मोरङ । मैथिली साहित्य, भाषा, संस्कृतिलाई अन्य भाषाभाषीहरूमा पहुँच पु¥याउन विराटनगरमा ‘मान अन्तर्राष्ट्रिय अवार्ड–२०२४’ हुने भएको छ । मैथिली एसोसिएसन नेपाल विराटनगरले आगामी मंसिर १५ गते विराटनगरमा आयोजना गर्ने अवार्ड वितरण कार्यक्रममा नेपाल तथा भारतका ख्यातिप्राप्त नेपाली, किराँती, थारु, मैथली, भोजपुरी भाषाका साहित्यकार, चलचित्रकर्मी, नाटक कलाकार, चित्रकलाकार, गायक गायिका, भाषाविद्, सूचना प्रविधि उद्यमी, सामाजिक अभियन्तालगायत गरी २०० भन्दा बढीको सहभागिता रहनेछ ।
कार्यक्रममा अलग–अलग विधामा उत्कृष्ट व्यक्तिहरूलाई मान अवार्ड र ट्रफि र दोसल्ला ओढाइ सम्मान गर्ने कार्यक्रम रहेको एसोसिएसनका अध्यक्ष प्रवीणनारायण चौधरीले जानकारी दिए । अवार्ड कार्यक्रमले यस क्षेत्रको प्रचारप्रसार हुने भएकाले धार्मिक, प्राकृतिक र हिमाली क्षेत्रको पर्यटकीय क्षेत्रमा भारतीय नागरिकको आवागमनमा वृद्धि हुने विश्वास गरिएको छ । कार्यक्रममा उत्कृष्टका आधारमा वरिष्ठदेखि कनिष्ठ साहित्यकारलाई सम्मान गरिनेछ ।
कोसी प्रदेशमा पहिलो पटक मैथली साहित्यको विकासका लागि यस प्रकारको कार्यक्रम हुन लागेको अध्यक्ष चौधरीले जानकारी दिए ।
समारोहमा भारतका प्रख्यात चलचित्र फिल्म निर्देशक पुर्णेन्दु झा, नेपाली चलचित्रकर्मी इन्द्र परियार र अरुण झा, दीपाश्री निरौला, मेनुका माझी, सुमित खड्का र राससका कार्यकारी अध्यक्ष एवं मैथिली साहित्यकार धर्मेन्द्र झा, भारतीय गायिका स्नेहा झा, शिक्षाविद् कमरुदिन नवाफ, डा. आरके चौधरी, प्रा.डा. केशकर ठाकुर, रवीन्द्रनारायण मिश्र, डा. राजेश झा, श्यामल सुमन आचार्य, धर्मेन्द्रनाथ मिश्रलगायत स्रष्टाहरू सहभागी हुने बताइएको छ ।
प्रतिक्रिया