सहिदको सम्झनामा स्थापित क्याम्पस ‘गायब’

जनकपुरधाम । धनुषाको सहिदनगर नगरपालिकाको यदुकूहामा डेढ दशकअघि स्थापना गरिएको सप्तसहिद बहुमुखी क्याम्पस ‘गायब’ भएको छ । सहिदप्रति श्रद्धा र सम्झनास्वरुप जनता एकाइ माध्यमिक विद्यालयमा सञ्चालन गरिएको सो क्याम्पस राजनीतिक चलखेलका कारण अस्तित्वको खोजी सुरु भएको छ ।

सहिदनगर–३ स्थित सो क्याम्पस केही समयदेखि गायब बनाइएको भन्दै स्थानीयले खोजी सुरु गरेका छन् । २०२९ साल र २०४६ सालमा सहादत प्राप्त गरेका सहिदहरूको सम्झनामा स्थापना गरिएको क्याम्पसमा केही समय नियमित अध्ययन–अध्यापन सञ्चालन भए पनि अहिले अस्तित्वकै संकटमा छ । समाचार स्रोतका अनुसार यहाँ भर्ना भएका केही विद्यार्थीले घरमै पढेर परीक्षा दिने गरेका छन् ।

२०२९ साल असोज १ गते नयाँ शिक्षाको विकृतिविरुद्धको आन्दोलनमा सहिद भएका कामेश्वर यादव र कुशेश्वर मण्डल तथा लोकतान्त्रिक आन्दोलनका क्रममा २०४६ साल फागुन ९ गते सहिद भएका रामनारायण यादव, उदयशंकर मण्डल, जानकी देवी, सोनावती देवी र मुनेश्वरी देवीको श्रद्धासुमनस्वरुप जनता एकाइ उच्च माविमै पठनपाठन गर्ने गरी सो क्याम्पस स्थापना गरिएको थियो ।

२०६७ सालमा सञ्चालन गरिएको सो क्याम्पसमा २०७० सालमा त्रिभुवन विद्यालयबाट सम्बन्धन प्राप्त गरी शिक्षाशास्त्रअन्तर्गत बिएडको कक्षा सुरु गरिएको थियो । तर, केही वर्ष अघिदेखि कक्षा सञ्चालन बन्द भएको छ । क्याम्पस प्रमुख श्रीनारायण यादवको दायित्वविमुखता र खेलबाडमूलक गतिविधिका कारण क्याम्पसको अस्तित्व संकटापन्न भएको हो । स्थानीय शिक्षाप्रेमी, क्याम्पसका काउन्सिल सदस्य, नागरिक अगुवा, सहिदनगर नगरपालिकाका पदाधिकारी र वडाध्यक्षसहितको बैठकले अस्तित्व नै हराउन थालेको क्याम्पसको खोजी कार्यलाई तीव्रता दिने निर्णयअनुसार खोजी सुरु गरिएको जनाइएको छ ।

सहिदनगरकी उममेयर सुनिता सिंह, वडा नम्बर ६ का वडाध्यक्ष उमेश निराला, जनता माध्यमिक विद्यालयका प्राचार्य प्रदीपकुमार साह, काउन्सिल सदस्य सत्यदेव साह, नागरिक अगुवाहरू महादेव हाथी, मुक्ति साह र सत्यनारायण साहको सहभागितामा भएको बैठकमा क्याम्पस प्रमुख यादव भने अनुपस्थित भएका थिए । बैठकले स्थानीय सरकारलाई खोजी कार्यमा प्रमुख भूमिका निर्वाह गर्न आग्रहसमेत गरेको छ । यस्तै, क्याम्पसको सम्बन्धन दिने त्रिभुवन विश्वविद्यालयले पनि अनुगमनलाई सबल बनाउनुपर्ने बैठकले निष्कर्ष निकालेको थियो ।

