जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका र निजी विद्यालय संगठन बीचको आन्तरिक लडाइँको मारमा जनकपुरधामका विद्यार्थी परेका छन् । कक्षा ११ र १२ मा उपमहानगरपालिकाबाट छात्रवृत्ति प्राप्त गरी निजी विद्यालयहरूमा अध्ययन गर्न गएका विद्यार्थीको शुल्कको विषयमा भएको विवादका कारण निजी विद्यालय/कलेजमा अध्ययनरत करिब ५० हजार विद्यार्थी प्रभावित भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१/०८२ का लागि छात्रवृत्तिमा जनकपुरधाममा सञ्चालित विद्यालयहरूमा विद्यार्थी पठाएका थिए । उक्त विद्यार्थीसँग स्कुल कलेजहरूले नामांकन शुल्क, मासिक शुल्क र आन्तरिक परीक्षा शुल्क नलिए पनि ल्याब लगायतको अन्य शुल्कको नाममा बढी रकम लिएको भन्दै नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले आन्दोलन गरेपछि नगरपालिकाले छात्रवृत्तिमा पठाइएको विद्यार्थीसँग रजिस्ट्रेसन र परीक्षा शुल्कबाहेक अन्य शुल्क लिन नपाउने भन्दै जनकपुरधाम उपमहानगरले निजी विद्यालयहरूलाई पत्राचार गरेपछि २ पक्षबीच विवाद उत्पन्न भएको हो ।
निजी विद्यालयहरूको संगठन हिसान, प्याब्सन र एनप्याब्सनले शैक्षिक सत्रको सुरुमा आफूहरूसँग भएको सम्झौता (नामांकन, मासिक शुल्क र आन्तरिक परीक्षा शुल्क बाहेकको शुल्क लिन पाउने) अनुरूप नै शुल्क लिएको भन्दै अन्य निर्णय मान्न बाध्य नहुने बताउँदै आएको छ ।
३ वटै संगठनले कात्तिक २५ गते संयुक्त विज्ञप्ति जारी गर्दै चालु शैक्षिक सत्रको लागि उपमहानगरले पछिल्लोपटक गरेको पत्राचार फिर्ता लिन र अगामी शैक्षिक सत्रदेखि अन्य पालिकाले गर्ने निर्णयलाई आधार मान्दै निर्णय गर्न सकिने बताए । सँगै पछिल्लो निर्णय फिर्ता नलिए आफूहरू विद्यालय नै बन्द गर्ने चेतावनी दिएका थिए । निजी विद्यालयको संगठनले आफूहरूको मागलाई जनकपुरधाम उपमहानगरपालिकाले बेवास्ता गरेको भन्दै ३ मंसिरदेखि जनकपुरका सम्पूर्ण विद्यालय कलेजहरू बन्द गरी आन्दोलित भएका छन् ।
निजी विद्यालय संगठनको बन्दले जनकपुरधामका करिब ५० हजार विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् । निजी विद्यालयहरूकै तथ्यांकअनुसार एनप्याब्सन आबद्ध जनकपुरधाम उपमहानगरका ५६ विद्यालयमा २० हजार, प्याब्सनसँग आवद्ध ५१ विद्यालयमा १५ हजार, मधेस प्याब्सनसँग आवद्ध १४ विद्यालयमा ७ हजार र हिसानसँग आवद्ध १७ विद्यालयमा १२ हजार विद्यार्थी अध्ययनरत छन् । जारी आन्दोलनप्रति मधेस प्याब्सनले पूर्ण समर्थन जनाएको छैन ।
निजी विद्यालय संगठन कात्तिक २५ गते नै आन्दोलनको घोषणा गरे पनि आन्दोलनको बेवास्ता गर्दै जनकपुरधाम उपमहानगरपालिकाका विद्यालय बन्द गरिएकाले सोमबार मात्र वार्ताको लागि आह्वान गरेको छ ।
पठनपाठनबाट वञ्चित विद्यार्थीका बारेमा जानकारी लिन जनकपुरधाम उपमहानगरको शिक्षा शाखाका प्रमुख अन्जु पाण्डेसँग जानकारी लिँदा उनले संगठनहरूलाई वार्ताका लागि आउन पत्र काटिसकेको भए पनि उनीहरू नै वार्तामा आउन नचाहेपछि विद्यालयको समस्या सुल्झिन नसकेको बताइन् ।
जनकपुरधाम उपमहानगरको करिब ५० हजार विद्यार्थी पठनपाठनबाट वञ्चित रहँदासमेत उपमहानगरले वास्ता नगरेर जिम्मेवारीबाट पन्छने काम गरेको छ । नगर भित्रको यो समस्या छोडेर नगरप्रमुख मनोज साह अयोध्या भ्रमणमा गएका छन्, भने शाखा प्रमुख बाहिरैबाट शाखा सञ्चालन गरिरहेकी छन् ।
यता निजी विद्यालयको बन्दविरुद्ध नेविसंघले सोमबारदेखि निरन्तर विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरूले निजी विद्यालयले शिक्षा क्षेत्रमा आफूखुसी शुल्क लिएर विद्यार्थीलाई दुःख दिएकाले त्यसको विरोध गर्दा विद्यालय बन्द गरेको दाबी गरेका छन् । यसबारेमा हिसान जनकपुरका अध्यक्ष सञ्जीव ठाकुरले भने दिनहँु फेरिने निर्णयले आफूहरूलाई विद्यालय सञ्चालन गर्न कठिनाई भएको हुँदा आफूहरूसँग बन्दको विकल्प नरहेको प्रतिक्रिया दिएका छन् ।
कक्षा ११ र १२ को शुल्क विवादमा विद्यालय नै बन्द गर्नु अनुचित र गैरजिम्मेवारीपना भएको भन्दै नागरिक अगुवाले आरोप लगाएका छन् । उनीहरूले नगरपालिका र निजी विद्यालयको जुँगाको लडाइँका कारण बालबालिकाको शिक्षा प्रभावित हुनु अन्याय भएको बताएका छन् ।
निजी विद्यालयले विद्यालय बन्द गरी ५० हजार विद्यार्थीको पढ्ने अधिकारबाट वञ्चित गरे पनि सरोकारवाला निकायहरू मौन रहनु जनकपुरधामको लागि दुर्भाग्य मान्नु पर्दछ ।
प्रतिक्रिया