रेडियो नेपालका समाचारवाचक अर्याल सम्मानित

काठमाडौँ । ३३औँ अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा रेडियो नेपालको समाचार महाशाखामा कार्यरत समाचारवाचक कुशल अर्याल सम्मानित भएका छन् । उनीसँगै रेडियो नेपालकी कार्यक्रम प्रस्तोता विद्या चौधरी र नेपालगन्जका पत्रकार नमस्कार शाह पनि सम्मानित भएका छन् ।

विगत लामो समयदेखि सञ्चार माध्यममा अपांगता भएका व्यक्तिहरूको सवाललाई उजागर गरी अपांगता समावेशी विकासमा पुर्याउँदै आएको योगदान स्वरूप आफू सम्मानित भएको समाचारवाचक अर्यालले बताए ।

मंगलबार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा भृकुटीमण्डपमा आयोजित मूल समारोहमा मन्त्री नवलकिशोर शाह सुडीले उनीहरूलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । सो अवसरमा अपांगता भएका व्यक्तिहरूको सवालमा काम गर्ने विभिन्न संघ–संस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको छ ।

पाल्पाको विकट क्षेत्र मानिने निस्दी गाउँपालिकामा जन्मिएका समाचारवाचक अर्याल आफैँ शारीरिकरूपमा अशक्त भए पनि आफूले निरन्तर पत्रकारिता एवं अपांगता भएका व्यक्तिहरूको अधिकारका लागि आवाज उठाउँदै आएको अर्यालले बताए । अर्यालले यसअघि प्रेस काउन्सिल नेपालमा मिडिया अनुगमन फाँटमा रहेरसमेत काम गरेका थिए ।

प्रतिक्रिया