कर्णाली याक्सको आफ्नो तेस्रो खेलमा चितवन राइनोजलाई हराउँदै पहिलो जित

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले आफ्नो तेस्रो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै पहिलो जित हात पारेको छ ।

जारी सिरिजको शुक्रबारको पहिलो खेलमा तेस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा कर्णाली याक्सले चितवनले दिएको १३१ रनको लक्ष्य १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।

कर्णालीका लागि ओपनर शिखर धवनले सर्वाधिक ४६ रन जोडे । उनले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे । लगातार दोस्रो अर्धशतक बनाउन चुकेका धवन जान निकोल लफ्टी इटनको बलमाकट एण्ड बोल्ड भए ।

चाल्डिक वाल्टन रवि बोपाराको बलमा एलबिडब्लु भए । एलबिडब्लु आउट हुनु अघि उनले १९ बलमा ३ छक्काको सहयोगमा ३० रन जोडे । अर्का ओपनर देव खनालले ३४ बलमा १ चौका र १ छक्काको सहयोगमा २५ रनमा आउट भए ।

देव कुशल मल्लको बलमा एलबिडब्लु आउट भए । अन्तिम ओभरमा जितका लागि ९ रन आवश्यक रहेकोमा कर्णालीका अर्जुन घर्तीले ६ तथा जिशान मक्सुदले ४ रन प्रहार गरेर कर्णालीलाई पहिलो जित दिलाए । चितवनका लागि रवि बोपारा, कुशल मल्ल र जान निकोल लफ्टी इटनले समान १ विकेट लिए ।

त्यसअघि टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३१ रनको सामान्य योगफल तयार गरेको थियो ।

चितवनका रवि बोपारले सर्वाधिक ५९ रन जोडे । उनले ४० बलमा ७ चौका र १ छक्काका प्रहार गरेका थिए । लिगमा लगातार दोस्रो अर्धशतक बोपाराले ३५ बलमा पूरा गरेका थिए ।

गत मंगलबार भएको पोखरा एभेन्जर्सविरुद्धको खेलमा पनि बोपाराले अर्धशतक बनाएका थिए । एनपिएलमा लगातार अर्धशतक बनाउने बोपारा पहिलो खेलाडी हुन् ।

कप्तान कुशल मल्लले २७ बलमा २ चौका र १ छक्काको सहयोगमा २३ रन बनाए । ठूलो सट खेल्ने प्रयासमा कुशल जिशान मक्सुदको बलमा बाउन्ड्रिमा गुलशन झाबाट समातिए ।

विपिन रावलले १५ बलमा ११ रन जोडे । विपिन जिशान मक्सुदको बलमा बोल्ड आउट भए । १७औँ ओभरमा युवा बलर विपिन शर्माले २ विकेट लिएसँगै कर्णाली खेलमा पुर्ण रुपमा हाबी भएको थियो । कर्णालीका लागि विपिन शर्माले ४ ओभरमा २१ रन खर्चिएर ३ विकेट लिए ।

जिशान मक्सुद र सोमपाल कामीको नाममा समान १ विकेट रह्यो । तेस्रो पहिलो जित हात पारेको कर्णालीको २ अंक भएको छ । तेस्रो खेलमा चितवनको भने यो पहिलो हार हो । आजै हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीचमा खेल हुनेछ ।

प्रतिक्रिया