गोलान हाइटमा बस्ती विकास गर्ने इजरायलको निर्णय

इजरायल । इजरायलले गोलान हाइटमा बस्ती विकास गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सिरियामा आसाद सरकार ढलेर इस्लामिक सत्ताको स्थापना भएपछि यो आवश्यकता रहेको बताएका हुन् । सन् १९६७ मा ६ दिने युद्धपछि कब्जा गरिएको गोलान हाइटको जनसंख्या २ गुणाले वृद्धि गर्न चाहेको प्रधानमन्त्री नेतान्याहुले बताएका छन् । अन्तर्राष्ट्रिय कानुनअनुसार भने यसलाई अवैध मानिन्छ ।

सिरियामा आसाद सरकारको पतनसँगै विगतका युद्धविरामको सम्पूर्ण खाका भंग गर्दै इजरायलले गोलान हाइटलाई सिरियाबाट छुटाएको बफर जोनमा हमला सुरु गरिसकेको छ । यस कदमका बाबजुद नेतान्याहुले सिरियासँग द्वन्द्व बढाउने इजरायलको कुनै चासो नरहेको बताएका छन् । उनले तत्कालीन समयको वास्तविक अवस्था अनुसार इजरायलप्रतिको धारणा तय गर्ने बताए ।
गोलान हाइटमा ३० वटा इजरायली आवास केन्द्र छन् । यी सबै गरेर कुल २० हजार मानिसको त्यहाँ बसोबास छ । इजरायलले अन्तर्राष्ट्रिय कानुनको अवज्ञा गर्दै त्यहाँ मानिस राखेको जनाइएको छ । त्यहाँ २० हजार सिरियाली पनि छन् ।

डर्ज अबर समुदायमा उनीहरू सो स्थान इजरायलले कब्जा गरेपछि पनि त्यहीँ रहेका छन् । इजरायलका पूर्वप्रधानमन्त्री एहुद ओल्मार्टले भने त्यस स्थानमा थप बस्ती बिस्तारको आवश्यकता नदेखिएको बताएका छन् ।

प्रधानमन्त्री नेतान्याहुले अहिले इजरायलकासामु धेरै समस्याको समाधान गर्ने आवश्यकता रहेका कारण सिरियामा सत्ता कब्जा गरेको विद्रोही शक्तिसँग युद्ध गर्न र द्वन्द्व बढाउन आवश्यक नदेखेको बताए । उनले यसो भने पनि ८ डिसेम्बर यता सिरियामा इजरायलले ४५० हवाई आक्रमण गरेको छ ।

प्रतिक्रिया