पहिलो दिन नै जवानलाई पछि पारेको पुष्पा–२

नयाँदिल्ली । बहुप्रतीक्षित दक्षिण भारतीय फिल्म पुष्पा–२ ले अहिलेसम्मका सबै रेकर्ड तोड्न थालेको छ । ५ डिसेम्बरमा विश्वभर एकसाथ रिलिज भएको यो फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दाना र फहाद फासिलको अभिनय हेर्न पाइन्छ । पुष्पा–२ अहिले भारत र नेपालसहित विश्वभरका सिनेमा हलमा लागिसकेको छ । जहाँ फिल्म विश्लेषकहरूले यस फिल्मको प्रशंसा गर्दै पैसा पूरा चुक्ता गर्ने बताएका छन् ।

बक्स अफिसमा पनि पुष्पाले रेकर्डतोड कमाइ गर्न थालेको छ । पहिलो दिनको कमाइको कुरा गर्ने हो भने केवल तेलुगुको मात्रै नभएर हिन्दीमा पनि अनेक रेकर्ड बनाएको छ । यस फिल्मले शाहरूख खान अभिनित जवानलाई पनि पछि पार्दै अहिलेसम्मकै सबैभन्दा धेरै ओपनिङ गर्ने फिल्म बनेको छ ।

बक्स अफिस ट्र्याकर स्याकनिल्कको सुरुवाती आँकडाअनुसार, पुष्पा–२ ले पहिलो दिन भारतमा १६५ करोड कमाएको छ । उता तेलुगुमा भने यो फिल्म १ दिनपहिले रिलिज भएको थियो । भारतमा पुष्पा–२ को पहिलो दिनको समग्र कमाइ १ अर्ब ७५ करोड १० लाख रुपैयाँ भएको छ । ९५ दशमलव १ करोड तेलुगुमा, ६७ करोड हिन्दीमा, ७ करोड तमिलमा, कन्नडमा १ करोड र मलयालममा ५ करोड कमाएको छ ।

यसका अलावा फिल्म विश्लेषक मनोबाला विजयाबालनले एक्समा सेयर गर्दै टलिउडले बलिउडलाई पछारिदिएको बताएका छन् । पुष्पा–२ को हिन्दी भर्सनले ६५ दशमलव ३५ करोडको नेट कलेक्सनसहित जवान हिन्दीको १ दिनको बक्स अफिसलाई पछि पार्दै सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनेको हो ।

प्रतिक्रिया