वरिष्ठ जनगायक खुसीराम पाख्रिनको सातौँ स्मृति दिवस सम्पन्न

काठमाडौं । वरिष्ठ जनगायक खुसीराम पाख्रिनको सातौँ स्मृति दिवस जनसांस्कृतिक महासंघ नेपालले भव्यतापूर्वक मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख अग्नीप्रसाद सापकोटाले खुसीरामको तस्विरमा अबिरसहित माल्यार्पण गरे ।

प्रमुख अतिथि सापकोटाले पाख्रिन एक दार्शनिक भएको बताए । उनले भने, ‘पाख्रिनको गीत लेखन, कविता लेखन, संस्मरण लेखन, ओपेरा लेखन तथा निर्देशनमा व्यक्त विचार र भावना नेपाली क्रान्तिका लागि मार्ग निर्देशन थिए, गाउँघरमा विवाह हुँदा कसार बनाउने नेपाली चलन छ, कसारको गुदी र बोक्रा भन्ने हुँदैन ।’ उनले समग्र गुदी नै कसार हो पाख्रिनका रचना र सिर्जना त्यही गुदी हुन् भन्ने कुरामा जोड दिए ।

कार्यक्रमका विशेष अतिथि पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले वरिष्ठ जनगायक खुसीराम पाख्रिनका गीतमा नृत्य गर्दा आफूहरूलाई तत्कालीन शाहीसेनाको फौजले पक्राउ गरेको स्मरण गर्दै तत्कालीन सत्तालाई हल्लाउन सक्ने तागत पाख्रिनका गीतमा रहेको चर्चा गरे ।

शर्माले पाख्रिनले पुर्याएको योगदानलाई थप उजागार गर्न जोड दिए ।सांगीतिक क्षेत्रलाई उत्पादनसँग जोडेर निर्माण, समृद्धि र समाजवादमा पुग्नलाई सांस्कृतिककर्मीको विशेष योगदान रहने उनले बताए । अतिथि जनसांस्कृतिक महासंघका इन्चार्ज, पूर्वअध्यक्ष तथा नेकपा माओवादीका केन्द्रीय सदस्य ईश्वरचन्द्र ज्ञवालीले खुसीराम पाख्रिन सांस्कृतिक क्षेत्रका एक धरोहर भएको स्मरण गर्दै उनले नेपालको प्रगतिवादी सांस्कृतिक आन्दोलन संगीत र कलाको क्षेत्रबाट विशिष्ट योगदान पुर्याएको बताए ।

उनले भने, ‘पाख्रिनका रचनाहरू सर्वहारा गरिब वर्गका पिँधमा पुगेर अनुभूति गरिएका परिवर्तनगामी चेतनाले भरिएका छन्, विचार, व्यवहार, चेतना र कर्मक‍ो सन्तुलन पाख्रिनमा पाइन्छ, उहाँ सर्वहारा वर्गका सच्चा हितैषी हुनुहुन्थ्यो, पाख्रिनलाई सम्झिनुको अर्थ विचार र व्यवहारमा सन्तुलन ल्याउँदै समाजवादी क्रान्तिको बाटोमा अघि बढ्नु हो ।’

कार्यक्रमका अतिथि नेकपाका पोलिटब्युरो सदस्य तथा जनकलाकार माइला लामाले खुसीराम पाख्रिन पञ्चायतकालदेखि गणतन्त्रसम्म निरन्तर क्रान्ति र समाजवादी संस्कृतिको सुन्दर बाटोमा हिँडेका सच्चा सांस्कृतिक योद्धा भएको बताए । पाख्रिनको गीत लेखन र सांगीतिक क्षेत्र जस्तो सरल भएको स्मरण गर्दै लामाले उनको जीवन पनि त्यस्तै सरल भएको र जनयुद्धकालीन सहयात्राका बारेमा चर्चा गरे ।

कार्यक्रमका अतिथि जनगायक तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव कुष्मा महरा ‘प्रगति’ ले खुसीराम पाख्रिन सांगीतिक अभिभावक र क्रान्तिकारी व्यक्तित्वको भूमिकाबाट कहिल्यै विचलित नभएको बताइन् । सांस्कृतिक क्षेत्रका आदर्श, निष्ठा र प्रेरणाप्रदत्त व्यक्तित्व पाख्रिनबाट धेरै कुरा अनुशरण गर्नुपर्ने महराले बताइन् ।

अतिथि जनगायक तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य कर्ण गौतम ‘विद्रोही’ ले खुसीराम पाख्रिनसँग बिताएका पलहरूको स्मरण गर्दै पाख्रिन क्रान्तिकारी सांस्कृतिक चेतना भएका अनुकरणीय व्यक्तित्व रहेको चर्चा गरे ।

जुन समर्पण, त्याग र निष्ठा सबैका लागि मार्गदर्शन भएकाले समाजवादी सांस्कृतिक चिन्तन खुसीराम पाख्रिनबाट सिक्न सकिने उनले बताए । सभाध्यक्ष तथा जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष भीम कुमाखीले वरिष्ठ जनगायक खुसीराम पाख्रिनले पुर्याएको जनसांस्कृतिक योगदानबाट सिकेर अघि बढ्नुपर्ने बताउँदै समाजवादी सांस्कृतिक रूपान्तरणमा लागिपर्नुपर्ने बताए ।

उद्घोषक तथा जनसांस्कृतिक महासंघ नेपालका महासचिव केशव सिलवालले कार्यक्रम सञ्चालनका क्रममा वरिष्ठ जनगायक खुसीराम पाख्रिनको विशिष्ट राजनीतिक र सांगीतिक योगदानबारे चर्चा गरे । कार्यक्रममा वरिष्ठ जनगायक खुसीराम पाख्रिन रचित लाल झुपडीका मान्छेहरू ‘र’ जित्नै पर्छ यो अन्तिम लडाइँ तिमीले लडेर’ जस्ता बोलका जनगीतहरू प्रस्तुत गरिएको थियो ।

पाख्रिनको जीवनको अन्तिम गीत ‘युवाहरू हो यो देश तिम्रै हो’ र कर्ण विद्रोहीद्वारा रचित खुसीरामको सम्झनामा आज जुटिरहेछौँ’ जस्ता बोलका जनगीत पनि प्रस्तुत गरिएको थियो । उक्त गीत कुष्मा महरा प्रगति, कर्ण गौतम विद्रोही, केसरी घर्तीमगर एलिना, डम्बर रोकाया, दीपक राई र अमर रोका मगरले प्रस्तुत गरेका थिए ।यसैगरी कार्यक्रममा लक्ष्मी रुम्बा, सोनाम सज्जनले कविता र आरोह सिले ‘समरका यात्रीहरू’ गीत प्रस्तुत गरे ।

२०७४ सालमा कीर्तिशेष भएका वरिष्ठ जनगायक खुसीराम पाख्रिनको जन्म २००९ सालमा गोरखामा भएको थियो । उनी नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार थिए भने जनयुद्धकालमा भारतको प्रवासमा रही अखिल भारत नेपाली एकता समाजलाई क्रियाशील बनाउँदै संगठन निर्माणमा उल्लेखनीय योगदान पुर्याएका थिए । पाख्रिन जनसांस्कृतिक महासंघ नेपाललगायतका सांस्कृतिक संघ संस्थामा समेत आबद्ध रहेका थिए ।

प्रतिक्रिया