बारा । गण्डक नहरको संरचना पुरानो र जीर्ण भइसकेकाले जुनसुकै बेला भत्किन सक्ने सम्भावना रहेको छ ।
करिब ५० वर्षअघि निर्माण भएको गण्डक नहरमा रहेको पुल, पुलेसा, कल्भर्ड तथा संरचनाको आवश्यक मर्मतसम्भार हुन नसक्दा ती संरचना जीर्ण बन्दै गएको हो । पर्सादेखि रौतहटसम्म फैलिएको ८१ किलोमिटरको गण्डक नहरमा रहेका दर्जनौँ पुलबाट दिनहुँ सवारीसाधनहरू ओहोरदोहार गर्ने गर्छन् ।
अहिले पुलहरू जीर्ण अवस्थामा भएका कारण सवारीसाधनको दुर्घटनाको जोखिम बढ्दै गएको छ । आवश्यक मर्मतसम्भार तथा उचित रेखदेखको अभाव र ट्राफिक नियमविपरीत चल्ने सवारीसाधनका कारण गण्डक नहरको बारा, पर्सा र रौतहट जिल्लाका दर्जनौँ पुल क्षतिग्रस्त भएका छन् । पुलबाट आवतजावत गर्दासमेत पुल हल्लने गरेका कारण जुनसुकै बेला पुल ढलेर दुर्घटना हुने जोखिम रहेको यात्रु बताउँछन् ।
नहरको पुल भएर दैनिक हजारौँको संख्यामा गाडीहरू आवतजावत गर्दा दुर्घटनामा पर्ने डर रहेको बाराको प्रसौनी गाउँपालिकाका स्थानीय राजेन्द्र मुखियाले बताए । उनले साइकल लिएर आउँदा पनि ठुलो सवारीसाधन पुलबाट आवतजावत गर्दा वारपार गर्न मुस्किल भएको बताए ।
साँघुरो पुल, सबै सवारीसाधानहरू त्यहीँबाट आवतजावत गर्ने भएकोले विद्यालय जाने विद्यार्थीलाई समेत समस्या हुने गरेको छ । गण्डक नहरमा रहेको पुलको बीच भागमै प्वाल परेका छन् भने अधिकांश पुलहरूको रेलिङहरू भत्किएका छन् । नहरको पुलहरू एकतर्फी मात्रै गाडी सञ्चालन गर्ने बनाइएकोले उक्त पुलबाट एकपटकमा एउटा मात्रै गाडी आरपार गर्न सक्छन् । तर एकैपटक २–३ वटा गाडी वारपार गर्दा झनै दुर्घटनाको जोखिम बढेको छ । गण्डक नहरमा ठुला पुल २५ वटा छन् । तर पुलहरू धेरै पुराना भएकाले जीर्ण बन्दै गएको र दुर्घटनाको जोखिमसमेत बढेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका सूचना अधिकारी सुरेश साहले बताए । उनले भने, ‘पुल निर्माणका लागि सडक डिभिजन कार्यालयले अब चाँडै ठेक्का प्रक्रियामा जाने जानकारी दिएको छ ।’
मधेस प्रदेशको बारा, पर्सा एवं रौतहट जिल्लाको दक्षिणी भेगको ३७ हजार ४०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराई कृषि उत्पादकत्वमा अभिवृद्धि गर्न र त्यसबाट कृषकको जीवनस्तरमा परिवर्तन ल्याउने उद्देश्यले २०३० जेठ २१ गते तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले उद्घाटन गरेको सो गण्डक नहरमा साना ठूला गरी ३ हजार ५७४ वटा पुल, पुलेसा, कल्भर्ड रहेका छन् । नहरका संरचना हलुका सवारीका लागि बनाइए पनि ठूला सवारी साधनको आवतजावत भइरहने भएकाले दिनदिनै ती संरचना जीर्ण बन्दै गएकाले स्थानीयले सास्ती भोग्दै आएका छन् ।
बारा
प्रतिक्रिया