मन्त्रीसहितको टोलीद्वारा दार्चुला–तिंकर सडक निरीक्षण

दार्चुला । राष्ट्रिय गौरवका आयोजनाको प्रगतिमा प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएपछि रक्षामन्त्री मानवीर राई, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र प्रधानसेनापति अशोकराज सिग्देलसहितको टोलीले महाकाली करिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–तिंकर सडक निरीक्षण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीका अनुसार टोलीले व्यास गाउँपालिकाको छाङरुका स्थानीयसँग छलफल गरेको छ । त्रिदेशीय सडकका रूपमा रहेको सामरिक महत्व बोकेको दार्चुला–तिंकर सडक बजेट अभावमा लक्ष्यअनुसार अघि बढ्न सकेको छैन । २०७७ साल माघ २८ मा सुरु गरिएको यो सडकको तुसारपानी–तिंकरको ट्रयाक खोल्नुपर्ने ७९ किमीमध्ये हालसम्म सेनाले १३.५९ किमी मात्र ट्रयाक खुलाएको छ ।

आयोजनाका लागि चालु आर्थिक वर्षमा सरकारले ९ करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरेको छ । उक्त रकमले १.८ किमी नयाँ ट्रयाक खोल्ने र १.२ किमी सडक स्तरोन्नति गर्ने लक्ष्य सेनाको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिंकरसम्म ४२५ किमीमध्ये सडक विभागले बनाउन नसकेको अप्ठ्यारो खण्डको काम सेनालाई जिम्मा दिइएको हो । सडक नबन्दा सदरमुकामबाट छाङरु, तिंकर, कालापानीलगायत ठाउँ जान भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया