हामीमा पनि राजनीतिक हिलोको छिटा परेको होला, तर पखाल्दै अघि बढ्छौँ : रामकुमार भट्टराई

रामकुमार भट्टराई, उपमहासचिव, नेकपा (एकीकृत समाजवादी)

नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन भएको ६ महिना बित्न लाग्दासमेत नेताहरूको कार्यविभाजन गर्न सकेको छैन । मध्य असारमा महाधिवेशन सम्पन्न गरेको सो पार्टीले भदौ ९ देखि ११ गतेसम्म पहिलो केन्द्रीय कमिटी बैठक राखेको थियो । सो बैठकले पदाधिकारी र पोलिटब्युरोको निर्वाचनबाहेक अरू केही गरेन ।

३४४ सदस्यीय केन्द्रीय कमिटी रहेको सो पार्टीका नेताहरूले अहिलेसम्म जिम्मेवारी पाएका छैनन् । महाधिवेशनको लामो समय बितिसक्दा पनि कार्यविभाजन नहुँदा नेताहरू जिम्मेवारीविहीन बनेका छन् भने पार्टीभित्र निराशा व्याप्त हुँदै गएको केही नेताहरूको आरोप पनि छ । नेताहरूले कार्यविभाजन टुंग्याउन पटक–पटक प्रयास गरे पनि नेतृत्वमा देखिएको महत्वाकांक्षाका कारण सफल हुन नसकेको बताउने गरिएको छ ।

पार्टीको कार्यविभाजनलगायत विषयमा पार्टीका उपमहासचिव एवं कार्यालय प्रमुख रामकुमार भट्टराईसँग सौर्य दैनिकका लागि चमिना भट्टराईले गरेको संवाद :

धान रोप्ने बेलामै महाधिवेशन गरेको तपाईंको पार्टीले किसानले धान भित्र्याइसक्दा पनि जिम्मेवारी बाँडफाँट गर्न सकेको छैन नि ?

–धान रोप्ने बेलामा महाधिवेशन गरेपछि भित्र्याउने बेलासम्म कार्यविभाजन हुन्छ भनेर त बुझ्नुपर्यो नि ! अब यो विषय लम्बिँदैन हामी कार्यविभाजन गर्ने तयारीमा छौँ । आउने स्थायी कमिटी बैठकले पार्टीका सबै नेताको कार्यविभाजन टुंग्याउँछ । सबै नेतालाई उत्साहका साथ आ–आफ्नो क्षेत्रको काममा खटाएर पठाइन्छ । त्यसैले यो विषयमा अब धेरै चिन्ता लिनुपर्दैन ।

पार्टीभित्रका सबै समस्या समाधान खोज्ने थलो महाधिवेशन हो । तर, तपाईंहरू त झन् समस्याको पोको बोकेर महाधिवेशन स्थलबाट निस्किनुभयो नि ?

–स्वाभाविक रूपमा महाधिवेशनले पार्टीका आन्तरिक समस्याको समाधान गर्ने नै हो । त्यो गरेको पनि छ । साथै महाधिवेशनले पार्टीको कार्यक्रमिक, नीतिगत, वैचारिक, सैद्धान्तिक जस्ता सबै समस्या समाधान गरेको छ । आउने दिनका लागि नयाँ नीतिसमेत बनाएको छ । यसपछिका दिनमा कार्यविभाजन गर्दा कस्तो कुरालाई सन्तुलन मिलाएर पार्टीलाई एकढिक्का बनाउने ? एकमना, एकताका साथ पार्टीलाई कसरी अगाडि बढाउने जस्ता कुरामा महाधिवेशनले छिनोफानो गरेको छ ।
अहिलेका तमाम चुनौती सामना गर्ने गरी पार्टीलाई कसरी निर्माण गर्न सकिन्छ भनेर अलि बढी चिन्तन गर्दा कार्यविभाजन ढिला भएको हो । यो चाँडै नै टुंग्याउन पाएको भए अझ राम्रो हुन्थ्यो । तर, अब चाँडै यो समस्या टुंग्याएर अघि बढ्ने तयारी छ । तर जे भएको छ, बिग्रिएको छैन । पार्टीलाई सिंगो कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने गरी अघि बढाउनुपर्छ भन्ने कुरामा नेतृत्वबीचमा एकमत छ । त्यसैका आधारमा नेताहरू पनि गम्भीर हुनुहुन्छ । महाधिवेशन समस्याको पोको बोकेर बाहिरिएको छैन । यसले नेतृत्व चयनमा ढिलाइबाहेक अरू सबै काम गरेको छ ।

विधि र पद्धतिका लागि विद्रोह गरेको भन्ने तपाईंहरूको विधि–पद्धतिचाहिँ यही हो ?

