दक्षिण कोरियामा सैन्य कानुन लागू

सिओल । दक्षिण कोरियाका राष्ट्रपति युनसुक येओलले मंगलबार आपत्कालीन सैन्य कानुन (मार्सल ल) घोषणा गरेका छन् । राष्ट्रपतिले सैन्य कानुन लागू गरेसँगै सेनाले यहाँको संसद् भवन आफ्नो कब्जामा लिएको छ । सांसदहरूले मार्सल लविरूद्ध संसदमा प्रस्ताव पारित गरेर त्यसलाई उल्टाउने घोषणा गरेपछि राष्ट्रपति युनले सेनालाई संसद् भवन पठाएका हुन् ।

राष्ट्रपतिले बजेट विधेयकमा संसदीय संघर्षका बीच ‘साम्यवादी शक्तिहरू’ बाट देशको रक्षा गर्न यो कदम आवश्यक रहेको बताएका छन् । ‘उत्तर कोरियाका साम्यवादी शक्तिद्वारा निम्त्याइएका खतराबाट उदार दक्षिण कोरियालाई संरक्षण गर्न र विरोधी राज्य तत्वहरूलाई उन्मूलन गर्न… आपत्कालीन सैन्य कानुन घोषणा गर्दछु,’ युनले राष्ट्रका नाममा सम्बोधन गर्दै भने, ‘जनताको जीविकोपार्जनलाई कुनै ध्यान नदिई विपक्षी पार्टीले महाभियोग, विशेष अनुसन्धान र आफ्नो नेतालाई न्यायबाट जोगाउनका लागि मात्र शासनलाई कमजोर बनाएको छ ।’

पिपुल पावर पार्टी र मुख्य विपक्षी डेमोक्रेटिक पार्टीले अर्को वर्षको बजेट विधेयकलाई लिएर झगडा जारी राख्दै गर्दा राष्ट्रपति युनको यो आश्चर्यजनक कदम आएको हो । विपक्षी सांसदहरूले गत हप्ता संसदीय समितिमार्फत् उल्लेखनीय रूपमा घटाएको बजेट योजना अनुमोदन गरेका थिए ।

‘हाम्रो राष्ट्रियसभा अपराधीहरूका लागि आश्रयस्थल बनेको छ । न्यायिक र प्रशासनिक प्रणालीलाई पक्षाघात गर्न र हाम्रो उदार लोकतान्त्रिक व्यवस्थालाई उल्टाउन खोज्ने विधायकी तानाशाहीको अड्डा बनेको छ,’ युनले भने । उनले विपक्षी सांसदहरूमाथि देशलाई लागुऔषधको शरणस्थल र सार्वजनिक सुरक्षा अराजकताको अवस्थामा परिणत गर्न लागुऔषध अपराधहरू विरुद्ध लड्ने र सार्वजनिक सुरक्षा कायम राख्ने जस्ता राष्ट्रको मुख्य कार्यहरूका लागि आवश्यक सबै प्रमुख बजेटहरू कटौती गरेको आरोप लगाए ।

युनले ३०० सदस्यीय संसद्मा बहुमत विपक्षीलाई ‘शासन उखेल्न चाहने विरोधी राज्य शक्तिहरू’ भन्दै आफ्नो निर्णयलाई ‘अपरिहार्य’ बताए । ‘म सकेसम्म चाँडो राज्यविरोधी शक्तिहरूलाई हटाएर देशलाई सामान्य अवस्थामा फर्काउनेछु,’ उनले भने ।

प्रतिक्रिया