सिरियामा राजनीतिक समाधान खोज्न चीनको आग्रह

बेइजिङ । चीनको विदेश मन्त्रालयले इस्लामिक नेतृत्वको विद्रोहीले दमास्कसमा कब्जा जमाएको र बशर अल असदको दशकौँ लामो शासनको अन्त्य गरेपछि सिरियाका राजनीतिक समाधान खोज्न सबै सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

बेइजिङले हालैका वर्षहरूमा सिरियासँगको सम्बन्धलाई मजबुत बनाएको छ र असदले सन् २०११ मा गृहयुद्ध सुरु भएयता मध्यपूर्व बाहिर दुर्लभ राजकीय भ्रमणका क्रममा गत वर्ष चीनको भ्रमण गरेका थिए ।

सोमबार उनलाई पदच्युत गरिएकोबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बेइजिङले सिरियाको घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताए ।

‘हामी आशा गर्दछौँ, सम्बन्धित सबै पक्षहरू सिरियाली जनताको आधारभूत हितका आधारमा अगाडि बढ्नेछन् र देशमा स्थिरता कायम गर्न यथाशीघ्र राजनीतिक समाधान खोज्नेछन्,’ माओ निङले नियमित पत्रकार सम्मेलनमा भने ।

आफ्नो परिवारसहित रूस भागेका असदसँग चीन सम्पर्कमा छ कि छैन भन्ने प्रश्नको माओले प्रत्यक्ष जवाफ दिएनन् । सन् २०२३ को चीन भ्रमणका क्रममा असद र चिनियाँ राष्ट्रपति सी चिनफिङले दुई देशबीच रणनीतिक साझेदारीको घोषणा गरेका थिए ।

सिरियाको दमास्कसस्थित चिनियाँ दूतावासले बिहीबार चिनियाँ नागरिकलाई जति सक्दो चाँडो सिरिया छाड्न सुझाव दिएको छ । सिरियाको विदेश मन्त्रालयले आइतबार सिरियाका नयाँ शासकलाई चिनियाँ संस्था र कर्मचारीको सुरक्षा सुनिश्चित गर्न व्यावहारिक कदम चाल्न आग्रह गरेको छ ।

प्रतिक्रिया