–पद्धतिगत रूपमा अघि बढ्ने कुरमा हाम्रो कुनै दुईमत छैन । हामी पूर्ण रूपले लेलिनवादी सिद्धान्तलाई अगिंकार गरेर अघि बढिरहेका छौँ । यसो गरिरहँदा पनि कहिलेकाहीँ व्यावहारिक कठिनाइ हुँदोरहेछ । यसमा कुनै पनि अन्यथा नलिइयोस् । र, यसमा नेताहरूको स्वार्थ वा महत्वाकांक्षाले होइन, कहिलेकाहीँ ढिला गरिएको कामको परिणाम पनि राम्रो निस्कन्छ । जे–जे समस्या देखिएका छन्, ती नीतिगत वा सैद्धान्तिक समस्या होइनन्, यी सबै व्यावहारिक कठिनाइ र समस्या हुन् । तिनलाई समाधान गरेर अघि बढाउने कुरामा समस्या छैन ।

तपाईंले भनेजस्तो व्यावहारिक समस्या मात्रै हो कि व्यक्तिगत स्वार्थ पनि हो ?

–यसलाई अन्यथा लिनुहुँदैन । हामी जुन समाजमा हुर्किएका छौँ, यो समाजको राम्रा–नराम्रा पक्ष हामीसँग पनि धेरथोर हुन्छन् नै र छन् पनि । हामी पनि यही समाजका भएकाले त्यस्ता दुष्परिणाम हामीसँग पनि टाँसिएर आएका हुन्छन् । त्यसले पनि हामीलाई असर पारेको हो । त्यसलाई हामीले राम्रोसँग पहिचान गर्न नसक्दाको परिणाम पनि हो ।

अर्कातर्फ हाम्रो समाज सामन्तवादी सोचबाट पूर्ण रूपमा बाहिर निस्किन सकेको छैन । त्यसलाई निस्तेज पर्दै पार्टीलाई विधि र पद्धतिमा चलाउनुपर्छ । यस क्रममा हामी लागेका छौँ । हाम्रो हिजोको विद्रोह पनि त्यसैका लागि थियो र यसमा आज पनि हामी प्रतिबद्ध छौँ ।

पार्टीभित्रै असन्तुष्टिका स्वरहरू आइरहेका छन् नि ?

–यो हरेक पार्टीमा देखिने समस्या हो । समाजको कुनै पनि क्षेत्र यस्तो छैन, जहाँ सबै सन्तुष्ट होऊन् । त्यसको असर हामीमा पनि होला । तर, बाहिर भनिएजस्तो छैन । चेत भएको सचेत मान्छेको जमातमा लागेको कुरा बोल्नु नै असन्तुष्टि होइन । तर, पार्टीभित्र त्यही विधि र पद्धतिमा चल्ने कुरामा सबै नेताहरू एकठाउँमा हुनपर्छ ।

अन्य पार्टीभन्दा के फरक भयो त तपाईंको पार्टी ?

–हामी जुन समाजमा छौँ, त्यसको अलिअलि छिटा त हामीलाई पनि पर्छ नै । तर, हामी सामन्तवादी सोचको दलदलमा भने फसेका छैनौँ । हामीले कम्युनिस्ट पार्टीलाई विद्रोह गरेर पुनर्गठन गरिरहँदा कम्युनिस्ट पार्टीलाई साँच्चै कम्युनिस्टजस्तो बनाएर अघि बढ्नुपर्छ, अरू कम्युनिस्ट पार्टीले यो कुरालाई पूरा गर्न सकेनन् । धेरै पार्टी अहिले पनि सामन्ती सोचबाट मुक्त हुन सकेका छैनन् भन्ने कुरामा सचेत भएर लागेका छौँ । पार्टी एकल निर्णयमा अघि बढ्नुहुन्न । साँच्चिकै कम्युनिस्ट पार्टी जस्तै बनाएर सामूहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारीका साथ अघि बढ्नुपर्छ भन्ने मान्यताका साथ पार्टी निर्माण गरेर अघि बढेका छौँ ।

