भारतमा बालविवाहको घटनामा पाँच हजारभन्दा बढी पक्राउ

गुवाहटी । भारतको उत्तरपूर्वी क्षेत्रमा अवैध बालविवाहविरुद्ध गरिएको कारबाहीका कारण करिब पाँच हजार व्यक्ति पक्राउ परेको आसाम राज्यका अधिकारीले आइतबार बताएका छन् । आसाम राज्यका मुख्यमन्त्री हिमन्त बिस्वा शर्माले एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘हामी यस सामाजिक कुरीतिको अन्त्यका लागि साहसिक कदम चाल्नेछौँ ।’

‘आसामले बालविवाहविरुद्धको लडाइँ जारी राखेको छ’, उनले भने, ‘रातभर छापा मारिएको छ भने पक्राउ परेकालाई आइतबार अदालतमा पेश गरिनेछ।’ संयुक्त राष्ट्रसंघका अनुसार भारतमा २२ करोडभन्दा बढी बालदुलही छन्, तर यो शताब्दीमा बालविवाहको संख्यामा नाटकीय रुपमा कमी आएको छ ।

आसाम राज्यले सन् २०२३ को फेब्रुअरीमा सुरु भएको उन्मूलन अभियानका क्रममा विवाहित दम्पतीका अभिभावक र कम उमेरका वैवाहिक बन्धनमा बाँधिएका रजिष्ट्रारसहित हजारौँलाई पक्राउ गरिसकेको छ ।

यो सँगै अहिले पक्राउ पर्नेको संख्या चार हजार भन्दा बढी पुगेको छ । शर्माले सन् २०२६ सम्ममा आफ्नो राज्यमा बालविवाहलाई पूर्णरूपमा अन्त्य गर्ने अभियान चलाएका छन् । भारतमा कानुनी रूपमा विवाहको लागि उमेर १८ वर्ष तोकिएको छ, तर विशेष गरी गरीब ग्रामीण क्षेत्रहरूमा लाखौँ बच्चाहरु बालविवाहको बन्धनमा बाँधिन बाध्य छन् ।

थुप्रै आमाबाबुले आफ्नो आर्थिक सुरक्षा सुधार्ने आशामा आफ्ना छोराछोरीको विवाह गर्छन् । बालविवाहको कारण भारतीय समाजमा विवाहित किशोरीहरूले खाना पकाउने र अन्य घरायसी धन्दाका लागि विद्यालय जान छोड्ने गरेका पाइन्छ ।

विवाहपछि सानै उमेरमा बच्चा जन्माउँदा उनीहरूले स्वास्थ्य समस्याहरू पनि भोग्नुपर्छ । सन् २०१७ को ऐतिहासिक फैसलामा भारतको सर्वोच्च अदालतले कम उमेरकी किशोरीसँग यौन सम्बन्ध राख्नु बलात्कार भएको बताएको थियो ।– रासस, एएफपी

प्रतिक्रिया