दमासकस । बसार अल आसादको सत्ता ढाल्न सहयोग गरेका मोहम्मद अल बासिरलाई नै सिरियाको अन्तरिम प्रधानमन्त्री चयन गरिएको छ । स्थानीय सञ्चार माध्यमले जनाएअनुसार उनलाई संक्रमण कालका लागि प्रधानमन्त्री चयन गरिएको हो । उनले १ मार्चसम्म सरकारको नेतृत्व गर्ने जनाइएको छ ।
उनको नेतृत्वमा सानो सरकार बन्नेछ । अर्को सरकार गठन नभएसम्म सामान्य प्रशासनिक काम तथा स्वास्थ्य संरचना सुचारु राख्नका लागि नयाँ सरकार गठन गरिएको हो । विद्रोही शक्ति हायात ताहिर अल साम(एचटिएस)सँग निकट सञ्चार माध्यमहरूले अल बासिरको सरकारको बारे पनि जानकारी दिएको छ ।
यसअघि सिरियामा लागि संयुक्त राष्ट्र संघीय विशेष दुतले सबै जना मिलेर अबका दिन अघि बढ्नुको विकल्प नभएको बताइसकेका थिए । सिरियाका पूर्वप्रधानमन्त्रीले विद्रोही शक्तिलाई शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्न सहमति जनाएका छन् ।
सोमबार नै राजधानी दमासकसमा भएको बैठकपछि शान्तिपूर्ण सत्ता हस्तान्तरणमा प्रधानमन्त्री मोहम्मद अल बासिर सहमत भएका हुन् । यसै कारण १ मार्चसम्म उनी नै प्रधानमन्त्री हुने तय भएको जनाइएको छ । विद्रोही सेनाले सिरियाको राज्यपक्षीय सेनालाई आफ्नै सेनामा आबद्ध गर्ने निर्णय गरेको छ ।
एचटिएसका सैन्य अपरेसन कमान्डले सो निर्णय गरेको हो । एचटिएसले पुरानो सत्ताका सबैले डकुमेन्ट र सामग्री बुझाउन आवश्यक रहेको जनाएको छ ।
राजबन्दीलाई यातना दिने क्रममा सक्रिय सैन्य अधिकारीलाई कठोर कारबाही गर्ने सवालमा एचटिएस कठोर हुने जनाइएको छ । साथै सो सूचना दिनेलाई पुरस्कार दिनेसमेत जनाइएको छ । उद्धारकर्ताहरूले सायडनाया जेलमा रहेका कैदीहरूको खोजी कार्य सकिएको जनाएका छन् । उनीहरूले यातनाको क्रममा मारिएका ४० जनाको शव फेला परेको जनाएका छन् ।
सिरियामा आसाद सरकार ढले पनि इजरायलको बमबारी कायम नै छ । साथै बफर जोनमा इजरायलको नियन्त्रण कायम छ । संयुक्त राष्ट्र संघले बफर जोनमा इजरायलको उपस्थितिका बारे आपत्ति जनाइसकेको छ । सिरियामा आसाद सरकार ढलेको तेस्रो दिनसम्म सडकमा उत्रिएर खुसियाली मनाउने क्रम कायम नै छ ।
आसाद सरकारककै समयमा देश छाडेर भागेकाहरू फर्कने क्रम पनि जारी छ । यसरी भागेर फर्कनेहरूको ठूलो लस्कर लेबनान तथा टर्कीको सीमामा देखिएको छ ।
प्रतिक्रिया