यो बन्ने क्रममा पनि हामीबीचमा केही असमझदारी, केही असन्तुष्टि र केही सामन्ती सोचका अवशेषहरू आएका होलान् । त्यसलाई हामीले कामकै दौरान निमिट्यान्न गर्दै अघि बढ्नुपर्नेछ । अरू सबै खराब, हामीसँग चाहिँ केही कमजोरी छैन भन्यौँ भने त्यो पनि शतप्रतिशत सही हुँदैन । हामीभित्र पनि त्यस्ता खराब सोचहरू आउन सक्छन् । त्यसका विरुद्ध जुध्दै अघि बढ्न, एक हुन जरुरी छ । हाम्रो भिन्नता भनेको पनि यही हो ।

स्थानीय तहको उपनिर्वाचन परिणामलाई कसरी हेर्नुभएको छ ?

–यो नतिजा हेर्दा निरुत्साहित हुनुपर्ने अवस्था छैन । तर, उत्साहित हुने अवस्था पनि छैन । हामीले जुन रूपमा उम्मेदवारी खडा गर्यौँ, त्यसलाई प्रचारका क्षेत्रमा घनिभूत बनाउन सकेनौँ । त्यसलाई व्यवस्थित रूपमा अघि बढाउन सकेको भए केही प्रगति हुने थियो होला । हाम्रो भोट अझ सुरक्षित हुन्थ्यो होला । तर, त्यो गर्न सकिएन, यसमा हामी पार्टीभित्र गम्भीर समीक्षा गर्नेछौँ । तर, पनि हामी निरुत्साहित भएका छैनौँ ।

हाम्रो कारणले हामीले घाटा बेहोरेका छैनौँ । यो निर्वाचनमा एउटा वडाध्यक्ष थपेका छौँ । तर पनि सन्तुष्ट हुने अवस्था छैन । समयमा नै नेताहरूको कार्यविभाजन टुंग्याएर काममा लगाउन सकेको भए हाम्रो पक्षमा फरक नतिजा आउन सक्थ्यो भन्ने लागेको छ ।

आगामी संसदीय चुनावका लागि केही संकेत गर्दैन यो परिणामले ?

–यो परिणम हेर्दा संकेत त गरेकै छ । यो एक प्रकारको जनमत संग्रह नै थियो । नेपाली वामपन्थीहरूको जुन अवस्था छ, त्यसलाई पनि एउटा छाया दिएको छ यसले । यसबाट हामीले सिक्नुपर्ने पनि छ । हामी कम्युनिस्टहरूले आफूलाई सुधार्दै कम्युनिस्ट आचरणयुक्त बनाउँदै अघि बढ्नुपर्ने खाँचोचाहिँ देखियो । तर, ठूला भनिएका कम्युनिस्ट पार्टी, जो यो समाजको सबै जिम्मा हाम्रो हो भनेर जिम्मा लिँदै हिँडेका छन्, ले बुर्जुवा र दलाल पुँजीपतिको हातमा पार्टी सुम्पिने अवस्थामा पुग्दै छ । त्यसकारण यी सबै कुरालाई भोलिका दिनमा जनताले बुझ्छन् र सबै कम्युनिस्ट पार्टी एकै ठाउँमा आउलान् भन्ने लागेको छ । त्यसैले यो निर्वाचनकोे संकेतलाई सबै कम्युनिस्टले बुझ्न जरुरी छ ।

आगामी चुनावमा कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नैपर्ने देखियो, होइन त ?

