सर्लाही । जिल्लाको हरिवन नगरपालिका–५, घुर्कौलीका स्थानीय महिलाहरूले लघुउद्यम गरेर आम्दानी गर्न थालेका छन् । स्थानीय ९ महिलाको समूहले गाउँघरमै लघुउद्यम गरेर फुर्सदको समयमा थोरै भए पनि आम्दानी गर्न सुरु गरेका हुन् ।
हरिवन नगरपालिका–५ वडा कार्यालयले महिला सशक्तीकरणका लागि छुट्याइएको बजेटबाट लिएको तालिमले अहिले उद्यमी व्यवसायी बनाएको आमा शक्ति महिला लघुउद्यमी समूहकी अध्यक्ष शिलाकुमारी महतोले बताइन् । ‘हामी आमाहरू मिलेर समूह बनाएका छौँ’ उनले भनिन्, ‘आमाहरूको लागि अत्यआवश्यक सरफ (डिटरजेन्ट पाउडर) बनाउन सुरु गरेका छौँ ।’ महिलालाई स्वरोजगार बनाउने उद्देश्यसहित २ वर्षअघि वडा कार्यालयले सञ्चालन गरेको तालिममा सहभागी स्थानीय महिलाजनले जनही ५ हजार रुपैयाँका दरले रकम जम्मा गरेर समूह दर्ता गरेका हुन् ।
सुरुमा हातले बनाएर प्याक गर्ने र आफैँले प्रयोग गर्ने गरेको समूहकी कोषाध्यक्ष सजनी स्याङ्तानले बताइन् । यसरी व्यावसायिक हुन नसक्ने देखेपछि फेरि सदस्यहरूले २५÷२५ हजार रुपैयाँ थपेर र नपुग रकम ऋण लिएर मेसिन किनेको उनको भनाइ छ । मेसिनको सहायताले धेरै छिटो र सजिलै धेरै सरफ उत्पादन गर्न सकेको उनले बताइन् । समूहले उत्पादन गरेको सरफ प्याक गरेर आफैँले बजारसम्म पु¥याउने गरेको छ ।
बजारमा माग कम रहेकाले अहिले १५ दिनमा दुईपटक उत्पादन गर्ने र अन्य दिनमा बजारमा प्रचारप्रसार गर्ने गरेको अध्यक्ष महतोले बताइन् । ‘उत्पादन गर्ने दिन सबै सदस्य बिहान घरधन्दा सकेर कारखानामा उपस्थित हुन्छौँ’ उनले भनिन्, ‘काम बाँडफाँट गरेर कसैले तयारी पाउडर प्याकेटमा हाल्ने, कसैले जोख्ने, कसैले प्याक गर्ने र कसैले बोरामा प्याक गरेर राख्ने गर्छौं ।’ सीप सिकेर उद्यमी व्यवसायी बनेपछि तरकारी, सामान्य खर्चका लागि श्रीमानको मुख ताक्नुपर्ने बाध्यता हटेको उनीहरूको भनाइ छ ।
स्थानीय तहले दिने तालिम लिएर सदुपयोग गर्नसके स्वरोजगार बन्नसमेत सहयोग पुग्ने उनीहरूको अनुभव छ । यस समूहले उत्पादन गरेको सरफ उक्त वडाले सुत्केरी पोषण प्याकेज कार्यक्रममा वितरण गर्ने गरिएको छ । नगरका ११ वटै वडाका सुत्केरीलाई वितरण गरिने पोषण प्याकेजमा स्थानीय उत्पादन समावेश गरिदिए आफूहरूले बजार खोज्न धाउनुपर्ने समस्यासमेत समाधान हुने कोषाध्यक्ष स्याङ्तानले बताइन् ।
समूहकी अध्यक्ष महतोले बजारमा अत्यधिक प्रतिस्पर्धा रहेको र स्थानीय उत्पादन भनेपछि नाक खुम्च्याउने प्रचलनले समस्या भएको बताएन् । ‘हामी लघुउद्यमीसँग ठूलो लगानी छैन’ उनले भनिन्, ‘थोरै कच्चापदार्थ लिँदा महँगो पर्छ । उपकरणको प्रयोग गर्न नसकेका कारण लागत पनि केही बढी हुन्छ । स्थानीयस्तरमा उत्पादन गरेको भनेपछि उपभोक्ता किन्न हिच्किचाउने गर्दा बजारमा केही समस्या भए पनि निराश नभई उत्पादन गरिरहेका छौँ ।’
बजारमा पाइने अन्य सरफभन्दा पनि गुणस्तरको सरफ उत्पादन गरेको अध्यक्ष महतोले दाबी गरिन् । स्थानीय तथा नगरवासीले पनि स्थानीय उत्पादन खोजीखोजी प्रयोग गरेर साना घरेलु तथा लघु उद्योगलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । समूहले सामान बेचेको नाफासमेत लगानी गरेर अहिले ८ लाख रुपैयाँ बराबरको पुँजी बिस्तार गरेको जनाएको छ । अढाइ क्विन्टल क्षमताको मिक्सचर मेसिन, १ थान तौल मेसिन र १ थान प्याकेट बन्द गर्ने हिटर मेसिनको प्रयोगबाट उनीहरूले सरफ उत्पादन गरिरहको छ ।
बजारबाट माग आएमा दैनिक २५ क्विन्टलसम्म सरफ उत्पादन र प्याकिङ गर्ने उपकरण र जनशक्ति आफूहरुसँग मौज्दात रहेको अध्यक्ष महतोले बताइन् । यहाँ उत्पादित सरफ प्रतिकिलो होलसेलमा ८० रुपैयाँ र खुद्रामा १०० रुपैयाँसम्ममा बिक्री गर्ने गरिएको छ । अहिले महिनाको ४ देखि ५ क्विन्टलसम्म सरफ उत्पादन गरेर बजारमा पु¥याउने गरेको समूहले जनाएको छ ।
प्रतिक्रिया