सोरुका ३ बस्तीमा घरघरमा धारा पुगेपछि स्थानीय खुसी

मुगु । सोरु गाउँपालिका– ७ का तिन बस्ती ख्याल्च, सिरुपाटा र गोयालपानी गाउँका १ सय ७५ घरमा एक घर एक धारा निमार्ण भएपछि स्थानीय खुसी भएका छन् । घरमै स्वच्छ पिउने पानी उपभोग गर्न पाउने र अब घण्टौँ हिँडेर पानी बोक्नुपर्ने ती दुखका दिनको अन्त्य भएको र पानीजन्य रोगबाट मुक्त भएको भन्दै स्थानीय खुसी भएका हुन् ।

विगतका दिनहरुमा खानेपानीको अभावमा खोला र कुवाको पानी खानुपर्ने बाध्यता थियो । खोलाको पानी उपभोग गर्दा पानीजन्य रोगबाट पीडित भएका थिए । अब घरघरमा खाानेपानीका धारा निमार्ण भएका छन् । खानेपानीको समस्या अन्तन्त्य हुनेमा आशावादी रहेको स्थानीय राजकला बुढाले बताइन् ।

सधैँ पानी लिन घरबाट आधा घण्टा हिँडेर पानीको जोहो गर्दै उमेर ढल्किएकी ख्याल्च गाउँकी चैती बुढा घरमै पानी आएपछि दंग छिन् । बुढाका अनुसार विगतका दिनमा घण्टौँ हिँडेर पानी बोक्नुपर्ने बाध्यता थियो । उनले अहिले घर घरमा धारा आएपछि पानी बोक्नु नपरेको बताइन् । पुस्तौँदेखि गाउँबाट टाढा रहेका खोलाको पानी खाँदै आएका स्थानीय अहिले सुरक्षित खानेपानीको धारा घर नजिक पाएपछि दंग छन् ।

घरघरमा धारा निर्माण भएपछि सबैभन्दा सहज गृहिणीहरूलाई भएको बुढाले बताइन् । सन् २०३० सम्म नेपाल सरकारले सबै नागरिकलाई स्वच्छ खानेपानीको पुहुँचमा ल्याउने संकल्प गरेको छ । सोही संकल्पलाई सार्थकता तुल्याउन मुगुको सोरु गाउँपालिकामा विभिन्न वडा बस्तीमा सहयोगी संघ संस्थासँगको समन्वयमा एक घर एक धारा निर्माण अभियान थालिएको छ ।

खानेपानीको समस्यासँग पौठेजोरी खेल्दै आएका नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्याउन सोरुगाउँपालिकामा घरघरमा खानेपानीका धारा निर्माण गर्ने अभियान थालिएको छ । सोरु गाउँपालिकाको समन्वयमा ब्याक टु लाईफको आर्थिक सहयोग, कर्णाली सामुदायिक विकास केन्द्र केसीडिसीको प्राविधिक सहयोगमा सोरु गाउँपालिकामा विभिन्न बस्तीमा खानेपानी, स्वास्थ्य, शिक्षालगायत विभिन्न क्षेत्रमा काम गर्ने बताइएको छ ।

अहिले वडा नम्बर ७ का गाउँबस्ती ख्याल्चमा ७५ धारा, सिरुपाटामा २२ धारा र गयलपानिमा ३८ धारा गरी १ सय ३५ घरमा धारा निर्माण भएका छन् । खानेपानीको सहज पहुँचसँगै सरसफाइको क्षेत्रमा पनि सुधार आउने आशा गरिएको कर्णाली सामुदायिक बिकास केन्द्र (केसिडिसी) मुगुका संस्थापक अध्यक्ष तथा सल्लाहकार हरिजंग शाहीले बताए ।

प्रत्येक घरमा खानेपानीको धारा निर्माण गरेपछि अब सबैले सुरक्षित खानेपानी उपभोग गर्न पाउनेछन् । प्रत्येक घरलाई सुरक्षित खानेपानीको धारा निर्माण भएपछि सुरक्षित खानेपानी युक्त समुदाय निर्माण घोषणको लक्ष्य लिइएको सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले बताए ।

उनका अनुसार सन २०३० सम्म नेपाल सरकारले सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा ल्याउने संकल्प गरिएको छ । सोही संकल्पलाई सार्थकता तुल्याउन सोरु गाउँपालिकाले विभिन्न संघ संस्थासँग समन्वय गरी एक घर एक धारा निर्माण अभियान थालेको शाहीले बताए ।

सोरु गाउँपालिकाको समन्वयमा ब्याक टु लाईफ ईभि जर्मनीको सहयोगमा र कर्णाली सामुदायिक विकास केन्द्र (केसीडिसी) मुगुको प्राविधिक सहयोगमा सोरु गाउँपालिका– ७ का ३ बस्ती सिरुपाटामा ३२ लाख ८७ हजार ७ सय ६७, ख्याल्चामा २६ लाख ४५ हजार ५ सय ८९ र गयलपानीमा ४८ लाख ८६ हजार ९ सय ३४ र गरी १ करोड ८ लाख २० हजार २ सय ९० रुपैयाँ लागतमा १ सय ३५ घरमा खानेपानीका धारा निमाण भएपछि सरसफाइको क्षेत्रमा पनि सुधार आउने आशा गरिएको छ ।

प्रतिक्रिया