विवाह पञ्चमीका दिन तीर्थालुले जनकपुरका गंगा सागर, धनुष सागर र अरगजा सागर लगायतका धार्मिक एवं पवित्र पोखरीहरूमा स्नान गरी जानकी मन्दिर, राम मन्दिरलगायत विभिन्न मन्दिरहरूको पूजा, अर्चना गर्दछन् । बेलुकीपख स्थानीय रंगभूमि मैदानमा आयोजना गरिने रामजानकी स्वंयम्बर समारोहमा असंख्य भक्तजनहरूको भेला हुन्छ । उक्त अवसरमा भारतको अयोध्या राममन्दिरबाट जन्तीका रूपमा आएका साधु–सन्तहरू, ऋषि, मुनि, महन्त पनि आउँछन् ।
यस वर्षको विवाह पञ्चमी २१ मंसिरमा परेको छ । नेपालमा मनाइने सबैभन्दा पुरानो चाड पर्वमध्ये एक हो विवाह पञ्चमी । त्रेतायुगमा अध्योध्याका राजा दशरथका पुत्र रामचन्द्र्र र जनकपुरका राजा जनककी पुत्री सीताको विवाह जनकपुरधामको विवाह मण्डपमा भएको थियो । अहिले पनि विवाह महोत्सवको गहिरो सम्झना दिलाउन विभिन्न किसिमका धार्मिक विधिबाट यो पर्व सम्पन्न गरिन्छ । यस पर्वका वेला छिमेकी मुलुक भारतका बिहार, उत्तरप्रदेश, मध्यप्रदेश, पश्चिम बंगाल, राजस्थान आदि ठाउँबाट लाखौँको संख्यामा श्रद्धालु भक्तजनहरूको भिड लाग्ने गर्दछ ।
विवाह पञ्चमीका दिन तीर्थालुले जनकपुरका गंगा सागर, धनुष सागर र अरगजा सागर लगायतका धार्मिक एवं पवित्र पोखरीहरूमा स्नान गरी जानकी मन्दिर, राम मन्दिरलगायत विभिन्न मन्दिरहरूको पूजा, अर्चना गर्दछन् । बेलुकीपख स्थानीय रंगभूमि मैदानमा आयोजना गरिने रामजानकी स्वंयम्बर समारोहमा असंख्य भक्तजनहरूको भेला हुन्छ । उक्त अवसरमा भारतको अयोध्या राम मन्दिरबाट जन्तीका रूपमा आएका साधु–सन्तहरू, ऋषि, मुनि, महन्त पनि आउँछन् ।
तत्कालीन मिथिलाका राजा जनकको राज्यमा भोकमरी परेको थियो । त्यसबेलाका ऋषिमुनिहरूको राय सल्लाह अनुसार राजर्षि जनकले हलो जोत्नुभएकोे थियो । उहाँले हलोे जोत्दा जोत्दै हलोको सियोबाट एक सुयोग्य कन्याको उत्पत्ति भयो । तीनै कन्यालाई जानकी भनिन थालियो । ती कन्या पनि बिस्स्तारै किशोरी अवस्थामा पुगिन् । एकदिनको कुरा होे पूजा कोठाको शिवधनुष जानकीले एक हातले उठाएर भुइँ पुस्दै गरेको देखेर राजा छक्क परे । उनले यिनी सामान्य नारी होइनन्, यिनको लागि त वीर पुरुष नै वर आवश्यकता पर्दछ भन्ने कुरा विचार गरी एउटा प्रस्ताव राखे । जसले यिनीसँग विवाहको प्रस्ताव राख्न आउँछ उसले शिवधनुष उठाएर भाँच्न सकोस् । त्यस्तो व्यक्तिसँग मात्र यिनको विवाह योग्य हुन्छ भन्ने प्रस्ताव राखेर यो कुरा सवै ठाउँमा प्रचार प्रसार गर्न लागे ।
आफ्नो प्रतिज्ञा अनुसार जानकीको वर चयन गर्न जो कोही आएमा उसले शिवधनुष भाँच्न सक्ने प्रस्तावअनुसार धनुषयज्ञको आयोजना गरे । उक्त यज्ञमा भाग लिन देश विदेशबाट राजा, रजौटा, महाराजा, राजकुमार, वीर, पुरुषहरूको आमन्त्रण गरियो । त्यसै समयमा गुरुकुलमा शिक्षा आर्जन गर्न आएका अयोध्याका राजा दशरथका छोराहरू रामचन्द्र र लक्ष्मणको पनि उपस्थिति थियो । यसरी जानकीको स्वयम्बरको तयारी पूरा सहरभरि नै हल्लाखल्ला चलेको थियो । त्यसबेला जनकपुर नगरीमा खुसियाली छाएको थियो । पृथ्वीभरीका राजकुमारहरू त्यहाँ जम्मा भएका थिए । विश्वामित्रले राम र लक्ष्मण राजकुमार भएको र उनीहरू पनि स्वयम्बरमा भाग लिन आएको खबर राजा जनकलाई दिए । अरू राजकुमार जस्तै राम र लक्ष्मणलाई पनि भब्य स्वागत भयो । त्यसपछि स्वयम्बरको बेला सुरु भयो । त्यहाँ उपस्थिति भएका विभिन्न राजकुमारहरू थिए । त्यसपछि राजा जनकले शिव धनुषको बारेमा सबैलाई जानकारी गराए । जसले शिवधनुषलाई उठाएर ताँदो राख्न सक्छ उसैलाई मेरी छोरी सीताको विवाह गरिदिनेछु भन्ने प्रतिज्ञा गरे ।
