काठमाडौँ । मिसेस हेरिटेज इन्टरेनसनल नेपाल विभा बस्नेतले मिस नेपालको तुलनामा मिसेसका प्रतियोगितालाई नजरअन्दाज गर्ने गरिएको गुनासो गरेकी छिन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा मिसको तुलनामा मिसेसले राम्रो सफलता हात पारे पनि हेर्ने दृष्टिकोण भने राम्रो हुन नसकेको उनको भनाइ थियो ।
बस्नेतले केही दिनअघि मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता ‘हेरिटेज प्याजेन्ट’मा नेपाललाई मिसेसतर्फको शीर्ष उपाधि ‘मिसेस हेरिटेज इन्टरेनसनल’ दिलाएकी थिइन् । राजधानीमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले ‘हेरिटेज प्याजेन्ट’को अनुभव बाँडिन् । ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीको अनुभव मेरो स्वदेशको भन्दा बेग्लै रह्यो । त्यहाँ धेरै देशका कल्चरदेखि धेरै कुरोको जानकारी मिल्यो,’ बस्नेतले भनिन् ‘नेपालको कल्चर, हेरिटेज र नेपाली महिलाको लचकताबारे समेत सबैमाझ राखेँ ।’ विजेता बनेका खुसी व्यक्त गर्दै उनले विजेता नभएको भए पनि सहभागी हुन पाएकामा भाग्यमानी ठान्ने सुनाइन् । ‘नेपाली महिलाले पनि केही गर्न सक्छन् भनेर प्रमाणित गर्न सफल भएँ । यो देशका लागि उपलब्धि हो,’ उनले थपिन् ।
कार्यक्रममा अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्यले नेपालले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा उपलब्धि हासिल गर्न अझै धेरै मिहिनेत गर्नुपर्ने बताए । नेपालीहरूको समय ख्याल नगर्ने बानी अन्तर्राष्ट्रिय प्रतियोगितामा पछि पर्नुको मुख्य कारण हुने गरेको उनको भनाइ थियो । ‘हामी नेपाली समयअनुसार चल्दैनौँ । मैले विश्वका विभिन्न कार्यक्रममा जाँदा अन्य प्रतियोगी समयअनुसार चलेको पाएको छु,’ शाक्यले थपे, ‘समयलगायत धेरै कुरामा अझै नेपालीले मिहिनेत गर्नुपर्छ ।’ विश्वका अन्य मुलुकभन्दा नेपाल कला संस्कृतिमा धनी भएकाले प्रतियोगितामा प्रस्तुत गर्ने विषय प्रशस्त रहेको उनले सुनाए ।
बस्नेतलाई ‘हेरिटेज प्याजेन्ट’मा ग्रिनआर्ट मिडियाले पठाएको हो । मिडियाकी अध्यक्ष अनिला श्रेष्ठले धेरै मिहिनेतपछि यो वर्ष नेपाललाई उपलब्धि हात परेको बताइन् । मिडियाको प्रतियोगी छान्ने प्रक्रिया अन्यभन्दा भिन्न र उत्कृष्ट भएकाले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उपलब्धि हासिल गर्न सफल भएको उनको भनाइ थियो ।
‘हामी अडिसनदेखि फाइनलसम्म विभिन्न चरणको सेलेक्सन गर्छाैं,’ श्रेष्ठले भनिन् ‘छानिएका प्रतियोगीलाई अनेक प्रशिक्षणबाट निर्खाछौँ । त्यसैले पनि यो उपलब्धि हात परेको हो ।’ उनले आगामी दिन अझ धेरै अन्तर्राष्ट्रिय उपाधि नेपाल भित्र्याउने लक्ष्य मिडियाको रहेको सुनाइन् ।
प्रतिक्रिया