काठमाडौँ । भौगोलिक अवस्थितिले ठगिएको कर्णाली प्रदेश राज्यदेखि ठेकेदारसम्मबाट ठगिँदै आएको छ । विकट र दुर्गमको पर्यायकै रूपमा परिभाषित गरिएको कर्णाली प्रदेश राज्यबाट स्रोतसाधन छुट्याउनेदेखि विकास निर्माणका क्रममा समेत पटक–पटक ठगिँदै आएको छ ।
पछिल्लो समय यो प्रदेशमा विकास निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले पनि ठग्ने क्रम बढेको छ । यहाँ ठेकेदारले काम जिम्मा लिने र पूरा नगरी अलपत्र पारेका दर्जनौँ आयोजना छन् । यसरी ठेक्का लिँदै अलपत्र पारेका आयोजनाका ठेकेदारहरूलाई प्रदेश सरकारले काम सक्न अन्तिम मौका दिएको छ ।
अलपत्र परेका ठेक्काको पटक–पटक म्याद थपे पनि काम नभएपछि प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ठेकेदारहरूलाई बोलाएर चेतावनी दिएको हो । मन्त्री शेरबहादुर बुढा, सचिव तथा अन्य अधिकारीको सहभागितामा ठेकेदारहरूसँग छलफल गरी तुरुन्त काम सुचारु गर्न निर्देशन दिइएको हो । प्रदेशमा विभिन्न जिल्लामा गरी ३३ वटा ठुला आयोजना ठेकेदारको लापरबाहीका कारण अलपत्र छन् ।
अलपत्र पारिएका आयोजनामध्ये अधिकांशमा ४ पटकसम्म म्याद थप गरिसकिएको छ । अतिजरूरी ठाउँमा समेत ठेक्का लिएर ठेकेदार बेपत्ता हुने यहाँको रोग नै बनेको छ । ठेकेदारहरूलाई बोलाएर काम सक्न अन्तिम मौका दिएको मन्त्री बुढाले बताए । ठेकेदारहरूलाई उनले भने, ‘काम नगर्ने हो भने बाटो खुला गर्नुस्, होइन भने तत्काल कम सुरु गर्नुस् ।
२३ मंसिरमा निर्माण सकिनुपर्ने डोल्पाको दुनै सरस्वती मन्दिरदेखि तिब्लागाउँ थरगाउँ काँडातलीसम्मको सडकको काम बल्ल ३० प्रतिशत सकिएको छ । श्रेया जुगल जेभीले २०७९ असार १६ गते सो आयोजना ठेक्का लिएको थियो । यस्तै, अमर सिस्ने जेभीले २०७८ माघ २५ गते ठेक्का लिएको जाजरकोटको छेडा थलह सानाखोला जाँदे जुम्ला सडकको ३० किलोमिटर सडक १० प्रतिशतमात्र काम भएर अलपत्र छ ।
नेपाल मेघा सिस्ने जेभीले २०७८ साउन ४ गते जाजरकोटको छेडागाड नगरपालिकाको साल्मखोलामा पुल निर्माणको ठेक्का लिएकामा ३० प्रतिशतमात्र काम गरेको छ । यसको म्याद थपेर २०८२ जेठ २ सम्म पु¥याइएको छ । ठेकेदारले पुल निर्माणमा चासो नै नदेखाएको जिल्लास्थित पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
यस्तै, जाजरकोटकै बारेकोट गाउँपालिका–८ साँघुतरा र नलगाड नगरपालिका–५ सिर्केस्थित मोटरेबल पुलसमेत अलपत्र । नेपाल मेगा सिस्नेले नै २०७८ साउन २९ गते जिम्मा लिएको उक्त पुलको भौतिक प्रगति शून्य छ । हालसम्म फिल्डमै नपुगेको ठेकेदारले यसको म्याद भने २०८२ असार २० गतेसम्म थप गरिसकेको छ ।
गत २९ जेठमै म्याद सकिएको बारेकोट गाउँपालिकाको भैसेडीमा पक्की पुलको का नारायनम निर्माण सेवाले ५० प्रतिशत मात्रै काम गरेको छ । कल्यानमा पक्की पुल निर्माणका लागि पिएस निर्माण सेवाले २०७९ जेठ ३० गते लिएकामा ४५ प्रतिशत मात्रै काम भएको छ । यसको थपिएको म्यादसमेतगत २९ जेठमै सकिइसकेको छ ।
कालीकोटको सेरी पान्तडी पद्मघाट जुम्ला सडक निर्माणको ठेक्का लिएको खड्काकृष्ण सुपरस्टार जेभीले ४० प्रतिशतमात्र काम गरेको छ । जबकि यसको म्याद २०८० जेठ ३० गते नै सकिएको थियो । २०७८ वैशाख २६ गते वारातु सियाला रेगिंल रोड निर्माणको ठेक्का लिएको मार्गादेवी निर्माण सेवाले २८ प्रतिशत काम गरेर बीचमै छाडेको छ ।
गत २० असारमै म्याद सकिएको कालीकोटको पताला–९ को दाम्रीगाड पक्की पुलको काम ३५ प्रतिशतमात्र काम सकिएको छ । यसको ठेक्का गलवा/जगदम्बा/सुपरस्टार जेभीले लिएको थियो । जारकोटमा पक्की पुल निर्माणको ठेक्का लिएको हिराचन/कारभान/सुपरस्टार जेभीले ठेक्का लिएकामा हालसम्म २५ प्रतिशतमात्र प्रगति भएको छ । जबकि यसको थपिएको म्यादसमेत गत ३० जेठमै सकिएको छ ।
यस्तै, विरूवा सिद्धान्त शृंगेश्वर जेभीले जिम्मा लिएको दैलेख सदरमुकामदेखि नौमुले गाउँपालिका–१ देखि ४ हुँदै जुनी जाजरकोट जोड्ने सडक, मोतिदान–लाल सुभ–मेन्द्रो जेभीले जिम्मा लिएको सांगेतडा–ब्रिन्दासैनी–चामुण्डा सडक, वाइबा र लामा/लोपूर्ण जेभीले लिएको कोप्ची कट्टी बेस्तडा रूम चौराठा देउली दैलेख सडक, नाना निर्माणले लिएको सान्ताडा मेहलतोली पातिहाल्ना जाजरकोट सडक समेत अलपत्र पारेर काम रोकिएको छ । यस्तै रबट छामघाट खोला पक्की पुल निर्माणको काम जलजला जय मा स्वर्गद्वारी जेभीले लिएर अलपत्र पारेको छ ।
सुर्खेतमा बड्डीचौर बिम्रेनी बाबियाचौर विद्यापुर सडक अनक/जयदेवी जेभीले, रानीघाट तेलपानी भुरीगाउँ सडक थोदुंगजा/गृति जेभीले अलपत्र पारेका छन् । यति मात्रै होइन, पटक–पटक म्याद थप गर्दा पनि ठेकेदारले प्रदेशमा विभिन्न जिल्लाका गरी दर्जनौँ आयोजना अलपत्र पारेका छन् । काम सक्न ताकेता गर्दा पनि ठेकेदारहरू फोन अफ गरेर बसेको पाइएको छ । अब एक पटकलाई काम सक्ने मौका दिएको र तुरुन्तै काम सुचारु नगरे ठेक्का तोडेर नयाँ विकल्पमा जान बाध्य हुने मन्त्री बुढाले बताएका छन् ।
प्रतिक्रिया