–यो विषय अहिले छलफलको विषय हुँदैन । तर पनि अब गठबन्धन भएमा माथि केन्द्रमा होलसेलमा गर्न हुँदैन । स्थानीय अवस्था र आवश्यकतालाई हेरेर गर्नुपर्छ । सबै अधिकार केन्द्रले लिनेभन्दा पार्टीलाई अलि लोकतान्त्रिक बनाउनुपर्छ । पार्टीको स्थानीय वस्तुस्थिति स्थानीय कमिटीले नै बढी बुझेको हुन्छ । माथिबाट नै सबै आकलन गर्नुहुँदैन । त्यसैले यसमा सोच्नुपर्छ भन्ने लागेको छ ।

कोसँग गर्नुहुन्छ गठबन्धन ?

–यसमा अहिले केही भन्न सकिन्न । त्यतिबेलाको अवस्था र मागका आधारमा मित्र शक्तिसँगको सम्बन्धले यो विषयलाई निर्धारण गर्छ ।

नेपालका सबै कम्युनिस्ट पार्टी एक हुन नसकिने हो ?

–अब सबै कम्युनिस्ट एकै ठाउँमा उभिनैपर्छ । आज नभए भोलि नेपालका सबै कम्युनिस्ट एकै ठाउँमा उभिनै पर्छ र नेपाली कम्युनिस्ट आन्दोलनलाई एउटै मूलधारमा ल्याउनुपर्छ । नेपाली विशेषताको समाजवादी कार्यक्रम अघि बढाउन पनि त्यसको अवश्यकता छ । हामीले त्यसैका आधारमा आफ्नो विचार प्रष्ट पारेका छौँ । तर, यो विषय कहिले सम्भव हुन्छ भन्नेचाहिँ यस्तै निर्वाचन परिणामले पनि संकेत गर्छ । यो गर्नैपर्छ, यो सबै कम्युनिस्टका लागि बाध्यता पनि हो ।

तर, एक हुन नदिन व्यापक प्रयत्न हुन्छ । यसमा दलाल नोकरशाहीहरू लाग्छन् । पहिला पनि त्यही चलखेलका कारण नेकपाको दुई तिहाइको सरकार भएका बेला राष्ट्रिय पुँजीको विकास गरेर जनताका पक्षमा काम गर्न सकेनौँ । त्यहाँ पनि दलाल नोकारशाहीको इसारामा नाच्ने काम भयो । त्यसैले दलाल नोकारशाहीको पन्जाबाट देशलाई मुक्त गर्न पनि हामी कम्य्ुनिस्टहरू एक ठाउँमा उभिनु अपरिहार्य छ । त्यसो भएन भने हामीले देशको उन्नति, प्रगति गर्न र सुखी नेपाली समृद्ध नेपाल बनाउन सम्भव छैन । सच्चा कम्युनिस्टहरूको एकता नै आजको अवश्यकता हो । यो हुनैपर्छ यसलाई रोक्न सकिन्न ।

नेपालका कम्युनिस्ट अन्तैको इसारामा चल्छन् भन्ने आरोप छ नि ?

–त्यस्तो पनि होइन, आफ्नो चाहना जनताको हितमा लागू गर्न नेपाली कम्युनिस्टहरू चुकेका छन् । योचाहिँ सत्य हो । यसका पछाडि आन्तरिक वा बाह्य कारण होलान् । जे भए पनि एक भएर अघि बढ्ने कुरामा कम्युनिस्ट चुकेकै हुन्, यो हुनुहुँदैन । हामीले आफ्ना निम्ति आफैँले निर्णय गर्ने ठाउँमा पुग्न सफल र सक्षम हुन सक्नुपर्छ । यसो गर्न सकियो भने कम्युनिस्ट एकता कसैले रोक्न सक्दैन ।

हालसालै भएको प्रधानमन्त्रीको चीन भ्रमणलाई कसरी हेर्नुभएको छ ?

–यो परम्परागत भ्रमण जस्तो लागेको छ । यो भ्रमणले तात्विक भिन्नता केही गरे जस्तो लाग्दैन । भ्रमणबाट गरिएका आशा पूरा भए जस्तो लागेन । भ्रमणका लागि भ्रमण गरेर यति पटक चाइना गएँ भन्ने रेकर्ड बनाउन गएजस्तो देखियो । कुनै पनि नयाँ प्रगति भएन । केही सिटी हल, मार्केट, खेल मैदान बनाउने कुरालाई नै भ्रमणको उपलब्धि मान्न सकिन्न ।

जुन हिसाबले बिआरआईमा सहमति भयो, त्यसलाई के भन्नुहुन्छ ?

