एरेञ्जर आफैँमा एक कुशल संगीतकार पनि हो । जसको दोहोरो भूमिका रहन्छ, संगीतलाई फूलबुट्टा भर्ने र सजाउने काम गर्छ । एरेञ्जरसँग परम्परागत कला र संस्कृतिको ज्ञान अत्यावश्यक हुन्छ ।
काठमाडौँ । एउटा गीत सफल हुनमा धेरैको मिहिनेत परेको हुन्छ । संगीतकारले धुन बनाएर मात्र र गायकगायिकाले स्वर भरेर मात्र गीतले पूर्णता पाउँदैन । कोरा धुनलाई प्रविधि प्रयोग गरी शृंगार गर्ने सन्दर्भमा संगीत संयोजनको महत्वपूर्ण भूमिका रहन्छ । ‘एरेञ्जर आफैँमा एक कुशल संगीतकार पनि हो । जसको दोहोरो भूमिका रहन्छ, संगीतलाई फूलबुट्टा भर्ने र सजाउने काम गर्छ । एरेञ्जरसँग परम्परागत कला र संस्कृतिको ज्ञान अत्यावश्यक हुन्छ । संगीत संयोजनमा राम्रो ज्ञान भएका अहिलेका चल्तिका एरेञ्जर हुन् मदन नेपाली ।
आधुनिक, पप, लोकपप, लोकलगायत सबै शैलीका गीतमा संगीत भर्न सिपालु मदन नेपाली आफूले ३०० भन्दा बढी गीतमा संगीत र ८०० भन्दा बढी गीतमा संगीत संयोजन गरिसकेको बताउँछन् । बहुआयामिक व्यक्तित्व मदनले २ दर्जनभन्दा बढी गीतमा स्वर दिएका छन् भने केही गीतसमेत आफैँले सिर्जना गरेका छन् ।
२०७४ सालमा दीपक सिलवालको शव्द र संगीतमा रहेको आधुनिक गीत ‘खोजिरहेछु’ मा स्वर दिएर संगीतिक यात्रा सुरु गरेका मदन ‘सुफिक्स’ आज यस क्षेत्रमा म्युजिक कम्पोजर एवं म्युजिक एरेन्जरको रूपमा स्थापित भएका छन् । विशेषतः आफूलाई कम्पोजरभन्दा पनि संगीतकारको रूपमा नै आफूलाई चिनाउन चाहेको उनले बताए । संगीत क्षेत्रका अन्य विधामा काम गरे पनि मुख्य विधा संगीत सिर्जना नै हो भएको उनी बताउँछन् ।
सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका स्थानीय वासिन्दा मदनले गाउँकै श्री आनन्द उच्च माध्यमिक विद्यालयबाट ‘प्लस टू’ सम्मको अध्ययन पूरा गरेका हुन् । सानै उमेरदेखि गीत, संगीतप्रति गहिरो झुकाव र लगाव भएका मदन स्थानीय स्तरमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरूमा प्रस्तुति दिनेहरू मध्येमा अब्बल मानिन्थे ।
नेपाली संगीत क्षेत्रका स्थापित संगीतकार एवं संगीत संयोजक मदन नेपालीका ‘सखर चिनी’, ‘आउँछ झल्को,’ ‘ओई’, ‘गनगन,’ ‘सेतोसेतो कमेरो माटो’, ‘लाग्छ माया लाग्दैन भन्दिन’, ‘सनम’, ‘गनगन–२’ लगायतका दर्जनौैँ गीतहरू अहिले पनि चर्चामा छन् । उनको कामको मूल्यांकन गर्दै विभिन्न समयमा आयोजना भएका राष्ट्रिय काँठे लोकदोहोरी अवार्ड, लालीगुराँसको स्रष्टा सम्मान, उपमा दसक स्रष्टा सम्मान, डाइमन्ड म्युजिक अवार्ड, गौतम बुद्ध अवार्ड र चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेका छन् । यस क्षेत्रमा अझै सक्रिय भएर अगाडि बढ्ने र थप नयाँ मौलिकपनका गीत सिर्जना गर्ने उनको भनाई छ ।
प्रतिक्रिया