सुनिएको शरीर लिएर विद्यालय पुग्छन् महेन्द्र

बागलुङ । जिल्लाको निसीखोला गाउँपालिका–६ स्थित जनकल्याण माध्यमिक विद्यालयमा अध्ययनरत २० वर्षीय महेन्द्र विक अहिले दुखेको र सुनिएको शरीर लिएर विद्यालय आउने गर्छन् । आर्थिक अवस्था कमजोर भएकाले उपचारबाट बञ्चित उनी पढ्ने रहर पूरा गर्न सुनिएको शरीर लिएर विद्यालय पुग्छन् ।

जन्मेको तीन महिनामा उनी बिरामी परे । शरीरमा साना गिर्खा देखिए पनि आर्थिक अवस्था कमजोर भएकाले परिवारले उपचार नगराएको विक बताउँछन् । विस्तारै उनको शरीरका गिर्खा बढ्दै गए । घाँटी, पेट, छाती, खुट्टा र हातमासमेत गिर्खा बढ्दै गएपछि असहज बन्दै गएको उनी बताउँछन् ।

विक अहिले कक्षा ६ मा पढ्छन् । शरीरका गिर्खा बढ्दै गएपछि शरीर दुख्न र सुनिन थालेको भन्दै आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि जान नसकेको उनी बताउँछन् । गाउँमा सञ्चालित स्वास्थ्य शिविरमा उनको शरीरको सामान्य परीक्षण भएको थियो । शरीरमा देखिएका गिर्खा क्यान्सर हुन सक्ने आशंका स्वास्थ्यकर्मीले गरेका छन् ।

विद्यालयका शिक्षकले उनको उपचारका लागि सहयोगी दाताको खोजी भइरहेको विद्यालयका सहायक प्रधानाध्यापक डिल्लीराज सापकोटाले जानकारी दिए । बाबु मनबहादुर र आमा तीर्थकुमारी ज्याला मजदुरी गर्छन् । खानलाउन नपुग्ने भएपछि उनीहरूले उपचारमा खर्च गर्न सक्ने अवस्था नरहेको उनी बताउँछन् ।

‘आमाबाबुले केही गर्न सक्नुहुँदैन, विद्यालय आए पनि शरीर दुख्ने गरेकाले महेन्द्र रूने, कराउने गर्छन्’, सहायक प्रअ सापकोटा भन्छन्, ‘सहयोग जुटाएर उपचार गर्न पठाउने योजना छ, दाताको खोजी गरिरहेका छौँ ।’ भेटेका सबैलाई महेन्द्रको दुःख सुनाउने गरेको बताउँछन् ।

‘महेन्द्रको घाँटी सुनिएर डरलाग्दो भइसकेको छ, उहाँ खान र अन्य काम गर्नका लागि निहुरिन पनि सक्नुहुन्न, विद्यालय आए पनि पढ्न सक्नुभएको छैन, समयमा उपचार नगरे उहाँको जीवनमा समस्या आउने देखिन्छ’, सहायक प्रअ सापकोटा भन्छन् ।

निसीखोला–६ का वडाध्यक्ष हेमबहादुर बुढाले बालकको उपचारका लागि सहयोगी दाता खोजिरहेको बताए । ‘वडाले मात्रै गरेको सहयोगले उपचार खर्च पुग्दैन, आवश्यक सिफारिस गरेर सहयोगीको खोजीमा लागेका छौँ’, उनी भन्छन् । सामान्य उपचारले नहुने र निरन्तर दुखाइ भइरहेकाले तत्काल उपचारमा जानै पर्नेमा उनले जोड दिए ।

विक दम्पतीले कसरी उपचार गर्ने चिन्ता लागेको बताउँछन् । मदजुरी बाहेक अन्य काम नभएकाले छोराको उपचारका लागि सहयोगको आग्रह गरिरहेको बाबु मनबहादुर बताउँछन् ।

प्रतिक्रिया