–यो बिआरआई सम्झौताका बारेमा हामी प्रष्ट छौँ । हामीले एमसिसी त पास गर्यौँ, यो बिआरआईमा जानहुँदैन भन्ने कुरा गलत हो । बिआरआईमा अघि बढ्नैपर्छ । सम्झौता गर्नेबित्तिकै ऋणको भारी बोक्ने कुरा हुँदैन । ऋण भनेको दिनेले दिनुपर्यो, लिनेले लिनुपर्यो । ऋण लिएपछि ब्याज तिर्ने हो । ऋण लिँदा सजग भएर तिर्ने वातावरण बनाएर लगानी गर्नुपर्छ । आवश्यकता पर्दा ऋण लिने नपर्दा नलिने र लिएको ऋणलाई उपयोग गर्न जान्नुपर्यो ।

यतिबेला मुलुक आर्थिक मन्दीको चपेटामा छ । यस्तो बेलामा कहाँ सस्तोमा ऋण पाइन्छ, ल्याएर आर्थिक विकास र उत्पादनमा लगाउनुपर्छ । यो विषयमा गम्भीर छलफल गर्नुपर्छ । हामीले अनुत्पादक क्षेत्रमा पैसा खर्च गरिरहेका छौँ, यसलाई रोक्नुपर्छ । जस्तै सिंहदरबारभित्र बनेका दरबारहरू अहिले जरुरी थिए कि थिएनन्, समीक्षा गर्नु जरुरी छ । पैसा कहाँ खर्च गर्ने सोच्नुपर्छ । यस्तो बेला कहाँ लगानी गर्दै छौँ, सोच्नुपर्छ ।

यसलाई एमसिसीसँग जोड्न खोजियो भन्न खोज्नुभएको हो ?

–बिआरआई र एमसिसी फरक विषय हो । एमसिसीमा जुन प्रकारका सम्झौता गरेका छौँ, त्यहाँँ पनि असहमति जनाएर फरक मत राखेर सुधार गर्ने सर्तमा काम गरेका हौँ । बिआरआईमा त्यस्तो केही छैन । यो राजनीतिक वा सुरक्षाका दृष्टिले हेरिनुपर्ने विषय होइन, यो विशुद्ध आर्थिक पाटो हो । यसमा धेरै विवाद गर्नै पर्दैन । हाम्रो मानसिकता यति दरिद्र छ कि कसलाई कसरी रिझाउने, कसलाई खुसी पार्ने, कसको चाकडी गर्ने भन्ने कुराले बढी काम गर्ने गरेको छ ।

कसैलाई खुसी पारेर सत्ता टिकाउने मानसिकता देखियो भन्ने पनि सुनिन्छ नि ?

– हो, त्यसैले पनि बढी चर्चा भएको हो । यो बिआरआईको विषयमा धेरै चर्चा गर्नु जरुरी नै छैन । हामीले पहिला नै गर्नुपर्छ भनेका थियौँ । यसमा अन्यथा लिनैपर्दैन । यस्ता ऋण पहिला पनि धेरै ठाउँबाट लिइएको छ । अरूसँग लिएको ऋण कसरी उपयोग गर्यौँ, यो के गर्ने, हामीमा निर्भर रहन्छ ।

प्रधानमन्त्रीले यता छँदा ऋण लिँदैनौँ भन्नुभयो, तर सम्झौताले त ऋण नकार्दैन होइन ?

–उहाँलाई अनेक प्रेसर थियो होला । सत्ताको गठबन्धन नै भत्किने पो हो कि ? यसमा संकट पो पर्ने हो कि भन्ने पनि हुन सक्छ । त्यहाँ गइसके पछि फेरि फरक भयो होला ! त्यसैले यसमा नेपालले चीनसँग मित्रवत् सम्बन्धका आधारमा काम गर्नुपर्छ भन्ने लाग्छ ।

प्रतिक्रिया