काठमाडौं । चलचित्र ‘बलिदान’को छायांकन अन्तिम चरणमा पुगेको छ । सन्तोष सेनको निर्देशन रहेको चलचित्र ‘बलिदान’ शुक्रबारदेखि मोरङको कानेपोखरीमा निर्माण गरिएको भव्य सेटमा बाँकी छायांकन सुरु गरिएको हो ।
चाडपर्वका कारण रोकिएको सुटिङ अहिले तीव्र गतिमा अघि बढिरहेको र गत भदौमा छायांकन सुरु भएको यस चलचित्रको अन्तिम तालिका करिब ४५ दिनको रहेको निर्देशक सेनले जानकारी दिए ।
उक्त चलचित्र छायांकनका लागि कलाकारहरू समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, दिव्यदेव र ऋचा शर्मालगायतका प्रमुख कलाकार मोरङ पुगेका छन् । चलचित्रको रिलिज मितिबारे निर्देशक सेनले छायांकन पूरा भएको भोलीपल्ट टिजरसहित घोषणा गर्ने बताए ।
एक्सन प्रधान रहेको चलचित्र ‘बलिदान’ मा दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्य तयार गरिरहेको छ । सामले ‘हाथी मेरे साथी’ र चियान विक्रम अभिनीत ‘थङ्गलम’ जस्ता चर्चित चलचित्रहरूमा काम गरिसकेका छन् ।
बलिदानको अन्तिम छायांकन तालिकामा छायाकार महेश पौडेलले जिम्मेवारी सम्हाल्ने भएका छन् । यसअघि सञ्जय लामाले छायांकन गरेका थिए, तर उनी अर्को चलचित्रको छायांकनमा व्यस्त हुने भएपछि पौडेलले यो जिम्मेवारी लिएका हुन् ।
प्रतिक्रिया