यो कुरा सुनेर सबै वीरहरूले आ–आफ्नो बुद्धि, ज्ञान अजमाए तर धनुषलाई डगाउन पनि कसैले सकेन । त्यसपछि विश्वामित्रले रामलाई धनुष चलाउने आज्ञा दिए । गुरुको आज्ञालाई शिरोधार गरी श्रीरामले धनुष उचालेर ताँदो चढाउन लाग्दा धनुष भाँचिएर ३ टुक्रा भयो । यस बीचमा लक्ष्मण र परशुरामको ठूलो विवाद पनि भयो । तर रामले दुबैलाई शान्त पारे । परशुरामको शक्ति खिचेर आफूले थिए । त्यसपछि जानकीले रामलाई नै वरमाला पहिराइन् । त्यसपछि राजाले मार्ग शुक्ल पञ्चमीको शुभलग्नका दिन अयोध्याबाट जन्तीका साथ आउनुभएका भगवान् राम र सीताको विवाह सुसम्पन्न गरी दिनुभयो । केही दिन मिथिलामा बसेपछि राजा जनकले राम, लक्ष्मण र सीतालाई ठूलो सम्मानका साथ बिदाइ गरे । त्यसैको सम्झनामा अहिले पनि विवाह पञ्चमी पर्व निरन्तर मनाउँदै आइएको छ ।
विश्वको एक मात्र हिन्दू राष्ट्र नेपाल हो । हाम्रो देशमा धार्मिक एवं सांस्कृतिक विविधता रहेको छ । यहाँ भिन्नभिन्न जातजाति र धर्मका मानिस बस्दै आएका छन् । विभिन्न धर्म मान्ने मानिसहरू विभिन्न चाडपर्व मनाउँछन् । त्यसमध्ये विवाह पञ्चमी मेला पनि एक हो । यो चाड विशेषगरी जनकपुरधाममा मनाउने गरिन्छ ।
प्रत्येक जात्रा तथा मेलाको आफ्नै विशेषता र महत्व हुन्छ । प्रत्येक वर्ष मार्ग शुक्ल पञ्चमीका दिन जनकपुर धाममा मनाइने विवाह पञ्चमी मेला हो । यस मेलामा नेपालको मात्र नभएर छिमेकी मित्रराष्ट्र« भारतबाट हजारौँ श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्र र आदर्श नारी सीताको विवाह महोत्सवका रूपमा मनाइने विवाह पञ्चमी मेला अरू ठाउँमा समेत मनाइने भए पनि जनकपुरधाममा लाग्ने मेला विशेष प्रकारको हुन्छ ।
विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगरदर्शन कार्यक्रम आयोजना गरिन्छ । भगवान् राम त्रेता युगमा आफ्ना गुरु महर्षि वशिष्ठका साथ जनकपुर आएका बेलालाई सम्झना गर्दै नगरदर्शन कार्यक्रम गर्ने गरिन्छ । दोस्रो दिन फूलबारी लीला मनाइन्छ । जसमा भगवान् राम र सीताको पहिलो भेट फूलबारी (फूलको बगैँचा) मा भएको स्मरणमा फूलबारी लीला गरिन्छ । तेस्रो दिन धनुष यज्ञ मनाउने गरिन्छ । राजा जनकले छोरी सीताको विवाहका लागि निकै महत्वपूर्ण सर्त राखेका थिए । जसअनुसार जनकसँग भएको भगवान् शिवको धनुष उठाएर प्रत्यन्चा चढाउन सफल हुने महापुरुषसँग नै सीताको विवाह गर्ने तय गरिएको थियो ।
त्यसरी नै महोत्सवको चौथो दिन बुधबार तिलकोत्सव कार्यक्रमको आयोजना हुन्छ । राम र सीताको विवाह तय गर्न दुवै पक्षका अभिभावकहरूको सहभागितामा रामलाई तिलक चढाउने अर्थात् कोसेलीहरू दिने परम्परा रहिआएको छ । यस कार्यक्रमको आयोजना राम मन्दिर परिसरमा गरिन्छ । पाँचौँ दिन मटकोर मनाइन्छ । मूलतः पवित्र गंगासागर पोखरीबाट माटो र जल ल्याएर माता सीताको विवाह मण्डपलाई शुद्ध पार्ने काम हुन्छ । पाँचौँ दिन रामसीताको स्वयम्बरपश्चात् जानकी मन्दिरको प्रांगणमा बनेको भव्य मण्डपमा विवाह गरिन्छ । त्यसपछि विवाहको अर्को दिन रामका जन्तीहरूको बिदाइ कार्यक्रम अर्थात् रामकलेवा गरिसकेपछि महोत्सवको समापन हुन्छ ।
समग्रमा भन्नुपर्दा चाडपर्व र संस्कृतिमा बाहुल्य रहेको हाम्रो देशमा प्रत्येक दिनजसो एक न एक पर्व, चाड, उत्सव या मेलाहरू परेको नै हुन्छ । विवाह पञ्चमी अहिलेसम्म पनि हिन्दू धर्माबलम्बीहरूले मनाउँदै आएका छन् । अरू सामान्य व्यक्तिले पनि यस दिनलाई शुभ मुहूर्तको रूपमा विवाह गर्ने चलन अद्यावधिक रहेको छ । यस दिन विवाह गर्न कुनै पनि बर बधुले साइत जुराई रहनु आवश्यकता पर्दैन । यो शुभ दिन नेपाललगायत छिमेकी मुलुक भारतका विभिन्न भागमा बसोबास गर्ने हिन्दू धर्माबलम्बीहरूले विवाह गर्दछन् । यसैले यस महान दिनलाई विवाह पञ्चमीको रूपमा नेपाललगायत विश्वका समस्त हिन्दूहरूले धुमधामका साथ मनाउने गर्दछन् ।
प्रतिक्रिया