सिओल । दक्षिण कोरियाका राष्ट्रपति युनसुक योलविरुद्ध महाअभियोग दर्ता गरिएको छ । दक्षिण कोरियाका विपक्षी दलहरूले राष्ट्रपतिलाई महाअभियोग लगाउने विधेयक पेस गरेका हुन् । संसद्मा रहेका मुख्य विपक्षी डेमोक्रयाटिक पार्टीलगायत ६ वटा दलले योलको अल्पकालीन ‘मार्सल ल’ डिक्रीलाई लिएर राजनीतिक तहमा व्यापक आलोचना भएपछि संयुक्त रूपमा महाभियोग प्रस्ताव प्रस्ताव गर्ने निर्णय गरेका हुन् ।
उक्त विधेयक व्यवस्थापिका राष्ट्रियसभामा पेस गरिएको छ । दक्षिण कोरियाको संविधानअन्तर्गत संसद्का बहुमत सदस्यले महाअभियोग प्रस्ताव गर्न सक्नेछन् भने अनुमोदन हुन दुई तिहाइ सांसदले मत दिनुपर्ने हुन्छ । त्यसपछि सर्वोच्च अदालत र संवैधानिक अदालतका कम्तीमा ६ जना न्यायाधीशको इजलासले महाअभियोगको फैसला गर्नुपर्ने कानुनी व्यवस्था छ ।
राष्ट्रपति योलले मंगलबार आपत्कालीन सैन्य कानुन (मार्सल ल) घोषणा गरेका थिए । सांसदहरूले मार्सल लविरुद्ध संसद्मा प्रस्ताव पारित गरेर त्यसलाई उल्टाउने घोषणा गरेपछि राष्ट्रपति युनले सेनालाई संसद् भवन पठाएर कब्जा गर्न लगाएका थिए ।
राष्ट्रपति योलले बजेट विधेयकमा संसदीय संघर्षका बीच ‘साम्यवादी शक्तिहरू’ बाट देशको रक्षा गर्न यो कदम आवश्यक रहेको बताएका थिए । यद्यपि राष्ट्रपतिको सैनिक कानुन घोषणाको निर्णय २ घन्टा पनि टिक्न सकेन । २ घन्टा पनि कम समयको अन्तरमा संसद्ले त्यसलाई गलत ठहर गर्दै उल्ट्याउन निर्देशन दिएको थियो । त्यसपछि फेरि विशेष सम्बोधन गर्दै राष्ट्रपति योलले मार्सल ल लगाउने निर्णय फिर्ता लिएको बताएका थिए । उनले संसद्ले मार्सल ल हटाउन माग गरेकाले आफूले सेनालाई फिर्ता बोलाएको बताए । उनले भने, ‘मैले नेसनल एसेम्बलीको अनुरोधलाई स्वीकार गरेको छु र मन्त्रिपरिषद् बैठकमार्फत् मार्सल ल हटाउनेछु ।’
संसद्मा दर्ता भएको महाअभियोग पास हुन ३०० मध्ये २०० सांसदको मत आवश्यक पर्छ । सो महाअभियोगमाथि शुक्रबार या शनिबार मात्र मतदान हुने बताइएको छ । योलविरुद्ध महाअभियोग दर्ता भएपछि मन्त्रिमण्डलमै उनको विरुद्धमा आवाज उठ्न थालेको छ । रक्षामन्त्री किम योङ हुनले महाअभियोग दर्ता भएपछि राष्ट्रपतिले राजीनामा दिनु उपयुक्त भएको बताए । किमले राष्ट्रपतिले सैनिक शासन लागू गर्नुमा आफू पनि जिम्मेवार भएको बताउँदै माफीसमेत मागेका छन् । विपक्षी दलले भने रक्षामन्त्री माथि पनि अभियोग लगाइने जनाएको छ । किमले भने राजीनामा दिइसकेका छन् । राष्ट्रपति योलको राजीनामा माग गर्दै बुधबार दिनभर प्रदर्शन भएको छ ।
अहिले देशभर उनको विरुद्धमा प्रदर्शन भए पनि केही विशिष्ट व्यक्ति भने योलको पक्षमा उभिएका छन् । यसरी उनको पक्षमा उभिनेमा दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री ह्वाङ क्यो हानसमेत छन् । उनले त्यहाँको संसद्का सभामुखलाई गिरफ्तार गर्ने सल्लाहसमेत दिएका थिए । उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) ले भने दक्षिण कोरियाको गतिविधिलाई निगरानीपूर्वक हेरिरहेको जनाएको छ । नाटोका महासचिव मार्क रुटले दक्षिण कोरियाका हरेक घटनालाई पाइलैपिच्छे नियालिरहेको बताएका छन् ।
राष्ट्रपति योलले उत्तर कोरियाबाट खतरा भएको भन्दै सैनिक शासनको घोषणा गरेपछि दक्षिण कोरियाको घटनाक्रम तीव्र गतिमा विकास भइरहेको छ ।संसारका धेरै शक्ति केन्द्रले सो घटनालाई चासोपूर्वक हेरेका छन् । बुधबार नै दक्षिण कोरियाली प्रधानमन्त्री हाङ डोक सोल र अन्य अधिकारीहरू दिनभर बैठकमा व्यस्त रहे । सो बैठकको सार भने समाचारमा आएको छैन ।
सन् १९८० मा आधुनिक प्रजातन्त्रको अभ्यास गरेयता दक्षिण कोरियाली राष्ट्रपतिमाथि महाअभियोग लगाइएको यो पहिलो घटना भने होइन । राजनीतिमा कमै चिनिएका योल सन् २०२२ मा राष्ट्रपति पदमा निर्वाचित भएका थिए । योल तिनै व्यक्ति हुन्, जसले सन् २०१६ मा महाअभियोग लगाइएका पूर्वराष्ट्रपति पार्क ज्युन हाईविरुद्ध अभियान नै छेडेका थिए । पार्कले भ्रष्टाचार गरेको अभियोग लगाउने सांसदहरूको नेतृत्व उनै योलले गरेका थिए ।
प्रतिक्रिया