बैठकमा सहभागीहरूका अनुसार क्याम्पस सञ्चालनको अवस्थाबारे छलफल गर्न क्याम्पस प्रमुख यादवलाई पटक–पटक ध्यानाकर्षण र आग्रह गरे पनि उनी छलफलबाट पन्छिँदै आएका छन् । क्याम्पस प्रमुख यादवले क्याम्पसलाई आफ्नो घरमै सीमित राखी घरमै विद्यार्र्थी भर्ना गर्ने र घरमै पढेर परीक्षामा सामेल गराउनेजस्ता गतिविधि गरिरहेको आरोप नागरिक अगुवाहरूको छ ।
क्याम्पस प्रमुख यादवलाई बैठकले निकालेका निष्कर्ष र क्याम्पसको अवस्थाबारे ध्यानाकर्षण गराउँदा आफूमाथि मिथ्या आरोप लगाएको बताए । आरोपमा कुनै सत्यता नभएको र निजी स्रोत नभएका कारण कक्षा सञ्चालन गर्न नसकेको बताए । विद्यालय परिसरमा क्याम्पसको बोर्ड देखिन्छ, तर अध्ययन–अध्यापन ठप्प छ ।

यसअघि लक्ष्मी दास क्याम्पस प्रमुख हुँदासम्म जनता माध्यमिक विद्यालयमै क्याम्पसको पठनपाठन सञ्चालन रहे पनि दासको कार्यकालपछि संकट उत्पन्न भएको र हालको अवस्थामा पुगेको क्याम्पस प्रमुख यादव बताउँछन् । विद्यालयमा कक्षा ६ देखि १२ सम्म पढाइ हुँदासम्म क्याम्पस सञ्चालनमा कुनै समस्या नभएको, तर नर्सरीदेखि ५ कक्षा पनि थप भएपछि भने क्याम्पसका लागि कक्षा कोठाको अभावसँगै सम्बन्धनको कबुलियत पूरा गर्न नसकेका कारण कक्षा सञ्चालनमा जटिलता आएको यादवको बुझाइ छ ।

‘सम्बन्धनको कबुलियतनामा अनुसार क्याम्पसको १ बिघा जग्गा भएको परिसर हुनुपर्ने भए पनि क्याम्पसले सो सर्त पूरा गरेको छैन । भौतिक पूर्वाधार छैन । आर्थिक अभावका कारण प्राध्यापक र कर्मचारीलाई तलब व्यवस्था हुन सकेको छैन,’ उनले भने, ‘बिएड विषयप्रति विद्यार्थीको आकर्षण छैन । यद्यपि, क्याम्पस बन्द छैन । मेयर दिनेशप्रसाद यादव र वडाध्यक्ष मनोजकुमार दासद्वारा सकारात्मक पहल भइरहेको छ । क्याम्पसमा ११औँ ब्याचको अध्ययन–अध्यापन चलिरहेको छ ।’ कक्षा सञ्चालन नभए पनि घरमै विद्यार्थी भर्ना लिएर परीक्षामा सहभागी गराउनु बाध्यता भएको उनले बताए ।

यता, सामाजिक अभियान्ता सत्यनारायण साहले क्याम्पस प्रमुख यादवलाई बैठकबारे आफूले नै जानकारी गराए पनि क्याम्पस प्रमुखद्वारा बैठकलाई महत्व नदिई अन्यत्र जानु गैरजिम्मेवारीपन भएको बताए । जनता माध्यमिक विद्यालय व्यवस्थापन पक्ष अहिले पनि क्याम्पस सञ्चालनका लागि तयार रहेको अवस्थामा कक्षा कोठाको अभाव भन्दै क्याम्पसलाई घरमा सीमित गर्नु चरम गैरजिम्मेवारीपन रहेको उनको आरोप छ ।

क्याम्पसको अस्तित्व संकटापन्न भएकोबारे बृहत् अभियान सञ्चालन गरी यसको अस्तित्वलाई जीवन्त तुल्याउने सवाललाई गम्भीरतापूर्वक लिई खोजी कार्यमा सबैको संलग्नताको अपरिहार्यतालाई बैठकले जोड दिएको जनाइएको छ ।

प्रतिक्रिया