काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्स उत्कृष्ट लयमा रहेको छ । लगातार तेस्रो जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित ग¥यो । पोखरा भने लगातार दोस्रो खेलमा पराजित भयो । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार भएको पहिलो खेलमा पोखराले दिएको १३९ रनको सामान्य लक्ष्य जनकपुरले ३ विकेटको क्षतिमा १७ दशमलव १ ओभरमै पूरा गरेको हो । जनकपुरका लागि अलराउन्डर जिमी निशमले नटआउट ४० रन जोडे । उनले २० बलमा ५ छक्का प्रहार गरे । क्यानेडियन अलराउन्डर हर्ष थाकरले नटआउट १३ रन बनाए ।
ओपनर तथा कप्तान अनिलकुमार साह १ रनमा आउट भए पनि अर्का ओपनिङ ब्याटर आसिफ शेखले ३४ बलमा ३३ रन जोडे । उत्कृष्ट लयमा रहेका लाहिरू मिलान्थाले माइकल लिक्सको बलमा सागर ढकालबाट क्याच हुनुअघि ३२ बलमा ८ चौका प्रहार गर्दै ४५ रनको योगदान गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले ७ विकेटको क्षतिमा १३८ रन जोड्यो । पोखराका ब्याट्सम्यान दोस्रो खेलमा पनि निष्प्रभावी रहे । ओपनिङमा आएका दिनेश खरेलले १० रन जोड्न सके । न्युजिल्यान्डमा बसेर त्यहाँको घरेलु क्रिकेट खेल्ने उनी पाँचौँ ओभरको अन्तिम बलमा जिमी निमशको बलमा क्याच भए । अर्का ओपनर आन्द्रेस गौसले २० रन जोडे । अमेरिकी ब्याटर आन्द्रेसलाई १६ बलमा ३ चौका र १ छक्का प्रहार गरेको अवस्थामा ललित राजवंशीले आउट गरे ।
कप्तान कुशल भुर्तेल दोस्रो खेलमा पनि चल्न सकेनन् । उनी ६ रनमा स्टमपिन भए । दिलीप नाथले मोहमद मोसिनको एलबिडब्लूको धरापमा पर्नुअघि ११ रन जोडे ।
मार्कस क्रिचलीले ३५ रन जोडेपछि पोखराको स्कोर बढेको थियो । उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरे । १९औँ ओभरमा जिमी निशमको बलमा अनिलकुमार साहबाट क्याच हुनुअघि रेमन्ड राइफरले २० बलमा १७ रन जोडे ।
अन्तिम ओभरमा आउट भएका स्कटिस अलराउन्डर माइकल लिस्कले १३ बलमा २५ रन जोडे । अन्तिम ओभरको सुरुआती ३ बल डट खेलेपछि उनलाई किशोर महतोले आसिफ शेखबाट क्याच गराए ।
जनकपुरका ललित राजवंशीले ३ विकेट लिए । उनले ४ ओभरमा ३१ रन खर्चिए । जिमी निशमले २ विकेट लिने क्रममा २९ रन दिए ।
नरेनको स्पिन जादुले सुदूरपश्चिमको दोस्रो जित
नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्स लगातार दोस्रो खेलमा विजयी भएको छ । सुदूरपश्चिमले बिहीबार भएको दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले पराजित गरेको हो । काठमाडौँको भने यो दोस्रो हार हो । यसअघिका २ खेलमा काठमाडौँले १ खेलमा पराजयको सामना गरेको थियो भने अर्को खेलमा जित हात पारेको थियो ।
सुदूरपश्चिमले दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमाडौँले १५ दशमलव ५ ओभरमा ९४ रन जोड्दै सम्पूर्ण विकेट गुमाएको हो । सुदूरपश्चिमका युवा स्पिनर नरेन साउदले ५ विकेट लिएपछि काठमाडौँ कमजोर स्कोरमा अलआउट भएको हो । काठमाडौँका लागि स्टेफन स्किनाजीले सबैभन्दा बढी ३७ रन जोडे । उनले नरेन साउदको बलमा इशान पाण्डेबाट क्याच हुनुअघि ३३ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।
काठमाडौँका ओपनर चल्न सकेनन् । ओपनरद्वय माइकल लेभिट ५ रन र शंकर राना ३ रनमा आउट भए । भीम सार्की र गेराल्र्ड इरासमस १०–१० रन जोडेर आउट भए । सुमित महर्जन पनि १४ रन जोडेर आउट भएपछि काठमाडौँ दबाबमा आएका थिए ।
प्रतिक श्रेष्ठ ८ रन र कप्तान करण केसी १ रनमा आउट भएपछि काठमाडौँ हार नजिक पुगेको थियो ।
बलिङमा सुदूरपश्चिमका नरेन साउदले ५ विकेट लिए । भरखरै यू–१९ टोलीबाट एसिया कप खेलेर आएका उनले ३ दशमलव ५ ओभरमा १९ रन खर्चिए । अभिनास बोहराले २ विकेट लिए । उनले ३ ओभरमा १ मेडन राख्दा १२ रन मात्र दिए ।
त्यसअघि काठमाडौँ गुर्खाजविरूद्ध सुदूरपश्चिम रोयल्सले ६ विकेटको क्षतिमा १६७ रन जोड्यो । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि स्कटिस ब्याट्सम्यान ब्रान्डन मक्मलेनले अर्धशतक प्रहार गरे । उनले ३६ बलमा ५३ रन प्रहार गरे । त्यसका लागि उनले ३ चौका र ४ छक्का प्रहार गरे ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले जोडेको ४३ रन पनि महत्वपूर्ण सावित भयो । १९औँ ओभरमा काठमाडौँका करण केसीको बलमा क्याच हुनुअघि दीपेन्द्रले २५ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
ओपनिङमा आएका सइफ जबइले ११ रन मात्र जोड्नसके । उनी दोस्रो ओभरको अन्तिम बलमा काठमाडौँका रसिद खानबाट बोल्ड भएका थिए । अर्का ओपनिङ ब्याटर विनोद भण्डारीले भने २८ बलमा ३५ रन बनाए । शाहब आलमको एलबिडब्लूको धरापमा पर्नुअघि उनले २ चौका र २ छक्का प्रहार गरेका थिए ।
भण्डारी र ब्रान्डनबीच दोस्रो विकेटका लागि ८६ रनको साझेदारी हुँदा सुदूरपश्चिमको रनले गति लियो । रोहन मुस्ताफ भने ४ रनमा रसिद खानबाट बोल्ड भए । आरिफ शेख भने रनआउट भए । दीपेन्द्रसिंह ऐरीसँग समन्वय मिल्न नसक्दा उनी ३ रनमा आउट हुन पुगेका थिए । स्कट कुगेलेइनले नटआउट ७ रन जोडे । ११ ओभरमा ९९ रन जोडेको सुदूरपश्चिमले बाँकी ९ ओभरमा ६८ रन मात्र जोड्न सक्यो । बलिङमा काठमाडौँका रसिद खानले २ विकेट लिए । उनले ४ ओभरमा २० रन दिए । करण केसी, शाहब आलम र गेराल्ड इरासमसले १–१ विकेट लिए ।
प्रतिक्रिया