विविध वस्तु तथा सेवाहरूको प्रदर्शनी गर्ने, बाँसको प्रवद्र्धनका लागि सरोकारवालाहरूको ध्यानाकर्षण गर्दै आवास तथा सामग्री उत्पादनमा यसको उपयोगिता बढाउन सकिने आयोजकले जनाएको छ । खोटाङ जिल्लाको सदरमुकाममा हुन गइरहेको सम्मेलन नेपालका लागि एक ऐतिहासिक अवसर हुने राष्ट्रिय बाँस सम्मेलन आयोजक समितिका संयोजक तथा पूर्वमन्त्री गणेश शाहले बताए ।
बाँस सम्मेलनमा संघ, प्रदेश र स्थानीय गरेर ३ वटै तहका सरकारहरूको उत्साहपूर्ण सहभागिता रहने जनाइएको छ । सम्मेलनमा १०० जना सरकारी तथा गैरसरकारी निकाय व्यक्ति, १०० जना वन उपभोक्ता समूह, पाँचास विश्वविद्यालय तथा अनुसन्धान केन्द्र र १०० जना विद्यार्थी गरी ३५० जना बढीको प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अनुमान छ । सम्मेलनमा विज्ञहरूको प्रस्तुतीकरण, विभिन्न जिल्लामा बाँसबाट निर्मित सामग्रीहरूको स्टल प्रदर्शन, विभिन्न सांस्कृतिक झाँकीहरूको प्रदर्शन गरिने तयारी गरिएको आयोजकले जनाएको छ ।

नेपालमा मात्र ७५ भन्दा बढी प्रजातिको बाँस रहेको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहलले जनाएको छ । हाल १ हजार ५०० भन्दा बढी प्रकारका परम्परागत या आधुनिक हिसाबले बाँसका सामग्री निर्माण तथा प्रयोग भइरहेको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक राजेन्द्र केसीले बताएका छन् ।

आयोजक समितिले राष्ट्रिय बाँस सम्मेलनको पूर्व तयारीका लागि पुस महिनाभरी देशव्यापी पूर्वतयारी भेला तथा छलफलसमेत गर्ने भएको छ । पुस १४ गते कोसी प्रदेशको इटहरीबाट सुरु हुने अभियान १५ गते मधेस प्रदेश, १६ गते वागमति प्रदेश, १८ गते गण्डकी प्रदेश र पुस अन्तिम हप्ता राजधानी काठमाडौँमा कार्यक्रमहरू रहेको पत्रकारहरूलाई जानकारी दिइएको छ । राष्ट्रिय बाँस सम्मेलन सफल पार्न तथा स्थानीय उत्पादनलाई उत्प्रेरित गर्न अभिनेता दयाहाङ राईलाई सद्भावना दूतका रूपमा प्रस्ताव गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ बाँस सम्मेलनको मुख्य आयोजक रहने छ भने वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोसी प्रदेश र ग्रिन ब्याम्बो क्रिएसन प्रालि ललितपुर आयोजक रहनेछन् ।

प्रतिक्रिया