कष्णभुषण बल सिर्जना पुरस्कार पाँचथरका साहित्यकार ओझालाई

पाँचथर । फिदिम नगरपालिका– २ निवासी पाँचथरे साहित्य कार प्रेम ओझा लाइ कृष्ण बल सिर्जना पुरस्कार प्रदान गरिने भएको छ । त्यस्तै कृष्णभुषण बल स्मृति प्रतिष्ठान विराटनगरले २०८० सालको तीन पुरस्कार सम्मानको घोषणा गरेको छ । प्रतिष्ठानले कृष्णभुषण बल स्मृति सिर्जना पुरस्कार कवि तथा गीतकार शिवशंकर थापालाई प्रदान गर्ने निर्णय गरेको हो ।

पाँच दशकदेखि नेपाली साहित्यको गीत विधामा दिएको योगदानका लागि थापालाई उक्त पुरस्कार दिइने निर्णय गरिएको हो । उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ । यसअघि यो पुरस्कारबाट साहित्यकारहरू जसराज किराती, श्यामल, मन्जु काँचुली, बम देवान, नारायण तिवारी, गणेश रसिक, भागिरथी श्रेष्ठ, विष्णुविभु घिमिरे, दिनेश अधिकारी र शैलेन्द्र साकार सम्मानित भएका थिए ।

यसैगरी २०८० सालको कृष्णभुषण बल स्मृति सिर्जना विशेष सम्मान, कवि तथा गजलकार, अग्रज पत्रकार, अधिकारकर्मी प्रेम ओझालाई र कृष्णभुषण बल स्मृति युवा सिर्जना पुरस्कार कवि शुभलक्ष्मी लम्साललाई प्रदान गरिने भएको छ । नेपाली साहित्यको कविता र गजल विधामा दिएको योगदानका लागि ओझा र लम्साललाई उक्त पुरस्कार सम्मान प्रदान गरिने निर्णय गरिएको हो ।

यी पुरस्कारबाट यसअघि कविहरू कविराज पोखरेल, सुदीप पाख्रिन, निमेष निखिल, डा. गीता त्रिपाठी, सगुन सुसारा, डा. सुधा एम राई, सगुन सुसारा, विवश बलिभद्र कोइराला, रोशन परियार, उमेश लुइँटेल पुरस्कृत भइसकेका छन् । सम्मान र पुरस्कारको राशि जनही क्रमशः १५ हजार र ११ हजार रुपैयाँ रहेको छ ।

प्रतिष्ठानका उपाध्यक्ष केशव आचार्यको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले पुरस्कारको निर्णय गरेको हो । पुरस्कार सम्मान आगामी माघ २६ गते शनिबार विराटनगरमा विशेष कार्यक्रम आयोजना गरी सम्बन्धित स्रष्टालाई हस्तान्तरण गरिने प्रतिष्ठानका महासचिव विवस पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया