विपद् प्रभावित महिलाका लागि प्रजनन् स्वास्थ्य शिविर, १३१ महिलाले लिए सेवा

काभ्रे । असोजमा आएको अविरल वर्षाले गाउँमा देखापरेको पहिरो र त्यसपछि आएको विपद्ले बल्थलीका महिलाहरूको स्वास्थ्यमा पारेको गहिरो प्रभावलाई मध्यनजर गर्दै पनौती नगरपालिका–११ स्थित बल्थली स्वास्थ्य चौकीमा बृहत् प्रजनन् स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

यो शिविर पनौती नगरपालिका र परिवार नियोजन संघ काभ्रेको संयुक्त पहलमा भएको थियो । विपद्ले निम्त्याएको चुनौतीसँगै महिलाहरूको प्रजनन् स्वास्थ्यमा परेको असरलाई सम्बोधन गर्न मंसिर ५ गते सो कार्यक्रम सञ्चालन गरिएको थियो ।

असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाले बल्थली क्षेत्र पहिरोको चपेटामा परेको थियो । त्यसले यहाँको जनजीवनमा ठूलो प्रभाव पारेको मात्र होइन, महिलाहरूको स्वास्थ्य अवस्था थप जटिल बनाएको थियो । यसले गर्दा लामो समयसम्म महिलाहरूले आधारभूत स्वास्थ्य सेवा लिन नसकेको अवस्थालाई मध्यनजर गर्दै यो शिविर सञ्चालन गरिएको स्वास्थ्यचौकी प्रमुख दिनमान गुर्मछानले बताए । उनले बल्थली स्वास्थ्यचौकीमा आयोजित यो शिविरले स्थानीय महिलाहरूका लागि बहुआयामिक स्वास्थ्य सेवा उपलब्ध गराएको र त्यसमा १३१ महिलाले प्रत्यक्ष सेवा प्राप्त गरेको बताए ।

९९ जनाको ख्क्ष्ब् परीक्षण गरियो, जसले गर्भाशयको स्वास्थ्य अवस्थाबारे जानकारी दिन सहयोग गर्यो । उनका अनुसार ५५ जनाको प्रयोगशाला परीक्षण र २५ जनाको अल्ट्रासाउन्ड परीक्षण गरिएको थियो ।

उक्त शिविरले लामो समयदेखि स्वास्थ्य सेवाबाट वञ्चित स्थानीय महिलालाई ठूलो राहत दिएको स्थानीयले बताएका छन् । शिविरमा सहभागी अधिकांश महिलाले आवश्यक परामर्श, परीक्षण, र उपचार सेवा पाएपछि आफूहरूलाई निकै लाभ भएको प्रतिक्रिया दिएका छन् ।

शिविरले विपद् प्रभावित क्षेत्रका महिलाहरूलाई मात्र राहत दिएको छैन, पनौती नगरपालिकाको स्वास्थ्य सुधार प्रयासप्रति विश्वास पनि बढाएको छ । यसप्रकारका कार्यक्रमहरूले ग्रामीण क्षेत्रका महिलाहरूको स्वास्थ्य अवस्था सुधार गर्न मद्दत पुग्ने स्थानीयवासीले बताएका छन् ।

बल्थलीमा यसरी विपद् र स्वास्थ्य समस्या समाधान गर्ने यो प्रयासले भविष्यमा अन्य गाउँमा पनि यस्तै प्रभावकारी कार्यक्रमहरूको आवश्यकतालाई उजागर गरेको छ ।

प्रतिक्रिया